बाँके\ नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई नेपालगन्जमा शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ । नेपाल प्रेस युनियन बाँकेको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । युनियनको हालै सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट बाँकेबाट प्रतिनिधित्व गर्दै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी तथा केन्द्रिय सदस्यमा कमला हमाल र शोभा केसी निर्वाचित भएका थिए ।
शनिबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल र युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले खादा, गम्छा र मायाको चिनो प्रदान गरी सम्मान गरेका हुन् । जिल्ला बाहिर रहेका कारण कमला र शोभा भने बधाई तथा सम्मान कार्यक्रममा उपस्थित हुन सकेनन् ।
युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, कांग्रेसका महासमिति सदस्य एवम् नेपाल प्रेस युनियन बाँकेका पुर्वअध्यक्ष मेघराज ओली, नेपाल प्रेस युनियनका पुर्वकेन्द्रिय सदस्य एवम पुर्वउपमेयर उमा थापामगर, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
युनियन बाँकेका अध्यक्ष ओलीले बाँके जिल्लाले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित दुई जना सदस्य पाएकोमा सबै खुसी भएको बताए । केही उम्मेदवार विजयी हुन नसकेपनि सम्मानजनक मत प्राप्त गरेको उनले बताए । उक्त कार्यक्रमको सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।