१५ बैशाख २०८१, शनिबार

पर्यटकलाई पर्यावरणको जानकारी दिन होमस्टेका यूवालाई नेचर गाइड तालिम
  • न्युज मानसराेवर

बाँके\ बाँके र बर्दियामा संचालनमा रहेका होमस्टेका २२ जना यूवालाई आधारभूत नेचर गाइड तालिम दिन थालिएको छ । गाभर भ्याली होमस्टेसँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय, बाँकेले बाँके र बर्दियाका होमस्टेका २२ जना यूवालाई पाँच दिने आधारभूत नेचर गाइड तालिम दिन थालेको पर्यटन डिभिजन कार्यालयका योजना अधिकृत पुष्कर सिंह ठकुरीले बताए ।

उनले लुम्बिनी प्रदेशमा धार्मिक र पर्यावरण पर्यटनको सम्भावना रहेको बताउँदै उनले बाँके र बर्दियामा पर्यावरण पर्यटनको सम्भावना औँल्याए । उनले बाँक र बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरि नेचर गाइड तालिम आयोजना गरिएको बताए । ‘तालिममा सहभागी प्रशिक्षार्थीलाई बाँके र बर्दिया निकुञ्जमा पाइने चराचुरुङ्गी, सर्प, जनावर र बनस्पतीको महत्वको बारेमा जानकारी दिइने छ,’ उनले भने ।
तालिममा सर्प, चराचुरुङ्गी र जनावर विज्ञले प्रशिक्षण दिने भएका छन् । पर्यटन सम्बन्धि जनशक्ति उत्पादन गरि पर्यापर्यटनको विकास गर्न तालिमको उद्देश्य रहेको उनले बताए ।

बैजनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष रुपबहादुर मल्लले होमस्टेमा आएका पर्यटकलाई सुरक्षित महशुस गराउने दायित्व यूवाको भएको बताए । उनले पर्यापर्यटनको विकास गर्नसके विदेश पलायन हुने यूवालाई स्वदेशमा रोक्न सकिने धारणा राखे । ‘होमस्टेमा आएका पाहुनाले सुरक्षित महशुस गरे फेरि पनि आउने र यसले पर्यटनमा थप टेवा पुग्ने देखिन्छ,’ उनले भने ।

होमस्टे महासंघका महासचिव कृष्णलाल चौधरीले होमस्टेमा आउने पर्यटकलाई स्थानीय स्तरमा पाइने चराचुरुङ्गी, बनस्पती तथा जनावरको विशेषताको बारेमा जानकारी गराउन सके थप आकर्षित गर्न सकिने बताए ।

उनले बाँके र बर्दियामा पर्यापर्यटनको सम्भावना अत्यधिक रहेको बताउँदै पर्यटकलाई तान्नसके प्रशस्त आम्दानी गर्न सकिने धारणा राखे । ‘पर्यावरणका बारेमा जानकारी गराउन सकेमा पर्यटकलाई आकर्षित गरि आम्दानीको श्रोत बढाउन सकिने सम्भावना छ,’ उनले भने । तालिम उद्घाटन कार्यक्रममा नेचर गाइड एशोसियशन, बाँके अध्यक्ष भीमबहादुर डाँगी लगायतको सहभागिता रहेको थियो ।

  • १० असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech