१ जेष्ठ २०८१, मंगलवार

‘पार्टीको अभियान सार्थक नहुँदासम्म आसन्न निर्वाचनमा परिणाम ल्याउन कठिन’
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका नेता दीपक गिरीले पार्टीले सुरु गरेको अभियान सार्थक नहुँदासम्म आसन्न निर्वाचनमा सही परिणाम ल्याउन नसकिनेमा जोड दिएका छन् । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको आइतबार नेपालगन्जमा शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रीय सदस्य गिरीले अभियान सफल भएपछि मात्र स्थानीय निर्वाचनमा पनि सफलता प्राप्त हुने बताए ।

‘हामी जबसम्म पार्टीको यो अभियानमा सफल हुदैनौं, तबसम्म आसन्न निर्वाचनमा पनि सफलता प्राप्त गर्न सक्दैनौं, त्यसकारण बाँकेका सबै वडामा अभियानलाई कांग्रेसमय बनाउन म साथीहरुलाई विशेष आग्रह गर्दछु,’ उनले भने । अभियानका क्रममा आफु वडा वडामा खटिन तयार रहेको पुर्वमन्त्री समेत रहेका गिरीले बताए ।

कांग्रेसको केन्द्रीय प्रतिनिधीका रुपमा बाँकेमा खटिएका उनले अभियानलाई सफल पार्न सबै जना एकतावद्ध भएर लाग्नुपर्ने बताए । कांग्रेस सुध्रिएर गएमा बाँकेका सबै स्थानीय तहमा जित्ने दाबी गरे । ‘मेहनत त गर्नैपर्छ साथीहरु, मेहेनत अनुसारको प्रतिफल हामी पाउँछौं,’ उनले भने ।

अर्का केन्द्रीय सदस्य एवम् विशिष्ट अतिथी मैकुलाल बाल्मिकीले एमसिसीका विषयमा ब्याप्त रहेको भ्रमलाई चिर्न जरुरी रहेको बताए । यसका लागि गाउँ गाउँमा प्रशिक्षण कार्यक्रम मार्फत कार्यकर्तालाई जागरुक बनाउनुपर्ने उनको सुझाव छ ।

यस्तै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आसन्न निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा कार्यकर्तालाई न्याय गर्ने बताए । सकभर वडामै सर्वसम्मत रुपमा उम्मेदवार तयार गर्न सक्नुपर्ने पुर्वमन्त्री समेत रहेका प्रदेश सभापति पुनको सुझाव छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्वजिल्ला सभापतिद्धय गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्यहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, आशा बिक, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ लगायतले सम्बोधन गरेका थिए ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech