१५ बैशाख २०८१, शनिबार

माकुराले जालो लाएको बुटवल धागो कारखानामा कहिलेदेखि बुनिएला धागो ?
  • न्युज मानसराेवर

बुटवल\संघीय सरकारको नयाँ बजेटमा २०६६ सालदेखि बन्द रहेको बुटवलको रामनगरस्थित बुटवल धागो कारखाना सञ्चालन गर्ने भनिए पनि यसको स्पष्ट खाका केही आएको छैन ।

बजेटमा अर्थमन्त्री जनार्दन शर्माले सरकारले उपयुक्त ढाँचामा चलाउने बताएका छन् । संसदमा बजेट पेश गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बुटवलको धागो कारखानालाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताए । तर, कारखाना पुनः सञ्चालनको स्पष्ट खाकाबारे भने बजेट मौन छ । जसले गर्दा यहाँका उद्योगी व्यवसायी यो उद्योग सहज तरिकाले सञ्चालन हुनेमा ढुक्क छैनन् ।

उनीहरु तत्कालका यो उद्योग सञ्चालन सम्भव नरहेको बताएका हुन् । रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले यथास्थितिमा उद्योग सञ्चालन चुनौतीपूर्ण रहेको बताए । बरु नयाँ मोडलबाट उद्योग सञ्चालन गर्न सकिने उनले सुझाए ।

धागो उद्योग रहेको स्थानलाई औद्योगिक क्षेत्रमा विस्तार गरेर नयाँ उद्योग सञ्चालन गर्नुपर्ने अध्यक्ष पौडेलको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले पुरानै मोडालिटीमा उद्योग सञ्चालन हुनै नसक्ने औंल्याए । उनले उद्योग सञ्चालन भइहाले पनि विवादरहित हुन नसक्ने ठोकुवा गरे ।

त्यस स्थानमा अन्य उद्योग चलाउन उनले सरकारलाई सुझाव दिए । ‘उद्योग सञ्चालनपछि सेयरधनीहरुले आफ्नो हक खोज्ने, कर्मचारीहरुले फेरि आन्दोलन गर्न सक्छन्’, अध्यक्ष कसजूले भने, ‘अरु उद्योग त्यहाँ चलाउनुपर्छ ।’

लामो समयदेखि उद्योग बन्द रहेकाले मेसिनहरु पुनः प्रयोग गर्ने अवस्थामा छैनन् । उद्योग पुनः चलाउने हो भने सबै मेसिनहरु खरिद गर्नुपर्ने बुटवल धागो कारखानाका निमित्त प्रमुख डोलराज शर्मा बताउँछन् ।

नेपालमा मात्र खपत गर्ने नभई विदेशमा समेत धागो निर्यात गर्ने उद्देश्यले ३ चैत २०३९ सालमा बुटवलको रामनगरमा बुटवल धागो कारखाना स्थापना गरिएको थियो । उद्योग स्थापना भएको ९ वर्षपछि २०४८ सालमा उद्योगले उत्पादन सुरु गरेको थियो । यो उद्योग २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो ।

धागो उत्पादन सुरु हुनासाथ उद्योग लोडसेडिङ र उद्योग व्यवस्थापनमा राजनीतिक हस्तक्षेपको शिकार बन्यो । परिणामतः बन्द हुने र पुनः सुरु हुँदै २०६६ साल असोज १ गतेदेखि उद्योग पूर्ण रुपमा बन्द भयो । उद्योग बन्द भएको करिब १३ वर्षपछि सरकारले उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालन गर्ने बताएको हो ।

१३ वर्षदेखि उद्योग बन्द हुँदा करोडौं मूल्यका मेसिन बिग्रिएका छन् । धागो बुन्ने उद्योगभित्र माकुराले जालो बुनेका छन् । भवन जीर्ण छन् । वर्षायाममा मेसिनमै पानी चुहिन्छ । उद्योग बुटवल औद्योगिक क्षेत्रभित्र १४३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

  • १७ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech