१४ बैशाख २०८१, शुक्रबार

योजना बनाउँदै नेपालगन्ज उपमहानगरपालिका
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्ज उपमहानगरपालिका कार्यालय आर्थिक विकासका लागि योजना निर्माणमा जुटेको छ । आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।

सो कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । ‘अबदेखि नेपालगन्जमा रणनीतिक र योजनावद्ध हिसावले काम अघि बढाइनेछ,’ विष्टले भने, नेपालगन्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ ।’

नगर प्रमुख विष्टले नेपालगन्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहाँ हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले आगामी आर्थिकवर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैमा महत्वपूर्ण उपलब्धी भएको बताए ।

कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुने खालका हुनुपर्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।

  • ५ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech