१४ बैशाख २०८१, शुक्रबार

नेपालको तिब्बत मामिलामा अमेरिकी चासो, १० वर्षपछि उच्चस्तरीय भ्रमण हुँदै
  • न्युज मानसराेवर

बाँके\अमेरिकाबाट करिब १० वर्षपछि उच्चस्तरीय भ्रमण हुने भएको छ। सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेपछि पहिलो पटक जेठ ६ देखि ८ सम्म अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाले नेपालको तीन दिने भ्रमण गर्न लागेकी हुन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार जिया भारतको भ्रमण सकेर नेपाल आउने भएकी हुन्। जेठ ६ गते उनले भारत भ्रमण सकेर नेपाल आउने कार्यक्रम तय भएको छ। भारतीय समाचार संस्था एएनआईका अनुसार जियाले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेट गर्ने कार्यक्रम छ।

भारतमा रहँदा जिया धर्मशाला पुगेर तिब्बती धर्मगुरु दलाई लामासँग पनि भेट गर्ने भएकी छन्। २० डिसेम्बर २०२१ मा तिब्बती मामिलाको विशेष संयोजकको रुपमा नियुक्त भएकी जियाले आफ्नो कार्यकालमा चीन र दलाई लामा, उनका प्रतिनिधिहरू वा  प्रजातान्त्रिक रूपमा निर्वाचित तिब्बती नेताहरूबीच कुनै पूर्वशर्त बिना नै ठोस वार्तालाई प्रवर्द्धन गर्ने अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ। थप भनिएको छ, ‘उनले तिब्बतीहरूको धर्म वा आस्थाको स्वतन्त्रता लगायतका मानव अधिकार र मौलिक स्वतन्त्रताको सम्मानलाई प्रवर्द्धन गर्नेछन् र उनीहरूको छुट्टै ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण गर्ने प्रयासलाई समर्थन गर्नेछन्।’

विशेष संयोजक जियाले संयुक्त राज्य अमेरिकामा रहेका तिब्बती शरणार्थी र डायस्पोरा समुदायहरूको मानवीय आवश्यकतालाई सम्बोधन गर्न अमेरिकी प्रयासहरूलाई थप समर्थन गर्ने र तिब्बती पठारको पानी र अन्य प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन र वातावरण संरक्षण गर्ने गतिविधिलाई पनि प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ। त्यसैगरी जियाले तिब्बतको पारस्परिक पहुँच ऐन २०१८ अनुरूप अमेरिकी अधिकारीहरू, पत्रकारहरू र अन्य नागरिकहरूको लागि तिब्बतमा पहुँच बढाउने प्रयास गर्नेसमेत उल्लेख छ।

तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान (आईसीटी) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै उपमन्त्री जियाको हुने लागेको भारत-नेपाल भ्रमण चीनले ध्वस्त बनाउनुअघि तिब्बती संस्कृतिलाई जोगाउनका लागि निकै महत्वपूर्ण र आवश्यक भएको जनाएको छ। आईसीटीका उपप्रमुख तेन्चो ग्यात्सोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी तिब्बत मामिला विशेष संयोजकको धर्मशाला भ्रमणको कुराले हामी निकै उत्साहित छौं। उहाँले यहाँ तिब्बती प्रजातन्त्रको महत्वबारे फर्स्ट-ह्यान्ड सूचना पाउनु हुनेछ र यसलाई समर्थन गर्नुहुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीले ध्वस्त बनाउनुअघि तिब्बती संस्कृतिको सुन्दरतालाई जोगाउन पनि निकै आवश्यक छ।’

भारतले पनि तिब्बत-चीन द्वन्द्व समाधान हुन बाँकी रहेको भन्दै आएको छ। आईसीटीका अनुसार उनले नपाल सरकारसँग तिब्बती शरणार्थीको अवस्थाबारे छलफल गर्नेछन्। आईसीटीले जियाको भ्रमणका क्रममा तिब्बत मामिलाले महत्व पाउने र समस्या समाधानका लागि पहल हुने बताएको छ। यसअघि निर्वासनमा रहेको तिब्बती प्रशासनका प्रमुख पेन्पा छिरिङले वाशिङ्टन भ्रमणका क्रममा जियासँग भेट गरेका थिए। उक्त भ्रमणका क्रममा नै पेन्पाले जियालाई धर्मशाला भ्रमणको निमन्त्रणा दिएका थिए। यसअघि सन् २००२ मा तत्कालीन तिब्बत मामिला विशेष संयोजक जुलिया टाफ्टले धर्मशाला भ्रमण गरेकी थिइन्। त्यसपछि सन् २००६ मा उपमन्त्री पउला जे डोब्रियस्काइ, सन् २००९ मा मारिया ओटेरो र सन् २०१४ र २०१६ मा सारा सेवालले धर्मशाला भ्रमण गरेका थिए।

नेपालमा तिब्बत मामिला 

जियाले आफ्नो भ्रमण सुरु गर्नुअघि वैशाख २८ (११ मे) गते अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग भेट गरेकी थिइन्। उक्त भेटबारे तिब्बती मामिला विशेष संयोजकसमेत रहेकी जियाले ट्विटर गर्दै भनेकी छन्, ‘@nepalembassyusa राजदूत श्रीधर खत्रीसँग भेटेर लोकतन्त्र, महिला अधिकार र सबैका लागि समावेशीतालाई अगाडि बढाउन अमेरिका-नेपालको बलियो साझेदारीबारे छलफल गर्न पाउँदा खुसी लाग्यो।’

अमेरिकाले चीन अधिनायकवादी बन्दै गएको र तिब्बत, हङहङ र सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। बाइडेन प्रशासनले तिब्बती शरणार्थीको विषयलाई प्राथमिकतामा पनि राखेका छन्। यस्तो अवस्थामा हुन लागेको जियाको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि एमसीसीका विषयमा खुलेरै आलोचना गरेको चीनले जियाको भ्रमणलाई पनि नजिकबाट नियाली रहेको छ। यसअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ मुखपत्र ग्लोबल टाइम्ससँगको अन्तर्वार्ताका क्रममा भनेकी थिइन्, ‘नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्शाउने ‘बगैंचा’ हुनुपर्छ न कि नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन हुँदैन।’

 

अमेरिकी उपमन्त्री तथा तिब्बत मामिला विशेष संयोजक उज्रा जियासँग भेट गर्दै अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री।

 

नेपालमा हुने तिब्बती शरणार्थीका गतिविधिप्रति चीन निकै संवेदनशील छ। नेपालमा बेलाबखत भइरहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुनसक्ने घूसपैठप्रति चीनले संशय व्यक्त गर्ने गरेको छ। नेपाल ‘एक चीन नीतिप्रति प्रतिबद्ध’ भएको पटक-पटक बताइरहँदा पनि चीन विश्‍वस्त हुन नसकेको कुराहरु बेलाबखत आउने गरेका छन्।

यसअघि वैशाख ९ गते सिनेटर किर्स्टन जिलीब्रान्ड नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको थियो। तिब्बतको धर्मबारे अनुसन्धानकर्ता जिलिब्रान्डले नेपाल आउनुअघि निर्वासित तिब्बती नेता दलाई लामालाई समेत भेटेको वाशिङटन एक्जामिनर अनलाइनले जनाएको छ। यसअघि नेपालमा तिब्बती शरणार्थीको मुद्दालाई अमेरिकाले उचाल्न खोजेको देखिन्छ।

अमेरिकी उपमन्त्री जियाको नेपाल भ्रमणका क्रममा नेपालमा रहँदा ‘समिट फर डेमोक्रेसी’को यस वर्षको कार्यक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ। अमेरिकी विदेश मन्त्रालयले ९ मार्चमा सार्वजनिक गरेको ‘समिट फर डेमोक्रेसी : इएर अफ एक्सन’ को फ्याक्ट सिटको प्राप्त गर्नुपर्ने लक्ष्यमा ‘प्रजातन्त्रको डेलिभरी’ विषय उल्लेख गरिएको छ। चीन लोकतन्त्रका लागि खतराको रुपमा उदाइरहेको आरोपित गर्दै आएको अमेरिकाले तिब्बतमा प्रजातन्त्र पुनर्स्थापनाको वकालतसमेत गर्ने गरेको छ। अमेरिकी विदेश मन्त्रालयले उक्त फ्याक्ट सिटमा भनेको छ, ‘अमेरिकी सरकारले सन्देश र सार्वजनिक कूटनीति कार्यक्रमहरू मार्फत नागरिकहरूको लागि डेलिभर गर्ने लोकतन्त्रका उदाहरणहरू पहिचान र समर्थन गर्नेछ। साथै देशहरूले आफ्नो शिखर सम्मेलन प्रतिबद्धताहरूमा गरेको प्रगतिलाई हाइलाइट गर्नेछ।’

नेपालको तिब्बत मामिलामा अमेरिकी चासो बढ्नुमा पछिल्लो समय भएको चीनको उदय प्रमुख कारक रहेको संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि डा. दिनेश भट्टराई बताउँछन्। उनले भने, ‘अमेरिकाका लागि नेपालको महत्व चीन र त्यसमा तिब्बतलाई नियाल्ने झ्यालका रूपमा रहेको बताएका छन्। उनले भने, ‘नेपालमा अमेरिकाको चासो बढ्नुमा चीनको उदय एउटा मुख्य कारण हो। अमेरिका आफ्नै कतिपय कार्यक्रमहरूसहित नेपालमा संलग्‍न छ। दुई देशको सम्बन्ध लगभग एकैनासको भए पनि अहिले आएर चासो यसरी बढ्नु चाहिँ चीनको अभूतपूर्व उदय नै हो।’

अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुलाई परिचयपत्र दिनुपर्ने माग गरिरहेको छ। तर, ‘एक चीन नीति’मा कटिबद्ध नेपालले सन् १९९५ देखि तिब्बती शरणार्थीलाई परिचयपत्र दिन बन्द गरिसकेको छ। तिब्बती शरणार्थीलाई लिएर नेपालमा चीनको विशेष चासो छ। नेपाल सरकारले आफ्नो भूमिमा तिब्बतीहरुको कुनै पनि चीन विरोध कार्यक्रमलाई सम्पूर्ण राज्य संयन्त्र प्रयोग गर्दै रोक्दै आएको छ । साथै, नेपाल सरकारले आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने पटक–पटक प्रतिबद्धता दिइरहेको छ।

त्यसैगरी एसिया प्यासेफिक रिफ्यूजी नेटवर्कका पूर्वअध्यक्ष तथा मानवअधिकारकर्मी गोपालकृष्ण सिवाकोटीले पनि तिब्बती शरणार्थीमाथि अन्याय भइरहेको बताएका छन्। उनले भने, ‘सरकारले दुई मुलुकबीचको समस्या कूटनीतिक तवरबाट समाधान गर्नुपर्छ। तर, हरेक शरणार्थीहरुलाई मानवताको आधारमा समान व्यवहार गर्नुपर्छ। तिब्बती शरणार्थीहरुको संरक्षणले चीन चिढिन्छ भनेर उनीहरुमाथि हामीले अन्याय गर्नुहुँदैन। राजनीतिज्ञ र कर्मचारीतन्त्रको यस्तो मानसिकता परिवर्तन हुन आवश्यक छ।’

७५ औं वर्षगाँठमा ओइरिएको अमेरिकी भ्रमण

अमेरिकी विदेश मन्त्रालयका अनुसार उपमन्त्री जियासँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियालका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि भ्रमणको प्रतिनिधिमण्डलमा आउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। सरकारले यसअघि नै अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय यूएसएआईडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ मिलियन डलर अर्थात करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरिसकेको छ। यो अनुदान नेपालले विभिन्न क्षेत्रमा खर्च गर्ने गरी ५ वर्षभित्र पाउनेछ।

जियाको टोलीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यद्पि परराष्ट्र मन्त्रालयले भने जियाको नेपाल भ्रमणका विषयमा कुनै औपचारिक जानकारी भने दिएको छैन्।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाउन जुटेको सयमा जियाको उच्चस्तरीय भ्रमण हुन लागेको हो। यसअघि वैशाखको ९ देखि ११ सम्म सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा ५ सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो। वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गरेकी थिइन्। त्यसअघि नेपालले फागुन १५ मा एमसीसी अनुमोदन गर्नु अघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गरेका थिए। नेपाल–अमेरिकाको सन् १९४७ अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यसअघि सन् २००२ मा तत्कालिन विदेश मन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसयता त्यहि उच्चस्तरको अमेरिकी पक्षबाट नेपालमा भ्रमण हुन सकेको छैन। त्यसयता राजा महेन्द्रले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र (सन् १९८३ मा) ले एक पटक राजकीय भ्रणण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्रप्रमुखका रूपमा कसैले पनि अमेरिकाको भ्रमण गरेको छैन । सरकार प्रमुखको रूपमा भने शेरबहादुर देउवाले सन् २००२ मा प्रधानमन्त्रीको हैसियतमा भ्रमण गरेका थिए।

नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५, पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए। अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले दुई पटक (सन् २००७ र २००८) मा नेपालको भ्रमण गरेका थिए । उनी त्यस बेला कार्टर सेन्टरको फाउन्डरको रुपमा आएका थिए।

अमेरिकी उपराष्ट्रपति स्पाइरो एग्रेउले सन् १९७० मा नेपालको भ्रमण गरेका थिए। सन् १९७५ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी श्रीमति (फस्टलेडी) को हैसियतमा हिलारी नेपाल आएकी थिइन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कूटनीतिक सम्बन्ध ७५औं वर्ष पुगेको अवसरमा अमेरिकाबाट अझै उच्च तहको भ्रमण हुनसक्ने आँकलन गरिएको उल्लेख छ।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech