१३ बैशाख २०८१, बिहीबार

फर्कँदै लयमा लुम्बिनी
  • न्युज मानसराेवर

लुम्बिनी \कोरोना महामारीले थला परेको लुम्बिनीमा क्रमशः लयमा फर्कँदै छ ।आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनेको लुम्बिनीमा आन्तरिक पर्यटकसँगै भारत तथा तेस्रो मुलुकका पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् । लुम्बिनीको मायादेवी मन्दिर प्रवेशका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका नागरिकलाई टिकट लाग्दैन भने अन्य जिल्ला तथा विदेशीहरुलाई टिकट लाग्ने गर्दछ ।

मायादेवी मन्दिर अवलोकनका पछिल्लो केही दिनयताको तथ्यांक हेर्दा पयर्टकको संख्या दिनहुँ बढिरहेको देखिन्छ । यहाँ आउने आन्तरिकपछि धेरै पर्यटक भारतीय छन् । लुम्बिनी विकास कोषका कर्मचारीका अनुसार बुद्ध पूर्णिमा नजिक आउन लागेकाले पनि पर्यटकको संख्या र लुम्बिनीमा चहलपहल बढेको हो ।

कोरोना महामारीले थला परेको पर्यटन व्यवसायमा अहिले आएको पर्यटकको अवस्था पछिल्लो साढे २ वर्ष यताकै धेरै हो । कोरोनाकालमा लुम्बिनीमा निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारले यहाँको सौन्दर्य बढाएको छ । महामारीमा लुम्बिनी सुनसान बन्यो । लुम्बिनी छेउमा रहेका होटल व्यवसाय ठप्प भए । तर अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । लुम्बिनीमा भारत तथा तेस्रो मुलुकका समूह दिनहुँ प्रार्थना गरेको भेट्न सकिन्छ । भारतपछि बर्मा, कम्बोडिया, थाइल्याण्डका पर्यटकहरू लुम्बिनीमा आउन थालेका छन् । पर्यटकको वृद्धिले होटल व्यवसायीलाई राहत मिलेको स्थानीय व्यवसायीको भनाइ छ ।

लुम्बिनी विकास कोषका अनुसार बिदाको दिनमा लुम्बिनीमा आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । अंग्रेजी महिना मार्चमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनामा कुल ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

विभागका अनुसार २०७६ साल चैतमा कोरोना महामारी सुरु भएयता एक महिनाको अवधिमा यति ठूलो संख्यामा पर्यटक आगमन भएको हो । सन् २०२१ मा सबैभन्दा धेरै पर्यटक नोभेम्बर महिनामा भित्रिएका थिए । विभागका अनुसार सो महिना २६ हजार १३५ जना पर्यटक नेपाल भित्रिएका थिए । सोही वर्षको जुन महिनामा सबैभन्दा कम १ हजार १४३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

पछिल्लो समय नेपालमा पर्वतारोहणको सिजन सुरु भएको छ । यो समय पदयात्रामा जाने समय समेत भएकाले पर्यटकको संख्या बढ्ने
गर्छ । होटल संघ नेपाल (हान) का सदस्य युवराज श्रेष्ठका अनुसार भारतीय पर्यटकका कारण होटल उद्योगमा समेत सकारात्मक संकेत देखिएको छ । एक महिनाको अवधिमा नेपालमा भारतीय पर्यटकको संख्या मात्र १५ हजार रहेको छ ।

तथ्यांकअनुसार मार्चमा १५ हजार १३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अवधिमा बंगलादेशबाट समेत २ हजार १ सय ५२ जना नेपाल आएका छन् ।

अमेरिकाबाट ४ हजार ८ सय ९६ जना पर्यटक नेपाल आएको तथ्यांक छ । बेलायतबाट ४ हजार २९ जना पर्यटक नेपाल आएका छन् । कोरोना महामारी सुरु हुनुअघि नेपाल आउने पर्यटकमा चीन भारतपछि दोस्रो स्थानमा रहने गरेको थियो । तर, चीनले अहिले पनि आफ्ना नागरिकलाई भ्रमण खुला गरिसकेको छैन । सोही कारण मार्चमा चीनबाट ४३१ जना मात्रै नेपाल आएको तथ्यांक छ ।

रुस र युक्रेनको द्वन्द्वका बावजुत ती मुलुकबाट समेत नागरिकहरू नेपाल भ्रमणमा आएका छन् । मार्च महिनामा ७० जना युक्रेनी नागरिक नेपाल आएका छन् । रुसबाट ४ सय २३ जना नेपाल भ्रमणमा आएको तथ्यांक छ । मार्च महिनामा कुल १५६ मुलुकबाट विदेशीहरू नेपाल आएका छन् । व्यवसायीहरूका अनुसार युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटक पर्वतारोहण र पदयात्राको प्रयोजनमा नेपाल आउँछन् । भारतीयहरू भने मनोरञ्जन तथा धार्मिक प्रयोजनमा नेपाल आउने गरेका छन् ।

लुम्बिनीका होटल व्यवसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीले केही सातायता आन्तरिक र बाह्य पर्यटकको संख्या लुम्बिनीमा बढेको बताए लुम्बिनीमा अहिले आन्तरिक पर्यटकको त्यति धेरै चिन्ता छैन । महामारीको अवस्थामा पनि यहाँ आन्तरिक पर्यटक आइरहेका थिए तर रात बिताउने पर्यटक नआएका कारण यहाँका व्यवसायी संकटमा परेको पर्यटन व्यवसायी मेघनाथ आचार्यको भनाइ छ । साभार

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech