१ जेष्ठ २०८१, मंगलवार

सुर्खेतमा स्थानीय चुनावको प्रतिस्पर्धा : पूर्ण भर्सेस यामलाल !
  • न्युज मानसराेवर

सुर्खेत\  कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्लामा नौ वटा स्थानीय तह रहेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको थियो ।

कांग्रेसले वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, भेरिगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा विजयी भएको थियो । एमालेले चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका र लेकबेशी नगरपालिकामा २०७४ सालको निर्वाचनमा विजय हात पारेको थियो । माओवादी केन्द्रले भने केही वडामा मात्रै चित्त बुझाउनुपरेको थियो ।

कांग्रेसले ६ पालिकामा प्रमुख तथा पाँच पालिकामा उपप्रमुखमा जित हात पारेको थियो । वीरेन्द्रनगर बाहेक अन्य पाँच पालिकामा कांग्रेसको एकलौटी बहुमत समेत आउँदा जिल्ला समन्वय समितिमा समेत कांग्रेसको एकलौटी नेतृत्व चयन भएको थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस विगतमा जस्तै आफ्नो दबदबा कायम राख्न चाहन्छ भने, एमाले आफ्नो प्रभाव क्षेत्र विस्तारको योजनासहित अगाडि बढेको छ । तर विभाजनको मारमा परेको एमालेलाई केही चुनौतीहरू भने छन् ।

नेपाली कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीले सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस एक्लै चुनाव लड्ने सङ्केत गरे ।

उनले भने, ‘गठबन्धनका नाममा सुर्खेत कांग्रेसका मतदाताले अन्य पार्टीमा मत हाल्न सक्दैनन् । पार्टी भित्रको एकतालाई थप मजबुत बनाउन आवश्यक छ । हामी एक्लै लडेर पार्टीलाई जित दिलाउन सक्छौँ ।’

यता, एमालेले भने गठबन्धन बनाएर आए पनि चुनावमा विगतको भन्दा राम्रो नतिजा ल्याउने दाबी गर्छ ।

एमालेका एक नेताले भने, ‘विगतको भन्दा अहिले हाम्रो अवस्थामा सुदृढ भएको छ । केही समूह चोइटिएर गए पनि हामीसँग नेकपा माओवादीबाट त्यो भन्दा ठुलो संख्यामा साथीहरू आइसक्नु भएको छ । मुलघरमै फर्कने क्रम पनि जारी भइसकेको अवस्थामा हामीलाई काँग्रेस होस या गठबन्धन होस त्यसले रोक्न सक्दैन ।’

नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेलको गृह जिल्ला समेत भएका कारण पनि एमालेले आफ्नो विगतको तुलनामा बलियो उपस्थिति देखाउन खोजिरहेको छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला समेत रहेको सुर्खेतमा कांग्रेसले आफ्नो उपस्थिति विगतको भन्दा राम्रो बनाउन प्रयास गर्दै आइरहेको छ । अर्थात् सुर्खेतको चुनावमा खड्का र कँडेलले आफ्नो पक्षमा पार्न मेहनत गरिरहेका छन् ।

नेपाली कांग्रेसका जिल्ला सभापति खड्का पोखरेलले केन्द्रको निर्णय मान्ने बताए । ‘एक्लै लडे पनि हामी नौ पालिका जितौँला तर पार्टी केन्द्रले गठबन्धन बनाएर जाऊ भनेको खण्डमा त्यो कुरा त हामीले मान्नु पर्‍यो नि ?’ उनले भने ।

  • ९ चैत्र २०७८, बुधबार प्रकाशित

  • Nabintech