बाँके\ चालु आर्थिक वर्षको पहिलो ६ महिनमा (साउनदेखि पुससम्म) मात्रै नेपालमा साढे २५ अर्ब रूपैयाँभन्दा बढीको मोबाइल फाेन भित्रिएको छ । हरेक महिना करीब साढे ४ अर्ब मूल्य बराबरको मोबाइल आयात हुँदा पनि नेपाली बजारमा मोवाइलको माग धान्न धौधौ पर्नेगरेको व्यवसायीहरू बताउँछन् ।
भन्सार विभागको तथ्यांकअनुसार, गएको ६ महिनामा मात्रै २५ अर्ब ६२ करोड ९२ लाख ५३ हजार रुपैयाँको मोबाइल आयात भएको छ ।
त्यसलाई मासिक रूपमा हिसाब गर्ने हो भने औसमतमा हरेक महिना ४ अर्ब २७ करोड रूपैयाँको मोबाइल फोन नेपालले आयात गर्दै आएको छ ।
यस वर्षको ६ महिनामा ३५ लाख थान मोवाइल नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । यो गत वर्षको सोही अवधिको भन्दा एक लाख १९६ थान कम हो । तर, मूल्यको हिसाबमा भने अघिल्लो वर्षको तुलनामा यस वर्ष मोबाइल फोनको आयात बढेको छ ।
यस वर्षको ६ महिनामा गत वर्षभन्दा ४ अर्ब ९९ करोड ८९ लाख ३१ हजार रूपैयाँ बढीको मोवाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्षको पहिलो ६ महिनामा २० अर्ब ६३ करोड ३ लाख रुपैयाँको मोवाइल फोन आयात भएको थियो ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामै २४.२३ प्रतिशतले मोवाइल फोनको आयात बढेको हो ।
हरेक महिना आयात भएका मोबाइल फोन त्यही महिनामा बिक्री भइसक्ने व्यवसायीहरू बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) कम भएका कारण आउनुपर्ने जति मोबाइल फोन आउन नसकेको मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्रा बताउँछन् ।
‘मोबाइल फोन जति आए पनि बिक्री भइहाल्छ । स्टकमा रहँदैन । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको असर मोबाइलको ब्यापारमा पनि परेको छ’, मल्होत्राले भने, ‘ग्राहक खर्च गरिहाल्न तयार नभएको कारण दुई महिनादेखि मोबाइलको व्यापार पनि स्लो–डाउन छ ।’
दैनिक उपभोग्य बस्तुहरूमा नेपालको परनिर्भरता बढ्दै गइरहेको चिन्ता व्यक्त भइरहेको अवस्थामा विलाशिताको साधन मानिने मोबाइल फोनको आयात पछिल्लो समयमा आश्चर्यजनक रूपमा बढ्दै गएको छ । सस्ता मोबाइलको तुलनामा महंगो मूल्य पर्ने मोबाइल फोन आयातको संख्या पनि दिनप्रतिदिन बढिरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । फिचर वा बार फोन भन्दा स्मार्ट फोनमा ग्राहकको ध्यान केन्द्रित भएको हुँदा महंगा मोबाइलको बिक्री पनि बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।