१ जेष्ठ २०८१, मंगलवार

‘राप्रपाले नै यो देशमा समृद्धि ल्याउँछ’ : राजेन्द्र लिङ्देन
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले नै यो देशमा समृद्धि ल्याउने बताएका छन् । नेपालगन्जमा आइतबार आयोजित आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राप्रपाले कहिल्यै पनि राष्ट्रघाती काम नगरेको भन्दै अबको निर्वाचनमा राप्रपालाई जनताले जिताउनुपर्ने बताए ।

विभिन्न जाती र समुदायलाई भिडाएर ठुला दलले मुलुकलाई अराजकतातर्फ धकेल्न खोजेको उनले आरोप पनि लगाए । ठुला दलले गरेको गल्तीका कारण आसन्न निर्वाचनमा देशभर राप्रपाको लहर चलेको दाबी गरे । आफ्नो दललाई हलो चुनाव चिन्ह नदिएमा आसन्न स्थानीय चुनाव बहिस्कार गर्ने चेतावनी दिए ।

हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यि दुबै विषयमा राप्रपाले निरन्तर रुपले वकालत गर्दै आएको बताए । एमसिसीलाई अहिले सामान्य लागेपनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पर्ने धारणा राखे । ‘ठुला राजनीतिक दलले जसरी एमसिसीलाई संसदबाट पास गरे, तर म एक्लै भएपनि संसदभित्र एमसिसीको विरोध गरेको हुँ,’ अध्यक्ष लिङ्देनले भने ‘जनताले हामीलाई जिताएको भए संसदमा हामी राष्ट्रियताको विषयमा हामी सशक्त रुपले प्रस्तुत हुन्थ्यौं र राष्ट्रघाती निर्णय गर्न दिने थिएनौं ।’

राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त सभालाई पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्रीद्धय डा. धवलसम्शेर राणा र कुन्तीकुमारी शाही, पुर्वमन्त्रीद्धय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।

  • २९ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech