११ बैशाख २०८१, मंगलवार

आचार संहिता पालना गर्ने पत्रकारको प्रतिवद्धता
  • न्युज मानसराेवर

बाँके\ आसन्न स्थानीय तह निर्वाचनमा आचार संहिताको पूर्ण रुपले पालना गर्ने बाँकेका पत्रकार तथा सञ्चारकर्मीले प्रतिवद्धता जनाएका
छन् । नेपाल पत्रकार महासंघ बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांस पत्रकारले यस्तो बताएका हुन् ।

आचारसंहिता पालना गर्ने दायित्वबाट विमुख नहुने उनीहरुले प्रतिवद्धता जनाए । गलत सूचना प्रवाह नहोस् भन्नका लागि सञ्चारकर्मीलाई भरपर्दो र सहज सूचना प्रवाह गर्ने संयन्त्र निर्माण गर्न छलफलमा उपस्थित सञ्चारकर्मीले महासंघसँग आग्रह गरे ।

र संकलनका क्रममा पत्रकार र सञ्चारमाथि हुने आक्रमण, विभेदपूर्ण व्यवहार न्यूनिकरण गर्दै शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग थियो । महासंघले पत्रकार र सञ्चारमाध्यमले आचारसहिंता पालना गरे/नगरेको विषयलाई अनुगमन गर्ने, समाचार रिर्पोटिङका लागि सहज वातावरण निर्माण गर्ने लगायतका विषयमा सुझाव दिएका थिए ।

सो क्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले निर्वाचन स्वच्छ, निष्पक्ष र सफल पार्न सञ्चारकर्मीको अहम भूमिका रहने भन्दै निर्वाचन आचारसंहिता पालना गर्नु सञ्चारकर्मीको प्रमुख दायित्व भएकोमा जोड दिए । सञ्चारकर्मीले कहीं कतै आचारसंहिता उल्लंघन गरेमा महासंघले संरक्षण गर्न नहुने बताए ।

यस्तै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले स्थानीय तह निर्वाचन र पत्रकार आचारसंहिता बाहिर जाने पत्रकार र मिडियालाई महासंघले संरक्षण नगर्ने प्रष्ट्याए । ‘निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रुपले सम्पन्न गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुन्छ, निर्वाचन र पत्रकार आचारसंहिताको परिधीभित्र रहेर समाचार सम्प्रेषण गर्नु होला,’ भण्डारीले भने ।

उक्त कार्यक्रममा महासंघका पूर्व केन्द्रिय सदस्य झलक गैरे, महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, महासंघ बाँके शाखा पूर्वअध्यक्षद्धय नीरज गौतम र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, नेपाल प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल लगायतले निर्वाचनको संवेदनशीलतालाई आत्मसात गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मी प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । कार्यक्रम पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले सञ्चालन गरेका थिए ।

  • २१ बैशाख २०७९, बुधबार प्रकाशित

  • Nabintech