१७ बैशाख २०८१, सोमबार

गृहमन्त्रीको चुनावी राजनीति : एउटै सडक पटक–पटक शिलान्यास
  • न्युज मानसराेवर

बुटवल / गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगर हो रूपन्देहीको तिलोत्तमा नगरपालिका ।

आफ्नो क्षेत्रमा विकास गर्नु हरेक नेताको प्राथमिकता हुन्छ, त्यसलाई स्वाभाविक पनि मान्नुपर्छ । तर, गृहमन्त्री खाँणले भने चुनावी राजनीतिका लागि एउटै आयोजना दोहोर्‍याएर शिलान्यास गरेका छन् ।

२०७३ असोज ८ मा रक्षामन्त्री छँदा आफैंले शिलान्यास गरेको ‘चक्रपथ’ खाँणले अहिले गृहमन्त्री हुँदा दोहोर्‍याएर शिलान्यास गरे ।

खाँणले पहिले चक्रपथको प्रस्थानविन्दु योगीकुटीमा आयोजना शिलान्यास गरेका थिए । शनिवार उनले लखनचोकमा शिलान्यास गरे ।

चुनावी राजनीतिका लागि एउटै आयोजना पटक–पटक शिलान्यास गरेको भन्दै उनको आलोचना समेत शुरू भएको छ ।

नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एउटै आयोजना पटक–पटक शिलान्यास गर्नु सत्ताको दुरुपयोग भएको टिप्पणी गरे ।

सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख इञ्जिनीयर जयलाल मरासिनीले बजेट अभावले सुस्त अवस्थामा पुगेको आयोजना फेरि शिलान्यास गरिएको बताए ।

‘महत्त्वपूर्ण आयोजना भए पनि बजेट अभावले ओझेलमा परेको थियो,’ मरासिनीले भने, ‘गृहमन्त्रीज्यूले पुनः शिलान्यास गर्दै अब आयोजना बहुवर्षे ठेक्कामा राखेर बजेट अभाव हुन नदिने बताउनुभएको छ ।’

यस वर्ष जम्मा ६ करोड मात्र बजेट परेको मरासिनीले जानकारी दिए ।

मरासिनीका अनुसार २ लेन र दायाँ–बायाँ नाली सहितको सडक निर्माणका लागि काष्ठमण्डप तिरूपती जेभी सुनवलले ठेक्का लिएको छ ।

गएको माघ २७ गते ठेक्का सम्झौता भएको सडकको ८०० मिटर मात्रै निर्माण गर्ने गरी ३ करोड ५७ लाख हाराहारीमा यस वर्ष खर्च हुनेछ ।

बाँकी रहेको रकमबाट काम गर्ने गरी पुनः ठेक्का प्रक्रिया अगाडि बढेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

चक्रपथ निर्माण थालनी भएसँगै जम्मा १२ करोड रुपैयाँ खर्च भएको छ ।

आर्थिक वर्ष २०७४/७५ बाट शुरू भएको परियोजना पूरा गर्न आफ्नो आर्थिक स्रोतले नपुग्ने भएकाले संघीय सरकार र प्रदेश सरकारबाट सहयोग लिई परियोजना पूरा गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

चक्रपथमा हालसम्म माटो फिलिङ र साइड क्लियरेन्सको काम भइरहेको छ ।

चक्रपथमा नौ मिटरको सडक रहनेछ । जसको सात मिटरमा सवारी साधन गुड्नेछन् भने १ मिटरमा नाली र बाँकी क्षेत्रमा फूटपाथ र ग्रिनरी एरिया रहने छ ।

चक्रपथ निर्माण भए व्यावसायिक प्रगतिको बाटो खुल्ने तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का स्थानीय सुनिल जैसवालले बताए ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले यो परियोजना सम्पन्न हुँदा नगरपालिकाको मुहार नै फेरिने बताए । यसका लागि संघीय सरकारले पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

गृहमन्त्री खाँणले चक्रपथको दिगो स्ट्रक्चर निर्माणसहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए । यो लुम्बिनीका लागि छोटो र बाइपास रोड हुनेछ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech