१२ श्रावण २०८१, शनिबार

युवाहरुको निष्कर्षःउल्लेख्य कार्य भएन
  • न्युज मानसराेवर

नेपालगञ्ज । नेपालगञ्जमा युवाको सवालमा उपमहागनरपालिकाले गरेको कार्यका बारेमा युवाहरुले माग गर्ने भएका छन् । संघीय संरचनापछि नेपालगञ्जमा युवाहरुका सवालमा उपमहानगरपालिकाले गरेको कार्यका बारेमा यहाँका युवाहरुले ध्यानाकर्षण गरेका हुन ।

बुधबार यहाँ युवाका सवालमा सक्रिय युवाहरुबीच भएको छलफल बैठकले उपमहानगरपालिले युवालाई संगठित वा युवाहरुको बिकासका सवालमा हालसम्म कार्य नगरेको देखिएको पाइएको हुँदा जनप्रतिनिधि आएपश्चात भएका कार्यहरुको विवरणबारे जानकारी लिने निर्णय गरेका छन् । छलफलले नेपालगञ्जमा युवा संजाल गठन तथा संचालन निर्देशिकाको अवस्थाबारे जानकारी लिने, मेयर र उपमेयर, युवा तथा खेलकुद शाखालाई ज्ञापन पत्र बुझाउने र कोभिड १९ को तेस्रो लहरको जोखिम बढ्रदै गएकाले समुदायस्तरमा जनचेतना जगाउने कार्यका लागि संघ संस्थाहरुसंग समन्वय सहकार्य गर्ने कुरामा जोड दिएको छ ।

यस अन्तर्गत नेपालगञ्जमा युवा संजाल गठन तथा संचालन निर्देशिकाका सम्बन्धमा भएको पहल तथा हालको अवस्थाबारे जानकारी माग गर्ने र नेपालगञ्जका २३ वटैै वडामध्ये युवा क्लब गठन भएका वडामा पुर्नगठन गर्ने तथा नभएका वडाहरुमा युवा क्लब गठन गर्ने निर्णय समेत गरेका छन् । त्यसका लागि सात सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

जिल्ला युवा क्लब संजाल बाँकेका सचिव राजन बर्माको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा साहिल अन्सारी, अन्जना चर्तुवेदी, ऋतिक शाही, शोभा थापा, राजेन्द्र बिष्ट र पुजा बर्मा रहनुभएको छ ।यही कार्यदलको नेतृत्वमा मेयर, उपमेयर लगायतलाई ज्ञापन पत्र समेत बुझाउने निर्णय गरिएको छ । ज्ञापन पत्र बुझाउनुअघि एक चरणमा उपमहानगरपालिका जनप्रतिनिधि र कर्मचारीसंग छलफल गरिनेछ । त्यस्तै कोभिड १९ नियन्त्रणका लागि नेपालगञ्जमा युवाका सवालमा काम गर्ने संघ संस्थाहरुको समन्वय सहकार्यमा मास्क अभियान, कोभिड १९ बिरुद्धको खोपबारे जनचेतना फैलाउने कार्यक्रम गर्ने निर्णय भएको युवा क्लब संजाल बाँकेका अध्यक्ष आशिष बर्माले जानकारी दिए ।

संघीय संरचना अनुसार पहिलो कार्यकाल सकिनै लाग्दासम्म नेपालगञ्जमा युवाहरुका सवालमा जनप्रतिनिधिहरुले देखिने गरी कार्य नगरेको देखिएको अध्यक्ष बर्माको रहेको छ ।

हामीले जनप्रतिनिधि आएपछि युवाहरुको सवालमा थुप्रै कार्यहरु हुने भन्ने आशा गरेका थियौं, अध्यक्ष बर्माले भन्नुभयो, तर हालसम्म पनि देखिने गरी कुनै कार्य उपमहानगरपालिकाबाट हुन सकेको छैन ।

एउटा युवा सम्बन्धि निर्देशिका हो त्यो पनि अडकिएको छ । हाम्रा जनप्रतिनिनिध युवालाई वेवस्ता गरेको देखिन्छ । छलफलमा युवा क्लब, युवाका क्षेत्रमा काम गर्दै आएका संघ सस्था, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच छलफलकै क्रममा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले नेपालगञ्जमा बालबालिका र युवाको मुद्धालाई पैरवी र वकालत गर्नका साथै समन्वय सहकार्य गर्नका लागि पावर फोर एआई परियोजना अन्तर्गत संजालसंग सम्झौता समेत गरेको छ ।

सेफ द चिल्ड्रेनको सहयोगमा संचालन भएको परियोजनाको सम्झौतामा सेफ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, संजालका अध्यक्ष बर्मा, सचिव राजन बर्मा र एस डि एफ बाँकेका परियोजना संयोजक राम श्रेष्ठले हस्ताक्षर गर्नुभएको एस डि एफका सिनियर फिल्ड अधिकृत बृजेश ठाकुरले जानकारी दिएका छन।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech