७ जेष्ठ २०८१, सोमबार

बाँकेका ट्रक व्यवसायीले भने–‘सरकारी रबैयाले अर्वौ लगानी धराशायी’
  • न्युज मानसराेवर

बाँके\बाँकेका ट्रक व्यवसायीहरुले आफ्नो व्यवसाय धराशायी भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सरकारकै कारण आफुहरु व्यवसायबाट पलायन हुने अवस्था आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गरएका हुन् ।

सरकारले व्यवसायीको सवालमा नीतिहरु बनाउन नसक्नु र बनाएका नीतिहरु पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवासायीहरु पलायन हुने अवस्था आएको नेपालगन्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्लले बताए ।

‘सरकार व्यवसायीमाथि निर्दयी भएकाले हामी आफ्ना ढुवानीका साधान थन्क्याउनु पर्ने अवस्थामा पुग्यौ उनले भने–‘हाम्रो जायजेथा राखेर गरिएको व्यवसाय आज निल्नु र ओकाल्नु जस्तै भएको छ ।’

राज्यको कर प्रणाली चुस्तदुरस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झनलगायतका कारण अर्वो लगानी रहेको ट्रक व्यवसायी पलायनको अवस्थामा पुगेका उनको भनाइ छ । इन्धन र गाडीका पाठपूर्जाको मूल्य बृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर वलीले आक्रोस पोखे ।

उनले भने–‘ढुवानी भाडा बढाउनु त परैको कुरा, सरकारले तोकेको ढुवानी भाडा समेत हामीले पाउन सकेनौं यो जस्तो दुखद् र विडम्वना अरु के हुन सक्छ ?’ पछिल्लो पटक सरकारले तराईमा प्रतिकिलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रतिकिलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन् ।

कम मूल्यमा आफुहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामाग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ । नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको सिद्द कैलाश ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए ।

‘घरखेत राखेर व्यवसाय गर्यौं उनले भने–‘सरकारको गैरजिम्मेवारका कारण आज घरपरिवार चलान नसक्ने अवस्थामा पुग्यौं ।’ ट्रक व्यवसायीहरुले चुंगी कर, सडक कर र गद्दी खर्च यावत हिसावले पीडित हुनु परेको दुखेसो सुनाए । उनीहरुले आयकर र अग्रीम करलाई व्यवहारिक बनाउन माग गरेका छन् ।

सरकार आफैले निर्धारण गरेको ढुवानी भाडा कार्यान्वयन नभएसम्म आफुहरु ढुवानीका साधन चलाउन नसक्ने अवस्थामा पुगेका छन् । बाँकेका पाँच वटा प्रालिले कार्यगत एकता गर्दै आगामी असार २ गतेदेखि ढुवानीका साधनहरु थन्क्याउने निष्कर्षमा पुगेको अध्यक्ष मल्लले बताए ।

भेरी ट्रान्सपोर्ट एशोसिएसन, भेरी अञ्चल ट्रक समिति, नेपालगञ्ज ट्रक प्रालि, कोहलपुर ट्रक प्रालि र सिद्द कैशाल ट्रक प्रालिले कार्यगत एकता गरेर सरकारी रवैयाविरुद्ध ढुवानीका साधान घरमै थन्क्याउने निष्कर्षमा पुगेका हुन् । बाँकेमा करिव एक हजार ट्रक व्यवसायी छन् ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech