१६ बैशाख २०८१, आईतवार

एमसीसी अनुमोदन गराउन गठबन्धनका शीर्ष नेता सहमत
  • न्युज मानसराेवर

काठमाडौँ\ सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गराउन मोटामोटी सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवासमा भएको शीर्ष नेताहरूको छलफलमा केही दिन गृहकार्य गरेर एमसीसी अनुमोदन गराउन सहमत भएका हुन् ।

गठबन्धनका नेताहरू स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा सहभागी भएका थिए । शनिबार दुई चरणमा बसेको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त बैठक सकिएपछि शीर्ष नेताहरू छलफल गरेर एमसीसी बारे सहमती जुटाएको नेपाली कांग्रेसका नेता तथा सरकार सञ्चालनका लागि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले बताए ।

स्थानीय तहको निर्वाचनमा सहमति जुटाएका प्रधानमन्त्री शेरबहादुर देउवा यही बेला एमसीसी पनि अनुमोदन गराउने तयारीमा छन् । उनले गठबन्धनका नेताहरूसँग अमेरिकाले एमसीसीका लागि फेब्रुअरी १ सम्मको समय दिएको र त्यसबेलासम्म अनुमोदन नभए फिर्ता लैजाने भनेको बताएका थिए ।

बैठकमा कांग्रेस नेता पौडेलले एमसीसीबारे स्पष्ट धारणा दिन माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भनेका थिए । ‘अमेरिकाले दिएको अनुदान हामीले फिर्ता गर्न सक्छौं कि सक्दैनौ ? सक्ने हो भने त्यो आट गर्नुप¥यो । नगर्ने हो भने झुलाएर राखेर हुँदैन त्यो पास गर्नुप-यो भन्ने कुरा भएकै हो’, पौडेलले लोकान्तरसँग भने, ‘एमसीसी पास गर्ने कुरा सकरात्मकतिर जाँदैछ । तर, केही दिन गृहकार्य गरेर पास गर्ने भन्ने कुरा छ ।’

प्रचण्ड र माधव नेपाल पनि एमसीसी अनुमोदन गराउने कुरामा सकरात्मक भएको उनले बताए ।

‘उहाँहरु (प्रचण्ड र माधव नेपाल) एमसीसी पारित गर्न नकरात्मक हुनुहुन्न’, एमसीसी रोक्नकै लागि संसद बैठक सारिएको भन्ने छ नि त ? भन्ने प्रश्नमा पौडेलले भने, ‘केही तयारी गर्नको लागि संसद बैठक सार्न लगाइएको होला नि त !’

बैठकमा भएको कुरा जानकारी दिँदै पौडेलले भने, ‘एमसीसी गलत हो भने के–के कारणले गलत हो भन्ने कुरा जनतालाई भनिदिउँ । कि रिजेक्ट गरौँ, कि एसेप्ट गरौँ । झुलाएर, अड्काएर नराखौँ भनिएको हो ।’

अहिले एमसीसी पारित नगरे नेपालको विद्युतको बजार गुम्ने बारे पनि नेताहरुले बैठकमा चर्चा गरेका थिए ।

पौडेलले भने, ‘केही वर्षभित्र बिजुली सप्लाइ गर्न सकेनौ भने बजार अन्तै डाइभर्ट हुनसक्छ । हाम्रो बजार नै खोसिन सक्छ । यसो हुँदा किन झुलाएर राखेको भन्ने कुरा भएको हो ।’ बैठकमा प्रचण्ड र माधव नेपालले के भन्नुभयो भन्ने प्रश्नमा पौडेलले भने,‘उहाँहरु सकरात्मक हुनुहुन्छ, नकारात्मक हुनुहुन्न ।धेरै कुरा भन्दिनँ ।’

नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले गठबन्धनलाई अप्ठ्यारोमा पार्नेगरी एमसीसी अगाडि नबढ्ने बताए । निर्वाचनसम्म गठबन्धन कायम गर्ने सहमति भएका कारण एमसीसीकै कारण गठबन्धन प्रभावित नहुने भुसालले बताए ।

उनले भने, ‘गठबन्धनलाई पेल्नेगरी नजाउँ भन्ने नै हुन्छ होला ।’

  • १६ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech