बाँके\बाँकेको कोहलपुरमा पहिलोपटक छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको छ । परम्परागत तथा मौलिक खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामाझ यसको पहिचान स्थापित गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीको पहलमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी खेलाडीमध्ये धिरेन्द्र विष्टले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभयो । सोही प्रकारले चित्र विक द्वितीय, गोविन्द केसी तृतीय तथा शिशिर देवकोटाले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने विष्टलाई नगद ५ हजार रुपियाँ, द्वितीय हुने विकलाई ३ हजार रुपियाँ, तृतीय हुने केसीलाई २ हजार रुपियाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने देवकोटालाई १ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले छेलो नेपालका विभिन्न क्षेत्रमा परम्परागत रूपमा खेलिँदै आएको मौलिक खेल भए पनि पछिल्लो समय यसको अभ्यास र लोकप्रियता घट्दै गएको अवस्थामा कोहलपुरमा प्रतियोगिता आयोजना गर्नु सुखद भएको बताउनुभयो ।
उहाँले स्थानीयस्तरमा यस्ता प्रतियोगिताले परम्परागत खेलको संरक्षणसँगै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति र खेलकुद परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष योगीले कोहलपुरमा पहिलोपटक आयोजना गरिएको छेलो प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । छेलो खेलले नेपालको मौलिक पहिचान र ऐतिहासिक महत्व बोकेको उल्लेख गर्दै उहाँले बाँकेमा पनि यसको सुरुवात हुनु सकारात्मक भएको जनाउनुभयो ।
प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित र व्यापक बनाउँदै लैजाने र स्थानीयस्तरमा मौलिक खेलको संरक्षणका लागि गरिएको यो पहलले कोहलपुरमा नयाँ खेल संस्कृतिको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।









