१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य : अत्यासमा उपभोक्ता, उत्साहित व्यवसायी
  • न्युज मानसराेवर

काठमाडौँ\नेपाली बजारमा सुनको मूल्यमा केही दिनयता उतारचढाव भइरहेको छ। सुनको मूल्य तलमाथि भइरहँदा उपभोक्ताले खरिद गर्न छाडेका छैनन्। अत्यासलाग्दो गरी मूल्य बढे पनि खरिद गर्नैैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। व्यवसायी भने थप आकर्षित हुन थालेका छन्। कारण के होला त?

‘कोरोनाले व्यवसायका अन्य क्षेत्र प्रभावित भइरहेको अवस्थामा लगानीकर्ता सुनमा आकर्षित हुँदा यस्तो अवस्था आएको हो’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले भने। महामारी र विश्व राजनीतिमा हुने विशेष घटनाका कारण अन्य व्यवसाय जोखिममा परे पनि सुन व्यवसाय पनि कम जोखिममा हुने उनी बताउँछन्।

उपभोक्तालाई भने सजिलो छैन। धनगढी–५ तारानगरकी वसन्ती जोशी भन्छिन्, ‘बहिनीको बिहेमा सुनको औंठी दिने चाहना छ। तर बढिरहेको सुनको मूल्यले अत्याएको छ।’ उनको बहिनीको बिहे यही माघ १५ हुँदैछ।

बिहीबार नेपालमा बजारमा छापावाल सुन प्रतितोला ९३ हजार पाँच सयमा कारोबार भइरहेको छ। बुधबार ९४ हजार चार सय रहेको सुनको मूल्य बिहीबार ९ सयले घटेको हो। महासंघका अनुसार तेजाबी सुनको मूल्य ९३ हजार छ। बुधबार तेजाबी सुनको मूल्य ९३ हजार नौ सय थियो।

कोरोना महामारीअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७० हजार हाराहारीमा थियो। दुई वर्ष अवधिमा सुनको मूल्य ३० प्रतिशतभन्दा धेरै बढ्यो। यसो हुनुमा विश्व बजारका ठूला लगानीकर्ता सुनमा आकर्षित हुनु रहेको जानकार बताउँछन्।

सामान्य मानिसले त सुन किन्नै नसकिने भइयो। गहना लगाउन रहर त लाग्छ नि! तर, के गर्नु? सबैभन्दा ठूलो गाँस हो’, जोशीले भनिन्, ‘बाँचियो भने सुन त लगाउँदै गरौंला। ऋण गरेर भए पनि बहिनीलाई उपहार दिन मन छ।’ एकैपटक सुनको मूल्य नअकासिएको भए आफूहरूलाई थोरै भए पनि सहज हुने उनी बताउँछिन्।

पछिल्ला वर्षमा विश्व बजारमा सुनको मूल्यमा उतारचढाव आउनु कोरोना महामारी भएको व्यवसायीको दाबी छ। कोरोना महामारीको संक्रमणसँगै अकासिएको सुन बजार अझै सहज हुन सकेको छैन।

महासंघका अध्यक्ष शाक्यले उपभोक्ता मात्र नभएर आफूहरू पनि मारमा परिरहेको बताए। ‘सुनको मूल्य हरेक दिन र घण्टामा अपडेट भइरहेको हुन्छ। त्यो स्वाभाविक हो। बजार चलायमान हुनुपर्छ,’ उनले भने, ‘तर सुनको मूल्यमा उतारचढाव हुँदा बजारमा समस्या पैदा गर्छ।’ सुनको बजार संवेदनशील भएकाले विश्वमा हुने सामान्य घटनाले पनि प्रभाव पार्ने गरेको उनी बताउँछन्।

‘विश्व बजारमा विश्वमा हुने राजनीतिक उथलपुथल वा ठूला विपद्का घटनाको प्रत्यक्ष असर पर्छ। यस्तो अवस्थामा लगानी असुरक्षित हुने जोखिम हुन्छ’, उनले भने। अन्य क्षेत्रमा लगानी असुरक्षित हुने देखेपछि लगानीकर्ता सुनमा आकर्षित हुने उनको भनाइ छ।

गत वर्ष साउन २३ गते नेपाली बजारमा सुनको मूल्य एक लाख तीन हजार पाँच सय थियो। कोरोनाले लगानीका सबै क्षेत्र प्रभावित हुँदा विश्वका ठूला व्यापारी सुन बजारमा प्रवेश गरेको दाबी शाक्यको छ। त्यसले विश्व बजारमा सुनको मूल्य निकै बढाइदिएको थियो। जसको असर नेपालमा समेत परेको बताउँछन् उनी।

‘मुद्रा कमजोर हुनु, मूल्य भ्यालु स्टोरेजका लागि सुनलाई लिनु जस्ता कारणले पनि यसको मूल्यमा प्र्रभाव पार्छ,’ शाक्य भन्छन्। मूल्य बढ्दा सुरुका केही महिना नराम्ररी प्रभावित भए पनि अहिले नेपाली बजार तंग्रिन थालेको शाक्य बताउँछन्।

‘सुरुमा त व्यापार शून्यजस्तै थियो। अहिले कारोबार केही बढेको छ। तर, फेरि पनि ओमिक्रोन भेरियन्टको त्रासले नेपालीमा बजारमा सुनमा लगानी गर्नेहरूमा कमी आएको छ’, उनले भने।

महासंघका अनुसार नेपालमा दैनिक २० किलो सुन आयात हुने गरेको छ। गत कात्तिक र मंसिरमा सुनको राम्रो कारोबार भएको महासंघको तथ्यांक छ।

२०२० जनवरी १ मा नेपाली बजारमा सुन प्रतितोला ७३ हजार पाँच सयमा कारोबार भएको थियो। पछि त्यो मूल्य बढेर एक लाख नाघ्यो। महासंघका अनुसार सुनको मूल्य अझै बढ्नेछ।

सुन व्यवसायसँग व्यवसायी, उपभोक्ता, लगानीकर्ता र सरकार जोडिएको हुन्छ। नेपालजस्तो सानो देशमा सुनमा जनताको आकर्षण एकदमै कम हुन्छ। महासंघका अध्यक्ष शाक्य सुनको मूल्य उकालो लाग्दा आफूहरू पनि मारमा पर्ने गरेको बताउँछन्।

‘सुनको मूल्य बढ्दा उपभोक्ता आउँदैनन्। उपभोक्ता नआउँदा कालीगढले काम पाउँदैनन्। हाम्रो व्यवसाय चौपट हुन्छ। मूल्य घट्दा उपभोक्ता बढ्थे। हाम्रो व्यापार चलायमान हुन्थ्यो। तर, त्यो हामीले चाहेर सम्भव हुँदैन’, उनले भने।

रुस र युक्रेनमा भूराजनीतिक खिचातानी बढ्न थालेको त्यसको असर सुन बजारमा पनि पर्न सक्छ। फेरि नेपाली बजारमा सुनको मूल्य अकासिन सक्ने उनी बताउँछन्। उनी भन्छन्, ‘कोरोना त्रास र विश्वका राजनीतिक घटनाक्रमलाई हेर्दा अहिल्यै सुनको मूल्य स्थिर हुन्छ भन्ने अवस्था छैन।’

यस्तो छ पाँच दिनयताको बजार

माघ ९ गते छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय थियो। माघ १० गते नेपाली बजारमा सुनको मूल्य स्थिर थियो। छापावाल सुन प्रतितोला ९३ हजार पाँच सय र तेजावी सुन प्रतितोला ९३ हजार निर्धारण गरिएको थियो।

११ गते सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय कायम भएको थियो।

माघ १२ गते पनि नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको थियो। बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय पुगेको थियो। त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ९ सय थियो।

माघ १३ गते बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य ९ सयले घटेको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य ९३ हजार छ। बुधबार तेजाली सुनको मूल्य ९३ हजार नौ सय छ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech