१ जेष्ठ २०८१, मंगलवार

‘एमसिसी नेपालमा आएको सामान्य परियोजना मात्रै हो’ : गगन थापा
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी नेपालमा आएको एउटा सामान्य परियोजना मात्रै भएको जिकिर गरेका छन् । तर, एमसिसीका विषयमा कम्युनिष्टले जनतामा धेरै नै भ्रम सिर्जना गरेको उनको भनाई छ ।

कांग्रेस क्षेत्र नम्बर १ बाँकेले कोहलपुरमा सोमबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले एमसिसीले बिद्युतमा लगानी गरेर नेपाललाई आर्थिक रुपले समृद्ध बनाउने मात्रै उद्देश्य रहेको बताए । यस्तै खालको परियोजना नेपालमा विगतमा पनि धेरै सञ्चालन भएको बताए ।

मेलम्ची खानेपानी आयोजना पनि एउटा परियोजना भएको उदाहरण दिदै थापाले एमसिसी पनि सोही प्रकारको परियोजना भएको स्पष्ट पारे । कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेकाले त्यसलाई कांग्रेसले चिर्न जरुरी रहेको बताए ।

एमसिसीका विषयमा अहिले साना बालबालिकाले समेत प्रश्न गर्न थालेको उनको भनाई छ । अर्को प्रसंगमा उनले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताए । ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदी देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ ।’

कांग्रेसले अबको पाँच वर्षमा देशमा परिवर्तन ल्याउने थापाले ठोकुवा गरे । आसन्न निर्वाचनका विषयमा पार्टीभित्र विभिन्न बहस चलिरहेको भन्दै उनले निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए । ‘आउँदो चुनावमा रुख चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने कार्यकर्ताको भावना छ, तर रुख चिन्हमा भोट हाल्दै गर्दा हामी तलमाथी गर्दैनौं भन्ने प्रतिवद्धता पनि चाहिएको छ ।’

उक्त सभालाई कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी, सञ्जय गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल साँस्कृतिक संघका कलाकारले विभिन्न नृत्य प्रस्तुत गरे ।

  • ३० फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech