बुटवल\ स्थानीय तहको मौलिक पर्व वा विशेष परिस्थतिमा स्थानीय तहले बिदा दिँदै आएका छन्। तर, रूपन्देहीको एउटा स्थानीय तहले भने पालिका उपाध्यक्षको एक नातेदारको निधनमा पनि सार्वजनिक बिदा दिएको छ।
भारतीय सीमासँग जोडिएको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा सार्वजनिक सूचना टाँसेरै बिदा दिएको हो। गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गर्दै गाउँपालिका उपाध्यक्ष सिंहका नाताले देवर पर्नेको सवारी दुर्घटनामा परी निधन भएकाले मृतकप्रति श्रद्धान्जली दिदै कार्यालय बन्द रहेको बताएका हुन्।
स्थानीय तहलाई कुनै पर्व विशेषमा बिदा दिन पाउने अधिकार छ। तर जनप्रतिनिधिका आफन्तको निधनमा सेवाग्राहीलाई मर्का पर्ने गरी कार्यालय बन्द गरिएपछि स्थानीयले विरोध गरेका छन्। पालिकाको बिदासम्बन्धी सूचना प्रमुख प्रशासकीय अधिकृतले जारी गर्नुपर्ने हो। तर मर्चवारी गाउँपालिकामा भने पालिका अध्यक्ष बरईले हस्ताक्षर गरेका छन्।
‘मर्चवारी गाउँपालिका रायपुर रूपन्देहीको नवनिर्वाचित उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको असार ५ गते आइतबार दुर्घटनामा परी अल्पायुमा स्वर्गारोहण भएकाले निजको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौं। यस दुखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौं। साथै, असार ५ गतेका दिन पालिका कार्यालयलगायत सम्पूर्ण वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय तथा अन्य संघ-संस्थासमेत बन्द रहने बेहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ।
सूचनामा उपाध्यक्षका देवरको नाम भने उल्लेख गरिएको छैन। पालिका अध्यक्ष बरईले गाउँपालिका उपाध्यक्षका देवरको निधन हुँदा जनप्रतिनिधि र कार्यालयका सबै कर्मचारीसमेत अन्त्येष्टिमा जानुपर्ने भएकाले बिदा दिइएको दाबी गरेका छन्।
‘दिउँसो १ बजेसम्म कार्यालय खुला नै थियो। बाँकी रहेको समय समवेदनास्वरूप कार्यालय बन्द गर्ने गरी सूचना जारी गरिएको हो,’ बरईले भने, ‘समवेदनाका हिसाबले ठीकै भएको भन्ने लाग्छ।’जनप्रतिनिधिका आफन्त बितेपछि सार्वजनिक बिदा दिएकामा विरोध सुरु भएको छ।











