२८ आश्विन २०८१, सोमबार

गहना निर्यात ४० प्रतिशतले बढ्यो
  • न्युज मानसराेवर

बाँके\ चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालबाट ४८ करोड ३२ लाख रूपैयाँ बराबरको सुनको गरगहना निर्यात भएको छ । नेपालबाट गत आर्थिक वर्षदेखि सुनको गरगहना निर्यात हुन थालेको हो, जुन पछिल्लो समय बढ्दै गएको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा यसको निर्यात ४० प्रतिशत बढेको छ । पोहोर यसै अवधिमा ३४ करोड ५१ लाख रूपैयाँको सुनका गरगहना निर्यात भएको थियो । यसपालि १३ करोड ८१ लाख रूपैयाँ बढी अर्थात ४८ करोड ३२ लाख रूपैयाँ बराबरको गहना निर्यात भएको तथ्यांकमा उल्लेख छ । परिमाणका आधारमा ५५ केजी ५१४ ग्राम बराबरको सुनका गरगहना निर्यात भएको छ ।

भन्सार विभागले हार्मोनिक कोड उपलब्ध गराएपछि गत आर्थिक वर्षदेखि सुनका गरगहना निर्यात हुन थालेको हो । सुनका गरगहना निर्यात पछिल्लो समय बढ्दै गएको व्यावसायी बताउँछन् ।

तथ्यांकअनुसार नेपालबाट अमेरिका, अस्ट्रेलिया र हङकङमा सुनका गरगहना निर्यात भएको छ । यी तीन मुलुकमध्ये अमेरिकामा सबैभन्दा बढी निर्यात भएको छ ।

समीक्षा अवधिमा अमेरिकामा ४१ करोड १६ लाख रूपैयाँको गहना निर्यात भएको छ । यस्तै, हङकङमा ५ करोड २७ लाख र अस्ट्रेलियामा १ करोड ८८ लाख रूपैयाँको गहना निर्यात भएको तथ्यांकमा उल्लेख छ ।

यसअघि नेपालबाट आर्थिक वर्ष २०७२/७३ मा चीनमा १५ लाख १६ हजार रूपैयाँ बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि पनि नगन्य मात्रामा सुनका गरगहना निर्यात भएको हुन सक्ने व्यवसायी बताउँछन् । तर, गत आर्थिक वर्षदेखि भने सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको व्यावसायीको भनाइ छ ।

पछिल्लो समय अमेरिका, हङकङ तथा अस्ट्रेलियाजस्ता मुुलुकमा नेपालीको बसोबास बढ्दै गएको छ । उनीहरूबाटै सुनका गरगहना माग हुने गरेको छ । उनीहरूबाट नेपाली परम्परागत शैली र नेपाली डिजाइनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारी बताउँछन् ।

गैरआवसायी नेपालीहरूले विदेशमा नबन्ने गरगहना माग गर्छन् । विदेशमा नबन्ने तिलहरी, चुराजस्ता नेपाली मौलिक गरगहना उनीहरूबाट माग हुन्छ । कतिपय व्यावसायीले विदेशमा रहेका व्यावसायीसँग सम्पर्क गरेर पनि नेपालका मौलिक गरगहना निर्यात गर्दै आएका छन् ।

  • २६ असार २०७९, आईतवार प्रकाशित

  • Nabintech