१७ बैशाख २०८१, सोमबार

स्थानीय तहको टिकट सुरक्षित गर्न दल परिवर्तन, स्वागतका लागि शीर्षको दौड
  • न्युज मानसराेवर

बुटवल/ स्थानीय तहको निर्वाचनमा टिकट सुरक्षित गर्न लुम्बिनीका जनप्रतिनिधिमा दल परिवर्तन गर्ने लहर नै चलेको छ। लुम्बिनीका तराई केन्द्रित जिल्लाका जनप्रतिनिधिहरुले आसन्‍न स्थानीय तहको निर्वाचनमा टिकट सुरक्षित गर्ने गरी दल परिर्वतन गरेका हुन्।

लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, अर्घाखाँचीलगायतका जिल्लाका जनप्रतिनिधिले दल परिवर्तन गरेका छन्। रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु (जितेन्द्रनाथ) शुक्ला केही दिनअघि माओवादी पार्टी प्रवेश गरे। उनी गत निर्वाचनमा फोरमबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। निर्वाचनपछि एमालेमा प्रवेश गरेका उनले अब वैशाख ३० गते घोषणा गरिएको निर्वाचनमा एमालेबाट टिकट पाउने र निर्वाचन जित्‍ने छनक नदेखेपछि माओवादी प्रवेश गरेका हुन्। त्यस्तै रुपन्देहीमा गत निर्वाचनमा माओवादीबाट एक मात्र स्थानीय तहमा विजयी भएका ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट‘राहुल’ एमाले प्रवेश गरेका छन्।

केवट माओवादीको जनयुद्धकालका नेता हुन्। केवटको माओवादीका जिल्लास्तरका नेताहरुसँग महाविधेशनको विषयमा मतभेद भएको र पुन: गाउँपालिका अध्यक्षमा टिकट सुरक्षित नहुने भएपछि एमाले प्रवेश गरेका हुन्। त्यस्तै रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव नेकपा एमालेमा प्रवेश गरेका छन्। यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्। त्यति मात्रै नभई यादवका सहोदार दाजु प्रमोद यादव कांग्रेसबाट प्रतिनिधिसभा सदस्य हुन्।

निर्वाचनको मुखैमा एमाले उपाध्यक्ष विष्णु पौडेलबाट टिका ग्रहण गरी उनी एमाले प्रवेश गरेका हुन्। ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले प्रवेश गरेकी छन्। हरिजन माओवादी केन्द्रबाट हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा रुपन्देहीका १६ पालिकामध्ये ओमसतियामा मात्र माओवादीले जितेको थियो। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह पनि पुन: नगरप्रमुखमा दोहरिनका लागि नेपाली कांग्रेस प्रवेश गरेका छन्। पहिला माओवादीमा जाने प्रयास गरेका थिए। काठमाडौंमा गएर प्रचण्डलाई भेटेपछि तस्बिरसमेत खिचेका थिए। तर, नगरमा माओवादीको प्रभाव राम्रो रहेको र फेरी शाहलाई मेयरको टिकट दिनको लागि माओवादी भित्र आफ्नो उम्मेदारहरु बलिया देखिएपछि उनले कांग्रेस रोजेका हुन। शाह २०७४ सालको स्थनीय तहमा फोरमबाट उम्मेदवार हुन खोजेका थिए। तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए।

शाह निर्वाचनपछि जनता समाजवादी पार्टी नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का बनाउन अधिकतम प्रयासमा लागे। तर, कहीँ पनि सुरक्षित रुपमा टिकट नपाउने भएपछि आफ्नै काका अभिशेख प्रताप शाहको पार्टी नेपाली कांग्रेस प्रवेश गरेका हुन्। उनीसँगै केही वडा अध्यक्षहरु समेत कांग्रेस प्रवेश गरेका छन्। शाहलाई कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, महामन्त्री सुरेन्द्रराज आचार्यलगायतका नेताहरु उनकै घरमा पुगेर पार्टीमा स्वागत गरेका हुन्।

निर्वाचनको मुखैमा दल परिवर्तन तराईमा बढी नै हुने गरेको छ। त्यसो त पहाडी क्षेत्रमा पनि दल अदल-बदल गर्ने प्रवृत्ति विस्तारै बढ्दै छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेस प्रवेश गरेकी छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी गौतम एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी थिइन्। तर, आगामी निर्वाचनमा दल विभाजनले हारिने र टिकट समेत असुरक्षित हुने देखेपछि काँग्रेस प्रवेश गरेको उनी निकट नेताहरु बताउँछन्। गत निर्वाचनमा पालिका अध्यक्ष सहित धेरै वडामा कांग्रेसले जित निकालेका कारण अब कांग्रेसमा नगए अध्यक्षमा जित्न नसकिने ठानेपछि कांग्रेसमा प्रवेश गरेकी हुन्।

अहिले लुम्बिनीका कपिलवस्तु र रुपन्देहीमा दल अदलबदल गर्ने जनप्रतिनिधिहरु बढी देखिएका हुन। यसरी निर्वाचनको मुखमा दल परिवर्तन गर्नुले जनप्रतिनिधिमा भएको पदीय लोभ र स्वार्थले काम गरेको लेखक ऋषि आजाद बताउँछन्।

‘निर्वाचनको मुखैमा दल परिवर्तन गर्ने रोग त्यति नयाँ होइन, यसको मुख्य कारण पद र प्रतिष्ठाको लोभ नै हो,’ लेखक आजादले भने,‘लोकतन्त्रका लागि व्यक्तिगत स्वार्थमा लागेर दलको विचार त्याग्‍ने कुराले राजनीतिक संस्कार दिँदैन।’ उनले मानवीय स्वभाव स्वार्थी हुने भए पनि राजनीति गर्नेहरुले चुनावको मुखमा आफ्नो पदलाई हेरेर पार्टी फर्ने कुरा अवसरवादी चरित्र भएको बताए। ‘यस्तो कार्य बिल्कुल लोकतान्त्रिक संस्कृती होइन, निर्वाचनको मुखैमा फूलमाला पहिर्‍याएर पार्टी प्रवेश गराउँदा आन्तरिक द्वन्द्व बढाउँछ,’ उनले भने।   कार्यकर्ता तान्‍न तछाडमछाड 

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कार्यकर्ता र नेताहरुलाई आफ्नो पक्षमा पार्ने क्रम पनि चलिरहेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीहरुले आफ्नो पक्षमा कार्यकर्ता तान्‍न होडबाजी गरेका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण, चन्द्र भण्डारी, दीपक गिरी, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा, चन्द्रप्रकाश खनाल, सुदर्शन बराल, एकिकृत समाजवादीका नेता मेटमणि चौधरी, भागवत विश्वासी, राजुु गुरुङको दौडधूप जारी छ। त्यस्तै जसपा सहितका दलका नेताहरुले समेत कार्यकर्ता तानिरहेका छन्।

स्वागत गर्न शीर्षको मोह

एमाले अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तुको बहादुरगञ्जमा जनता समाजवादी पार्टी (जसपा)का नेता मंगलप्रसाद गुप्तालाई एमालेमा स्वागत गर्न आएका थिए। अर्घाखाँचीको पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई स्वागत गर्न कांग्रेस महामन्त्री गगन थापा हेलिकोप्टर लिएर आएका थिए।

रुपन्देहीमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष बनेका रुपन्देहीको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट राहुल र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादवलाई स्वागत गर्न एमाले उपाध्यक्ष विष्णु पौडेल आफ्नो व्यस्ततालाई पन्छाएर रुपन्देही आए। गुल्मीमा गोकर्ण विष्ट र अर्घाखाँचीमा टोप बहादुर रायमाझी वडा तहका कार्यकर्ता स्वागत गर्न पुग्‍ने गरेका छन्।

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech