१५ बैशाख २०८१, शनिबार

लघु उद्यम विकास कार्यक्रमको मौलिक अभ्यास
  • न्युज मानसराेवर

मेडेप वा मेडपा जे नामले पुकारे पनि यथार्थमा यो कार्यक्रम लघु उद्यम विकास कार्यक्रम नै हो । यसका मौलिक विशेषता धेरै छन्, जस्तो विपन्न वर्गका उद्यमी, महिला केन्द्रित कार्यक्रम, चरणबद्ध रूपमा औद्योगिक संस्कार निर्माण, स्वरोजगारी सृजना, प्राकृतिक स्रोतसाधनको दिगो र उच्चतम उपयोग, निर्वाहमुखी कृषिलाई उद्यममा रूपान्तरण, समावेशिता तथा सहभागितामूलक कार्यक्रम, सहयोगी निकायको साझेदारी तथा टेवा र मागमा अधारित उद्यम छनोट पद्धति आदि । यीमध्ये नितान्त मौलिक विषयमा मागमा आधारित उद्यमी तथा उद्यम छनोट पद्धति र चरणबद्ध रूपमा औद्योगिक संस्कार निर्माण पद्धति विशेष उल्लेखनीय छन् ।

मागमा आधारित उद्यमी तथा उद्यम छनोट पद्धति  
स्थानीय आधारभूत तहमा कार्यक्रम लैजाने, क्रममा यो कार्यक्रम मुख्य गरी न्यून मानव विकास सूचकांक, जनसंख्याको उच्चतम अनुपात, गरीबी तथा सामाजिक बहिष्करणमा परेका पालिका, सदरमुकामसम्म सडक पुगेका जिल्ला, न्यून महिला सशक्तीकरण सूचकांक भएका जिल्ला, औद्योगिक विकासमा पछि परेका सूचकांकमा आधारित सरकारी प्राथमिकता क्षेत्र, द्वन्द्वबाट बढी प्रभावित क्षेत्र आदिका आधारमा जिल्ला, पालिका र समुदाय छनोट गरिन्छ । तिनमा घरधुरी सर्वेक्षण र निर्धारित सामाजिक परिचालनको विधि अवलम्बन गरी उद्यमी पहिचान गरिन्छ । लक्षित जिल्ला वा पालिकाको स्रोतको सम्भाव्यता, लक्षितसमूहको चाहना, आवश्यकता र माग, स्थानीय बजारमा वस्तु र सेवाको माग र खाँचोको त्रिपक्षीय वस्तुस्थितिको अध्ययनका आधारमा हर उद्यमीका लागि सुहाउँदो उद्यम छनोट गर्ने गरिन्छ । उक्त अलगअलग तीन पक्षमा धेरै उद्योग पर्न सक्छन् । तर, तीनै पक्षमा समेटिने साझा उद्यम थोरै हुन्छन् । ती सम्भाव्य उद्यम हुन् । तीमध्ये कार्यक्रमभित्र परेको र उद्यमीको बढी लगाव भएको उद्यम छनोटमा पर्छ । यसरी छोटो र छरितो विधिबाट सम्भाव्य उद्यम छनोटको पद्धति अपनाइन्छ ।

यो कार्यक्रम लक्षित समुदायमा स्थानीय स्तरको स्रोतका आधारमा स्थानीय समुदायको तथा स्थानीय बजारको मागमा आधारित रहेर छनोट गरी सञ्चालन गर्ने रणनीतिअनुसार अगाडि बढाउँदै आइएको छ । त्यसकारण मेडेप ढाँचा (मोडेल) का रूपमा विकसित भएको यो कार्यक्रम मेडपाको मागमा आधारित पद्धतिका रूपमा सञ्चालनमा रहेको छ ।

चरणबद्ध रूपमा औद्योगिक संस्कार निर्माण पद्धति यसलाई लघु उद्यम विकास कार्यक्रमको कार्यान्वयन पद्धति पनि भन्न सकिन्छ । यस पद्धतिमा आफ्नै किसिमको मौलिकता रहेको छ । यसकोे कार्यान्वयन गर्दा जम्मा ६ ओटा चरणलाई अवलम्बन गरिएको छ ।

पहिलो चरण सामाजिक परिचालन हो । लघु उद्यमी सृजनाका लागि सामाजिक परिचालन प्रस्थान विन्दु हो । उद्यम विकास सहजकर्ताले घरधुरी सर्वेक्षण, सहभागितामूलक ग्रामीण लेखाजोखा, बजार सम्भाव्यता विश्लेषण र गरीबीको स्तर नक्सांकनमार्फत सम्भाव्य लक्षितसमूहको र घरधुरीको पहिचान गर्छन् । यसरी पहिचान गरिएका व्यक्तिहरूलाई लघु उद्यम विकाससम्बन्धी अभिमुखीकरण गराई व्यावसायिक निष्ठाप्रति आकर्षित गरिन्छ । यही सामाजिक परिचालनका बेला लघु उद्यमीहरूलाई उनीहरूकै सहकारीमा वा अन्य समूहमा आबद्ध पनि गरिन्छ र अग्र चरणका कार्यक्रमहरू यथासम्भव समूहगत रूपमा सञ्चालन गरिन्छ ।

दोस्रो चरण उद्यमशीलता विकास हो । सम्भाव्य लक्षितसमूह पहिचान गरिसकेपछि सम्भाव्य उद्यमीहरूलाई उद्यमशीलताको शीप प्रदान गरिन्छ । यसअन्तर्गत लगानी, उत्पादन, श्रम, ज्याला, मूल्य, नाफा पूँजी, स्थिर पूँजी, चालू पूँजी, सञ्चालन खर्च, ऋण, ब्याज, क्रय मूल्य, विक्रय मूल्य आदि अवधारणा सम्पोषित गर्दै निष्ठावान् उद्यमीले पालना गर्नुपर्ने प्रमुख सिद्धान्त तथा मान्यताहरूबाट अविचलित गर्न ‘लघु उद्यम सृजना र विकास गर्नुहोस् अनि आफ्नो व्यवसाय शुरू गर्नुहोस् र सुधार गर्नुहोस्’ भन्ने नारासहितका टोपे, टोसे, टोए, टोजे अदि ढाँचाका उद्यमशीलता तालीमहरू दिइन्छ । यी तालीमले उद्यमी भएपछि अनुसरण गर्ने अवधारणा, मूल्यमान्यता र संस्कारको विकास गर्छन् ।

तेस्रो चरण प्राविधिक शीप विकास हो । छनोटमा परेका लघु उद्यमको आवश्यकता अनुसार सम्भाव्य उद्यमीहरूलाई व्यावसायिक तालीम प्रदान गरिन्छ । फरकफरक उद्यमहरू सञ्चालनका लागि फरकफरक किसिमका शीपको खाँचो पर्छ जस्तो सेरामिक्स र फलफूल प्रशोधन व्यवसाय सञ्चालनमा उही शीपले काम दिँदैन । छनोटमा परेका प्रत्येक उद्योगमा आबद्ध भएका अलगअलग उद्यमीहरूका लागि सोहीअनुसारको प्राविधिक शीप विकास तालीम दिइन्छ ।

चौथो चरण लघु ऋणमा पहुँच हो । यसका दुई पक्ष छन् । पहिलो हो, लघु ऋणको स्रोतको पहिचान र दोस्रो त्यस स्रोतसमक्ष उद्यमीको पहुँच । उद्यम विकास कार्यक्रमका सहजकर्ताले यी दुवै प्रयोजनका लागि उद्यमीलाई सहजीकरण गर्छन् । हाल लघु ऋणका स्रोत संस्थाका रूपमा उद्यमीको ऋण तथा बचत कार्यक्रमको अतिरिक्त विभिन्न ऋण तथा बचत सहकारी संस्था, विकास बैंक र वाणिज्य बैंकसमेत रहेका छन् । मुख्य समस्या चर्को ब्याजदर, छोटो भुक्तानी अवधि र विपन्नका लागि धितो रहेको छ । प्राविधिक शीप प्राप्त गरिसकेका सम्भाव्य उद्यमीहरूलाई उनीहरूले तयार पारेको व्यावसायिक योजनाअनुसार आवश्यक रकमका लागि लघु वित्त संस्थाहरूसँग सम्बन्ध स्थापना गर्न सहजीकरण गर्छ । यस्तो सहजीकरणका लागि उद्यम विकास सहजकर्ताले आफ्नो भूमिका निर्वाह गर्छन् ।

पाँचौं चरण उपयुक्त प्रविधिमा पहुँच हो । उपयुक्त प्रविधि भन्नाले प्रयोगकर्तामैत्री, बढी दक्ष र बढी प्रभावकारी प्राविधिक शीपहरू, उपकरण तथा मेशिनरीलाई जनाउँछ । साथै, यसलाई उद्यमीहरूले सजिलैसँग सञ्चालन र सम्भार गर्न सक्ने, सजिलै उपलब्ध हुने र कम लागत भएका उपकरण मेशिन वा औजारको पहुँचका रूपमा पनि लिइन्छ । उपयुक्त प्रविधि दुई सोतबाट उपलब्ध हुँदै आएको छ– पहिलो स्थानीय वा अन्तरराष्ट्रिय बजारमा खरीद गरेर र दोस्रो स्थानीय परम्परागत प्रविधिलाई स्थानीय आरन, कारीगरी वा यन्त्रशालाको मद्दतले समसामयिक सुधार र परिमार्जन गरेर । वातावरणीय पक्षलाई यस चरणमा र उद्यम सञ्चालनको क्रममा विशेष ध्यान दिइन्छ । उद्यमीहरूका लागि उपयुक्त प्रविधिको सहजीकरण पनि उद्यम विकास सहजकर्ताले नै गर्छन् ।

छैटौं चरण बजारीकरण र व्यवसाय परामर्श हो । यसअन्तर्गत लघु उद्यमीहरूलाई स्थानीय व्यापारीसँग, बजारकेन्द्रसँग र सानादेखि ठूला व्यवसायसँग सम्बन्ध कायम गर्न, उत्पादित वस्तुहरूको मूल्य निर्धारण गर्न, वर्गीकरण गर्न, लेबलिङ गर्न, र व्यापार चिह्न (ब्रान्डिङ) प्रयोग गर्न सहयोग पुर्‍याउनेजस्ता क्रियाकलाप पर्छन् । साथै, यसमा विक्री कक्ष खोल्न, कोसेलीघरसँग सम्पर्क स्थापित गर्न, गुणस्तर व्यवस्थापन गर्न र प्रदर्शनीहरू आयोजना गर्न वा सहभागिता जुटाउनसमेत सहयोग पुर्‍याइन्छ । यसको सहजीकरण पनि उद्यम विकास सहजकर्ताले नै गर्छन् ।

लघु उद्यम कार्यक्रमको महत्त्व
नेपालको औद्योगिक विकासको इतिहासमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको महत्त्ववा उपादेयता तथा उपलब्धि निकै गहन रहेको छ । औद्योगिक संस्कार निर्माण, स्वरोजगारी सृजना, लक्षितसमूहको गरीबी निवारण, महिला विकास, प्राकृतिक स्रोतसाधनको दिगो र उच्चतम उपयोग, निर्वाहमुखी कृषिलाई उद्यममा रूपान्तरण, समावेशी र सहभागिता मूलक विकासमा टेवा प्रमुख उपलब्धि हुन् ।

पैंचो, पर्म, सरसापटी, सहयोग, दानदातव्य नेपाली ग्रामीण समाजका मौलिक व्यवहार हुन् । यस्ता व्यवहारहरूको छुट्टै सामाजिक तथा सांस्कृतिक महत्त्वछ । तर, उद्योग तथा व्यापार सञ्चालन गर्दा भने यस्ता व्यवहार प्रायः व्युत्पादक नै हुन्छन् । सम्भावित लघु उद्यमीहरूलाई यस्ता कुराहरूको धङ्धङीबाट सजग गराई तथा व्यावसायिक शीप, प्रविधिक शीप, कच्चा पदार्थ, लगानी, उत्पादन, खरीद, विक्री, मुनाफा, खातापाता, स्थिर पूँजी, क्षमता, सञ्चालन खर्च, पूँजीगत खर्च आदि जस्ता शब्द र व्यवहारसँग सुपरिचित बनाई नयाँ औद्योगिक संस्कार निर्माण गर्नु निकै चुनौतीपूर्ण काम हो । तर, लघु उद्यम विकास कार्यक्रमको सिद्धान्त, दर्शन, पद्धति तथा त्यहाँ खटेका जनशक्तिको त्याग, मेहनत र सहकार्यबाट ती अशिक्षित तथा अल्पशिक्षित लक्षितसमूहको औद्योगिक संस्कार निर्माण सम्भव भएको हो ।

लक्षितसमूहले आफ्नो जीविकोपार्जनका लागि आफैले स्वरोजगारी सृजना गरी आय आर्जन गर्न सक्ने गराउन लघु उद्यम विकास कार्यक्रम धेरै हदसम्म सफल रह्यो । साँचै भन्ने हो भने लक्षितसमूहको शुरूको हैसियत अदक्ष बेरोजगार वा अर्ध बेरोजगार कामदारको भन्दा बढी केही पनि थिएन । तर, तिनीहरूलाई सेवाप्रदायकले अनवरत पेशागत तालीम, शीप विकास तालीम र अभ्यास गराएर आफू र आफ्नो परिवारका लागि भरपर्दो रोजगारदाताका रूपमा लघु उद्यमीको दर्जामा पुर्‍याएको हो । तेस्रो पक्षले गरेको कार्यक्रमको दोस्रो मध्यावधि मूल्यांकन प्रतिवेदनअनुसार लघु उद्यमीहरूको आन्दानी २४० प्रतिशतले वृद्धि भएको छ । यसबाट लक्षितसमूहको गरीबी निवारणमा सहयोग नपुग्ने कुरै भएन यद्यपि मुलुको समग्र गरीबी निवारणमा यो परिवर्तन निकै सानो अंश हुन सक्छ ।

महिला सहभागिता र विकासका हिसाबले यो कार्यक्रम अब्बल देखिएको छ । शुरूका चरणहरूमा यस कार्यक्रमले महिला सहभागिता ७० प्रतिशत राख्ने लक्ष्य लिएर अगाडि बढेको थियो । तर, ६६ प्रतिशतभन्दा बढी पुर्‍याउन नसके पनि यो सहभागिता कम होइन । नेपाल सरकारले आन्तरिकीकरण गर्नुअगाडि ५२ प्रतिशतभन्दा कम महिला सहभागिता कहिल्यै रहेन । महिला सहभागिता बढाउन कार्यक्रमले कैयन् रणनीतिक अवलम्बन गरेको थियो, जस्तो महिला सुविधाहरूको पहिचान, बाल स्याहारको व्यवस्था, सबै कर्मचारी र समूहका प्रशिक्षारत उद्यमीहरूलाई लैंगिक सचेतना तालीम, महिला समस्या र बाधा व्यवधान केन्द्रित अध्ययन आदि । लैंगिक सचेतना र महिला सहभागिताको यो नमूना कार्यक्रम नै थियो ।

यस कार्यक्रमले लक्षितसमूहलाई प्राकृतिक स्रोतसाधनको दिगो र उच्चतम उपयोग गर्न सिकायो । छानिएका अधिकांश उद्योग प्राकृतिक स्रोतसाधन अर्थात् कृषि र वनमा आधारित थिए । खेर जाने काठपात र जराजुरीबाट कसरी कलात्मक सजावटका सामान तयार गर्ने, कसरी खेर गइरहेका सिस्नु आदि वनस्पतिका रेसाबाट निर्यातयोग्य सामग्री तयार पार्ने, कसरी चोया चित्राबाट परम्परागतभन्दा भिन्न आकर्षक वस्तु तयार गरी बजारमा पठाउने, बीउबिजनको प्राकृतिक प्रसारण र निरन्तरता कायम रहने कसरी र कुन बेला बाली लिने आदि प्राकृतिक स्रोतसाधनको दिगो र उच्चतम उपयोगबारे कार्यक्रमले उद्यमीलाई सजग गराएको पाइन्छ । त्यस्तै कृषि उत्पादनको परम्परागत निर्वाहमुखी पद्धतिलाई रूपान्तरण गरी बजारमुखी, उद्योगमुखी गराएको र ग्रामीण कृषि पर्यटनमा समेत सघाएको पाइन्छ ।

समावेशी र सहभागितामूलक विकासको संस्कार निर्माण गर्ने सम्भवतः यो अगुवा कार्यक्रम नै थियो । लघु उद्यम विकास कार्यक्रमका लक्षितसमूहमा प्रथम चरणदेखि नै विपन्न अवस्थाका महिला, दलित र आदिवासी जनजाति रहेका छन् । यिनको ऐतिहासिक विवेचना नै गर्ने हो भने यी परम्परादेखि नै व्यावसायिक कलाकौशल भएका सृजनशील समूह पनि हुन् । यिनीहरू नै लक्षित वर्गमा आउनु स्वाभाविक नै छ । पछिल्ला चरणका कार्यक्रममा मधेशी–मुस्लिम र द्वन्द्वपीडित युवा पनि थपिएका हुन् । यो पनि न्यायोचित नै छ । यी समूहको सहभागिता बढाई समावेशी र सहभागितामूलक विकासमा टेवा पुर्‍याउन कार्यक्रमले गहन प्रयास गरेको देखिन्छ र शीप नभएकालाई शीप सिकाउँदै तथा सम्भावना भएका तर अवसर नपाएकाहरूलाई उद्यमी बनाएको छ र व्यक्तिभित्र रहेको आन्तरिक क्षमता, प्रतिभा, सृजनशीलता र सम्भाव्यतालाई प्रस्फुटित गरेको छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् । 

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech