१४ बैशाख २०८१, शुक्रबार

प्रेस युनियनको ३१ औ स्थापना दिवसमा रक्तदान
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदाताले उत्साहजनक रुपले सहभागिता जनाएका छन् । नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रका अनुसार स्थानीय तहको निर्वाचनका कारण करिव एक महिनासम्म औपचारिक रुपमा रक्तदान कार्यक्रम हुन सकेका थिएनन् ।

आफ्नो स्थापना दिवसको अवसरमा प्रेस युनियन बाँकेले रक्तसञ्चार केन्द्र नेपालगन्जमा शुक्रबार आयोजना गरेको कार्यक्रममा दाताहरु उत्साहजनक रुपले सहभागी भएका हुन् । दिनभर चलेको रक्तदानमा ३८ जनाले रक्तदान गरेको युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।

‘छोटा समयको निमन्त्रणाका बीच पनि रक्तदाताको उल्लेख्य मात्रामा सहभागिता रह्यो, इच्छुक थुप्रै दाताहरु त कोही रक्तचाप घटबढ र उमेर नपुगेका कारण फर्किनु भयो,’ उनले भने ‘रक्तदान गर्न धेरैले इच्छुक हुनु भयो ।’

रक्तदान कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका थिए । सो क्रममा नगर प्रमुख विष्टले रक्तदान नै जीवन दान भएकाले यस्ता मानवीय कार्यलाई अझ ब्यापकता दिनुपर्नेमा जोड दिए ।

नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा प्रेस युनियनले गरेको रक्तदानले धेरै विरामीको ज्यान जोगिने उनको भनाई थियो । उक्त कार्यक्रममा पत्रकार, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, बिद्यार्थी, सर्बसाधारण लगायतले रक्तदान गरे ।

नेपालगन्जस्थित कैलपाल हस्पिटल एण्ड कलेजका बिद्यार्थीको पनि उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । उक्त कलेजका सञ्चालक रेवती सिंहको संयोजनमा बिद्यार्थीले रक्तदान गरेका थिए । नेपालगन्जमा रगतको चरम अभाव सिर्जना भइरहेका बेलामा प्रेस युनियनले गरेको रक्तदान कार्यक्रमले ठुलो राहत मिलेको रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

‘प्रायः सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदा रक्तदान सम्बन्धी कार्यक्रम भएनन्, जसले गर्दा रगतको अभाव चरम रुपमा भइसकेको थियो, यस्तो बेलामा आयोजना गरिएको रक्तदान कार्यक्रमले हामीलाई राहत प्रदान गरेको छ, प्रेस युनियनलाई म विशेष रुपले धन्यवाद दिन चाहन्छु, यस्ता कार्यक्रमहरु गरिरहन म सबै संघ, संस्था र निकायलाई अनुरोध गर्दछु,’ उनले भने ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech