८ बैशाख २०८१, शनिबार

चिनियाँ पर्यटक आगमन उत्साहजनक: तथ्यांक भन्छ, २५० प्रतिशतभन्दा धेरैले बढ्यो
  • न्युज मानसराेवर

बाँके\ कोभिड–१९ महामारीसँगै ठप्प हुन पुगेको चिनियाँ पर्यटक आगमन पछिल्लो समय उत्साहजनक ढंगले बढ्न थालेको पाइएको छ । गत जुलाईमा जुनको तुलनामा २५० प्रतिशतभन्दा धेरैले चिनियाँ पर्यटकको आगमन बढेको तथ्यांक सार्वजनिक भएको हो । गएको जुनमा ४५१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जुलाईमा बढेर १ हजार ५९३ पुगेको छ । यसपालि जुलाईको आगमन कोरोना महामारी शुरू हुनुअघिको जुलाईको तुलनामा भने ८५ दशमलव ३ प्रतिशतले कम हो । सन् २०१९ को जुलाईमा १० हजार ८०८ चिनियाँ नेपाल आएका थिए ।

चीनले कोरोना संक्रमण रोक्नका लागि गरेको बन्दाबन्दी खुकुलो गर्न थालेसँगै चिनियाँहरू विदेश भ्रमणमा निस्कन थालेका हुन् । यद्यपि चीनका केही शहरहरूमा अझै बन्दाबन्दी कायम छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दक्षिणी पर्यटकीय शहर सान्या, नोवेल कोरोना भाइरसको उद्गमस्थल वुहानलगायत बन्दाबन्दीमा छन् ।  तर, लगभग सबै चिनियाँले कोरोनाविरुद्ध खोप लगाइसकेकाले यो बन्दाबन्दी शुरूताकाको जस्तो कठोर नहुने अनुमान गरिएको छ । नेपालमा चिनियाँ र भारतीय पर्यटकको आगमनलाई अर्थपूर्ण मानिन्छ । पर्यटन क्षेत्रको दिगो प्रगतिका लागि भारतीय र चिनियाँ पर्यटकले अरूले भन्दा बढी योगदान गर्ने यस क्षेत्रका व्यवसायी बताउँछन् ।

चीन र भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएका मुलुक हुन् । चीनको जनसंख्या १ अर्ब ४० करोड हाराहारी छ । नेपाल आउन भिसा नचाहिने भारतको जनसंख्या पनि चीनकै हाराहारी छ । यी दुवै मुलुकका नागरिक वर्षेनि करोडौंको संख्यामा विदेश घुम्न निस्कन्छन् । भारत र चीनबाट विदेश घुम्न निस्कनेको सानो अंश मात्रै नेपाल ल्याउन सके पनि नेपाली पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्ने
बताइन्छ । कतिपय जानकारहरू त भारतीय र चिनियाँ पर्यटक ल्याउन सके अन्य मुलुकका नआए पनि फरक नपर्ने बताउँछन् ।

चिनियाँ र भारतीय पर्यटकका लागि नेपाल नजिकको र कम खर्चिलो गन्तव्य पनि हो । यी दुवै मुलुकबाट खर्चालु पर्यटक पनि उल्लेख्य संख्यामा विदेश घुम्न जान्छन् ।  यस वर्ष ७ महीना (जनवरी–जुलाई) को पर्यटक आगमनले गतवर्ष सन् २०२१ को कुल आगमनलाई पनि उछिनेको छ । सन् २०२१ को वर्षभरिको तुलनामा २०२२ को ७ महीनाको आगमन झन्डै ५३ प्रतिशतले बढी भएको तथ्यांक नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको हो ।

सन् २०२२ को शुरूदेखि नै पर्यटक आगमनमा देखिएको सुधारका कारण ७ महीनामा हवाईमार्गबाट मात्रै २ लाख ८५ हजार ३६३ विदेशी नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा स्थल र हवाई दुवै मार्गबाट गरी १ लाख ५० हजार ९६२ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना भाइरसको संक्रमण दर र घातकपन कम हुँदा विश्वभर पर्यटक आवागमनमा सुधार देखिएको छ । यसपालि जुलाईको आगमन सन् २०२० को वर्षभरको भन्दा पनि बढी हो । कोरोना भाइरसको शुरुआती वर्ष मानिने २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएका थिए ।

बोर्डको तथ्यांकअनुसार यस वर्ष जुलाईमा मात्रै ४४ हजार ४६२ पर्यटक आएका छन् । यसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण शुरू हुनुपूर्वकै अवस्थामा पर्यटक आउन थालेको पुष्टि गर्छ । सन् २०१९ को जुलाईमा मात्रै नेपालमा ५८ हजार ८११ पर्यटक आएका थिए । बोर्डले उक्त अवधिसँग तुलना गर्दा ७५ दशमलव ६ प्रतिशतले पर्यटक आगमनमा सुधार देखिएको उल्लेख गरेको छ ।

पर्यटक आगमनका लागि यो अवधि अफ सिजन मानिए पनि तुलनात्मक रूपमा सकारात्मक मान्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् । सन् २०२२ पछि पर्यटक आगमनमा सुधार हुने प्रक्षेपण गर्दै आएका व्यवसायी चिनियाँ पर्यटक आगमानमा आएको सुधारबाट आशावादी देखिएका छन् । गत जुलाईमा चीनबाट आउने पर्यटक संख्या ह्वात्तै बढेको छ । वर्षको शुरूदेखि मासिक ३०० देखि ४५० को संख्यामा आएका चिनियाँ पर्यटक जुलाईमा भने १ हजार ५९३ जना आएका छन् ।

नेपालमा आउने पर्यटक सबैभन्दा धेरै भारतीय हुन्छन् । दोस्रोमा चिनियाँ पर्छन् । तर, कोरोना भाइरससँगै चीनबाट आउने पर्यटकको संख्या पुछारमा देखिन थालेको छ । यसपालि जुलाईमा आगमन संख्यामा उल्लेख्य सुधार देखिएसँगै अब चिनियाँ पर्यटक नेपालमा आउने क्रम बढ्ने व्यवसायीहरूको आकलन छ । विगत महीनामा जस्तै जुलाईमा पनि भारतबाट नेपाल आउने पर्यटकको संख्या नै धेरै छ । जुलाईमा भारतबाट १७ हजार २९९ पर्यटक आएका छन् ।

यसैगरी उक्त महीनामा अमेरिकाबाट ५ हजार ८४४ पर्यटक आएका छन् । भारतपछि दोस्रो स्थानमा अहिले अमेरिकाबाट आउने पर्यटक छन् । यसपछि बेलायतबाट ३ हजार ९५३ विदेशी नेपाल आएका छन् । यस्तै सार्क मुलुक बंगलादेशबाट १ हजार ८७४ जना आएका छन् । बोर्डका अनुसार सार्क देशबाट कुल १९ हजार ९८० पर्यटक नेपाल आएका छन् । यस्तै एशियाका चीन, जापानलगायत देशबाट ४ हजार १९५, यूरोपेली देशबाट ९ हजार १२१, ओसेनिया मुलुकबाट १ हजार २१२ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकी देशहरूबाट ५ हजार ८४४, मध्यपूर्वी देश इजरायल, टर्कीलगायतबाट ३७५ र अन्य देशबाट ३ हजार ७३५ पर्यटक जुलाईमा नेपाल भ्रमणमा आएका छन् ।

  • २० श्रावण २०७९, शुक्रबार प्रकाशित

  • Nabintech