२२ भाद्र २०८३, सोमबार

कोहलपुरमा गिद्ध संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर, बाँके । गिद्ध संरक्षणका लागि स्थानीय सरकार, समुदाय, पशु चिकित्सक, भेटेरिनरी सञ्चालक तथा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्।

१८औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस–२०२६ को अवसरमा सोमबार कोहलपुरमा गिद्ध संरक्षणसम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

नेपाल पंछी संरक्षण संघको आर्थिक सहयोग तथा वातावरण तथा ग्रामीण विकास केन्द्र, बाँकेको सहजीकरणमा आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष धर्मलाल रोकायाले गिद्ध संरक्षणका लागि स्थानीय सरकार र समुदायसँगै विशेषगरी भेटेरिनरी सञ्चालक तथा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए।


रोकायाले पशु उपचारमा प्रयोग हुने औषधिका विषयमा भेटेरिनरी सञ्चालक तथा पशु चिकित्सकहरू सचेत हुनुपर्नेमा जोड दिए। गिद्ध संरक्षणसम्बन्धी जनचेतना फैलाउन पत्रकार तथा सञ्चारमाध्यमको भूमिका पनि प्रभावकारी हुने उनको भनाइ थियो।


कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत उत्तम कुमार  चौधरीले वन्यजन्तु संरक्षण नै निकुञ्जको प्रमुख दायित्व भएकाले गिद्ध संरक्षणमा समेत बाँके राष्ट्रिय निकुञ्ज प्रतिबद्ध रहेको बताए।

उनले गिद्धलगायत संकटापन्न वन्यजन्तुको संरक्षणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
बाँकेमा गिद्धको अवस्थाबाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सन् २०२४ मा गरिएको सातदिने चरासम्बन्धी सर्वेक्षणमा १७९ प्रजातिका चरा अभिलेख गरिएको थियो।

उक्त सर्वेक्षणमा संकटापन्न राज गिद्ध (Red-headed Vulture) एक वटा अभिलेख गरिएको थियो।
यसअघि सन् २०२० को गिद्ध गणनामा बाँकेमा तीन वटा डंगर गिद्ध अभिलेख गरिएको तथ्यांक छ। त्यस्तै, बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको व्यवस्थापनसम्बन्धी अभिलेखमा सेतो गिद्ध २, डंगर गिद्ध ९, हिमाली गिद्ध १ र खैरो गिद्ध ९ वटा अभिलेख गरिएको उल्लेख छ।गिद्धले मरेका जनावरको सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसलाई प्रकृतिको कुचीकार समेत भनिन्छ।

गिद्धको संरक्षणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै जनस्वास्थ्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले यसको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय समुदाय, सरोकारवाला निकाय, पत्रकार तथा पशु स्वास्थ्य र भेटेरिनरी क्षेत्रका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण नेपाल पंछी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले गरेका थिए।

  • २२ भाद्र २०८३, सोमबार प्रकाशित

  • Nabintech