बुटवल\ लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ ।लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८ को निर्णयअनुसार आह्वान भएको टेण्डर पनि सेटिङमा थियो । कम्पनी छानेर फर्जी प्रतिस्पर्धाका लागि टेण्डर आह्वान गरेको तथ्य बाहिरिएपछि ठेक्का रद्द भएको थियो भने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका थिए ।
घिमिरे बाहिरिएपछि छवीराज पोखरेल सीईओ नियुक्ति भए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार प्राधिकरणले ९ असारमा बोलपत्र आहृवान गर्यो । मूल्य अभिवृद्धि करसहित करिव ६ अर्ब ७० करोड लागतको भवन बनाउन आहृवान गरिएको यो टेण्डरमा सेटिङमै भएको पाइएको छ ।
बोलपत्रमा २ अर्ब ८१ करोड बराबरको ‘डबल बेसमेन्ट’ भवन निर्माणको अनुभव मागिएको छ । यो प्रावधान रसुवा कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीमध्ये एकले ठेक्का पाउने गरी राखिएको हो । रसुवा कन्स्ट्रक्सन कांग्रेस नेता तथा सांसद मोहन आचार्यको र शर्मा एन्ड कम्पनी कांग्रेस निकट रमेश शर्माको कम्पनी हो । उनीहरुले संयुक्त उपक्रमको –जेभी) कम्पनीमार्फत वीर अस्पतालको सर्जिकल भवन २ अर्ब ८५ करोड लागतमा निर्माण गरेका थिए ।
यसमा प्रश्न उठेपछि प्राधिकरण ८ साउनमा टेण्डर संशोधन गर्दै ४७ करोडसम्मको भवन बनाएको नेपाली कम्पनीले विदेशीसँग जेभी –संयुक्त उपक्रम)मा ठेक्कामा भाग लिन पाउने नियम बनायो । तर १३ साउनमा अर्को संशोधन गर्दै विदेशी कम्पनीको जेभी ल्याउन अप्ठ्यारो पार्ने प्रावधान थपियो ।जेभीमा आउने विदेशी कम्पनीले आफ्नो देशभन्दा बाहिरको देशमा गएर २ अर्ब ८१ करोड बरारबरको डबल बेसमेन्ट भवन निर्माण गरेको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता राखियो ।यो योग्यता पुरा गरेको विदेशी कम्पनीले सम्बन्धित देशको नेपालस्थित दूतावासबाट ‘नोटरी’ (प्रमाणित) गरेर कागजात बोलपत्रमा अनिवार्य गरिएको छ ।