१ जेष्ठ २०८१, मंगलवार

‘माधव नेपाललाई एमालेमा फर्किने ठाउँ छैन, नेकपाको निरन्तरताका रुपमा माओवादी कार्यकर्ता ल्याउँछौं’
  • न्युज मानसराेवर

बाँके\  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताका टाउको जोडेर कम्युनिस्ट पार्टीको एकता सफल नभएको भन्दै अब माधव नेपाललाई एमालेमा फर्किन नदिइने प्रष्ट पारेका छन् ।

प्रचण्ड–माधवलाई ढोका बन्द भए पनि उनीहरुको पछि लागेका कार्यकर्तालाई भने एमालेका फर्काउन सबै ठाउँबाट पहल गरिने पोखरेलले बताए । नेकपा एकता भंग भए पनि पार्टी एकताको निरन्तरताको नेतृत्व केपी ओलीले गरेको पोखरेलको दावी छ ।

पोखरेलले भने- आज प्रचण्डसँग एकजना एमाले कार्यकर्ता छैनन् । माधव नेपालसँग पनि पूर्व एमालेमात्रै छन् । तर केपी ओलीको नेतृत्वमा एमाले त हुने नै भए, पूर्व माओवादीको ठूलो पंक्ति वडादेखि केन्द्रसम्म जोडिएको छ । हिजो माधव नेपालसँग गएका मान्छेहरुलाई पनि फिर्ता ल्याएर यो एकताबद्ध पार्टी बनाएका छौं । त्यसैले अधिवेशनका माध्यमबाट हामीले यसलाई नेकपा एकताको निरन्तरताको एमाले भनेका छौं ।

महासचिव पोखरेलले प्रचण्ड-माधवहरु हिजो केपी ओलीविरुद्ध एकजुट भएको पदका लागिमात्र रहेछ भन्ने उनीहरु अहिले अलग अलग समूहमा बाँडिनुले पनि पुष्टि भएको बताए । पोखरेलले माधव नेपाललाई फेरि एमालेमा नल्याइने दोहोर्याए ।

पोखरेलले भने- माधव नेपाललाई फेरि यो पार्टीमा ल्याइँदैन, टाउको जोडेर पार्टी सफल नहुने रहेछ । तर कार्यकर्तालाई फिर्ता ल्याउने हो, माओवादीमा पनि प्रचण्डको भुलभुलैयामा रहेका बाँकी कार्यकर्तालाई नेकपाको निरन्तरताका रुपमा एमालेमा समाहित गर्ने हो ।

अर्को एक प्रसंगमा महासचिव पोखरेलले एमसीसीका नाममा नेकपाकालमा केपी ओलीविरुद्ध राजनीति गरेका प्रचण्ड–माधवलाई नै एमसीसीको भारी बोकाउन एमाले सफल भएको बताए । जसले विरोध गरेका थिए उनीहरुले एमसीसीको नाममा राजनीति गर्न नपाउनेगरि एमसीसीको भारी बोकाइदिएको पोखरेलले दावी गरे ।

पोखरेलले भने- एमसीसीको भारी प्रचण्ड माधवलाई नै बोकाइदियौं । जसले सम्झौता गरेका थिए उनीहरुले नै पारित गरे । जनतालाई भ्रम सिर्जना गर्ने नाटक पटाक्षपेप । त्यो एमसीसीको भारी बोकाएर संसद भवनभित्र प्रवेश गराइदिनु हाम्रो सफलता हो । जहाँसम्म व्याख्यात्मक टिप्पणी छ,त्यो त प्रचण्ड माधवहरुले सिर्जना गरेका भ्रमहरु आफैंले सोहोर्ने उनीहरुको लाज छोप्ने टालोमात्र हो ।पोखरेलले एमसीसीका नाममा राजनीति गरेर एमालेविरुद्ध षडयन्त्र गर्नेहरुलाई मज्जाले सुताउन सफले बताएको बताए ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech