१ जेष्ठ २०८१, मंगलवार

टोल-टोलमा कांग्रेसको समिति विस्तार
  • न्युज मानसराेवर

बाँके\स्थानीय तह निर्वाचन लक्षित ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ नामक अभियानका लागि जिल्लाका वडा तथा टोलमा विभिन्न कार्यक्रम गरिएका छन् । अभियान अन्तरगत कांग्रेसले बाँकेका ८१ वटै वटामा जिल्ला प्रतिनिधी खटाएर दैनिक रुपमा कार्यक्रम गरेको हो ।

अभियानकै क्रममा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा टोल समिति गठन गरिएको छ । शान्तिनगर समावेशी टोलमा सुर्जा थापाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ । यस्तै आनन्दनगर र पिरल्लीपूर्वमा अनिता शाहको संयोजकत्वमा २३ सदस्यीय टोल समिति गठन गरियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का सभापति अखबर शेखको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी एवम् कांग्रेस जिल्ला सदस्य पुष्पा शुक्ला, क्षेत्रीय सदस्य बन्दना सिंह, चन्द्र तिमिल्सेना लगायतले सम्बोधन गरेका थिए । सो क्रममा बोल्ने बक्ताले वडाको विकासका लागि कांग्रेसलाई जिताउनु पर्ने बताए ।

कांग्रेसले नै देशमा विकास र समृद्धि ल्याउने उनीहरुको भनाई थियो । कार्यक्रममा कांग्रेस नेता एवम् वडा सदस्य रमेश तिमिल्सेना, नेता डम्बरबहादुर गोल्ड स्मिथ, नगर सदस्य अनिता शाह, तरुण दलका इकाई अध्यक्ष दयाराम यादव लगायत क्षेत्रीय प्रतिनिधी, क्रियाशिल सदस्यको सहभागिता रहेको थियो । कांग्रेस बाँकेले उक्त वडामा महासमिति सदस्य एवम् निर्वतमान जिल्ला सचिव कपिलदेव शर्मा खटिएका छन् ।

यसैबीच अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा पनि टोल समिति गठन गरिएको छ । उक्त वडाको घरबारी टोलमा नेपाली कांग्रेसको टोल विकास समिति गठन गरिएको हो । वडा सचिव हिमनाथ पौडेलले दिएको जानकारी अनुसार सम्भ्रान्त विक्रम शाहको संयोजकत्वमा टोल समिति गठन गरिएको हो ।

नेपालगन्ज-२ का सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला सदस्य गिता गोदार, प्रदेश सभा २ ख का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्रीय प्रतिनिधी राधा थापा लगायतको उपस्थिती रहेको थियो ।

  • १२ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech