२९ बैशाख २०८१, शनिबार

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै
  • न्युज मानसराेवर

काठमाडौं\परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताए। तर, परराष्ट्रमन्त्री खड्का नाम भने बताएनन्।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउन लागेका हुन्। अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएको केही समयमा नै चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण तय भएको हो।

परराष्ट्रका ती अधिकारीका अनुसार भ्रमणको मिति भने तय भइसकेको छैन। उनले भने, ‘‘भ्रमणको मिति टुंगो लाग्‍न बाँकी छ। तर चैतभित्र भ्रमण हुने तयारी तयारीमा जुटेका छौं।’

उनका अनुसार एक साता अघि चिनियाँ पक्षले विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउनसक्ने जानकारी गराएको थियो। नेपालमा विद्युत प्रसारण लाइन र सडक निर्माणका लागि अमेरिकाले दिने करिब ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिँदै आएको दबाबप्रति बेइजिङले खुला रुपमै असन्तुष्टि जनाएको थियो। चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न पनि दबाब दिएको थियो।

तर चीनले चाहेर पनि एमसीसी सम्झौता अनुमोदन हुनबाट रोक्न नसकेको अवस्थामा बेइजिङले तत्कालै विदेशमन्त्रीको भ्रमण तय गरेको हो। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि नेपाल भ्रमण हुने बताइएको थियो। तर, कोरोना महामारीका कारण उक्त भ्रमणको तयारी हुन सकेन र स्थगित भएको थियो।

  • २४ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech