५ जेष्ठ २०८१, शनिबार

विकास र सुशासनका लागि सदाचार
  • न्युज मानसराेवर

समाजमा कानूनको पालन गर्दा कतिपय अपराध वा बेथितिहरूको स्वतः ठेगान लाग्छ । तर, सामाजिक जीवनका कतिपय विषयलाई कानूनमा समेट्न पनि सकिँदैन र कतिपय कानूनी अस्पष्टताका कारणले वा कानूनको अभावका कारण मानिस अपराध वा पापकर्ममा संलग्न रहेको पाइन्छ । कानूनको कार्यान्वयन भएन भने पनि पापलाई प्रश्रय मिल्छ । यस्ता पाप समाजका सबै तह र तप्काका व्यक्तिहरूबाट भइरहेका हुन्छन् । सभ्य समाजमा अपराध वा पापकर्मले स्थान पाउनु हुँदैन किनभने यसले सुशासन स्थापना गर्ने राष्ट्रिय लक्ष्यलाई प्रतिकूल प्रभाव पार्छ । पापले ग्रस्त समाजमा नैतिकतालाई स्थान मिल्दैन । अनैतिकता र कुशासनले मित्रता गर्छन् ।

सदाचारितामा स्खलन आउँछ । पुण्य आर्जन गर्न धर्तीमा आएको मानिसले पाप गर्‍यो भने जीवनले पनि मुक्ति पाउँदैन भन्ने धार्मिक मान्यता छ । अहिंसावादी आन्दोलनका प्रणेता महात्मा गान्धीले पनि सात पापका बारेमा उल्लेख गरेका छन् । उनले सिद्धान्तविना राजनीति गर्नु, परिश्रमविना धन प्राप्त गर्नु, विवेकविना भोगविलासमा संलग्न रहनु, चरित्रविनाको शिक्षा प्राप्त गर्नु, नैतिकताविना व्यापार गर्नु, मानवीयताविना विज्ञानलाई अपनाउनु र त्यागविना पूजा गर्नुलाई पापका रूपमा लिएका छन् । यसबाट पापले शासनका राजनीति, पेशा–व्यवसाय, उपभोग, शिक्षा, व्यापार, विज्ञानलगायत सबै पक्षलाई समेटेको देखिन्छ ।

नेपाल प्राचीन कालदेखि नै ऋषिमुनिहरूको तपोभूमि र सत्य स्थापनाको केन्द्रभूमिको रूपमा रहेको छ । हाम्रा ऋषिमुनिहरूले सदाचारको मार्गमार्फत मानव कल्याणका लागि दिएको ज्ञान संसारकै श्रेष्ठ ज्ञान हो । तर, समाजको बहुसंख्यक अंशलाई प्रभावित गर्ने गरी विगत केही समययता नेपालमा सत्य र सदाचार ओझेलमा पर्दै गएको छ ।

सार्वजनिक पदमा रहेका वा अर्थतन्त्रको बागडोर सम्हालेका सदाचारका ठूलाठूला भाषण गर्नेहरू पनि व्यभिचारी भएका छन् । यसले सुशासन स्थापना गर्ने घोषित सरकारी नीतिमा चुनौती खडा गरेको छ । यस आलेखमा विगत केही समयदेखि देशमा बढ्दै गएको अस्तव्यस्ततालाई दृष्टिगत गरी सामाजका विभिन्न क्षेत्रमा विद्यमान केही राष्ट्रिय पापका बारेमा चर्चा गरिएको छ । यी पापहरूबाट मुक्तिविना मुलुकले सुशासन, आर्थिक वृद्धि र दिगो विकासको सपना साकार पार्ने नसक्ने स्पष्ट छ ।

राजनीतिमा उच्च तहका पापहरू छन्, जसले अन्य क्षेत्रलाई पनि विषाक्त गरेको छ । अनुचित प्रभावबाट निर्वाचनमा विजय प्राप्त गर्नु, बाहुबल वा धनबलको प्रयोग गरी निर्वाचनमा विजय प्राप्त गरेको व्यक्तिले मुलुकमा भ्रष्टाचार, नीतिहीनता, दण्डहीनता र असमानताको जन्म दिन्छ । धन खर्चेर जनप्रतिनिधि बन्नेहरूको मानसपटलमा सेवाभन्दा मेवाको भाव रहेको हुन्छ । यसले भ्रष्टाचारलाई प्रश्रय दिएको छ । यसबाट मुलुकको सबै क्षेत्रमा कुशासनको प्रवाह हुन्छ । विगतमा यस प्रकारको पाप हाम्रो मुलुकमा धेरै नै भयो र जनस्तरसम्मै पुग्यो । प्रायः सबै राजनीतिक दलका नेताहरूले टिकट, भोट र पद प्राप्त गर्न गरेको अनुचित कर्मको हिसाब किताब निकै ठूलो भइसकेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले १० करोडसम्म खर्चिनु यसको पछिल्लो उदाहरण हो । विगतमा जस्तै यसले निम्त्याउने भ्रष्टाचारले सबैलाई आक्रान्त बनाउने स्पष्ट छ ।

राजनीतिको सहयात्री प्रशासन पनि सदाचारको खडेरी छ । शासन व्यवस्थाको उत्कृष्ट स्वरूपका रूपमा स्वीकार गरिएको लोकतन्त्रलाई जनतासमक्ष पुर्‍याउने प्रशासनले नै हो । सार्वजनिक प्रशासनलाई स्थायी सरकार पनि भनिएको छ । सामान्यतया कमजोर र अनैतिक राजनीतिले आफ्ना पापकर्मलाई सार्वजनिक प्रशासनसम्मै पैmलाउँछ । तर, अनैतिक प्रशासकहरूले राजनीतिज्ञहरूलाई पनि पापकर्ममा लाग्न प्रोत्साहन गर्छन् । विगतमा नेपालमा यसरी दुवैतर्फबाट पाप गरिएकाले प्रशासनले जनताको दृष्टिमा शाख गुमाएको अवस्था छ । नागरिक सार्वजनिक सेवाबाट सन्तुष्ट हुन सकेका छैनन् । सत्पात्रबाट मात्र जनताले अपेक्षा गरेको सेवासुविधा प्राप्त हुन्छ । तर, पदीय मर्यादा कायम राख्न नसक्ने कर्मचारीको अंश बढ्दै गएको छ । भ्रष्टाचारलगायत अनुचित आचरण भएको प्रशासनबाट हुने कामहरू पापमूलक नै हुन्छन् र सुशासन प्राप्तिको मार्गमा तगाराको काम गरेका छन् ।

निजीक्षेत्र पनि राज्य कोष र उपभोक्ताको शोषण गरी पापार्जनमा संलग्न भएको छ । राजनीतिज्ञहरूसँगको सम्बन्ध वा नेटवर्कका कारण राज्यकोषबाट अनुचित सेवा, सुविधा र सहुलियत प्राप्त गर्नु, कर वा शुल्कका रूपमा राज्यलाई तिर्नु बुझाउनुपर्ने रकमकलम छली गर्नु वा कम मात्र बुझाउनु र उच्च मूल्य वा निम्न गुणस्तरको सेवासुविधा प्रदान गरी उपभोक्ताको शोषण गर्नु र अनुचित नाफा आर्जन गर्नु निजीक्षेत्रबाट हुने पापका उदाहरण हुन् । न्यून गुणस्तरको उत्पादन गरी बढी मूल्य असुल गर्नु पनि पाप नै हो । त्यसैगरी सरकारी अधिकारीहरूलाई मोलाहिजामा पार्नु, अनुचित नीतिगत प्रभाव पार्नु र राष्ट्रिय पूँजीलाई अनुत्पादनशील बनाउनु वा विदेश पलायन गराउने काम पनि राष्ट्रिय पाप नै हुन् । संस्थागत सुशासन विरुद्धका सबै कामकारबाहीलाई पनि राष्ट्रिय पापमै गणना गरिनुपर्छ ।

गैरसरकारी संस्थाहरूले पनि पापजन्य काम गर्ने गरेका छन् । राष्ट्रिय आवश्यकता र स्वार्थलाई परित्याग गरेर विकासे काम गर्नु, दाता वा प्रभाव समूहहरूको स्वार्थ प्राप्त गर्नका लागि राष्ट्रिय स्वार्थ, हित र आकांक्षालाई जानी वा नजानी अवमूल्यन गर्नु र धन, पद वा सुविधा प्राप्तिका लागि नागरिक कर्तव्यको उपेक्षा गर्नु उनीहरूले गरेका पाप हुन् । राष्ट्रिय प्राथमिकताबाहिर काम गरी देशलाई प्रयोगशाला बनाउनु पनि पाप नै हो । साधनस्रोतले धान्न नसक्ने किसिमका माग नागरिकमा सृजना गराउनु पनि पाप नै हो किनभने यसले व्यवस्थाप्रति अनास्था बढाउँछ । राजनीतिक र प्रशासनिक अधिकारीहरूसँग सम्बन्ध स्थापना गरी अनुदान वा सहयोगका रूपमा सरकारी कोष प्राप्त गर्ने कामलाई पनि गैरसरकारी संस्थाहरूबाट हुने पापकै रूपमा लिइनुपर्छ ।

कतिपय दातृ निकायले असमानता र मतभेद बढ्ने गरी सहयोग प्रदान गरेर पापलाई मलजल गरेका छन् । निरपेक्ष गरीबीको निवारण वा निश्चित समूहलाई मात्र लाभ पुग्नेगरी गरिने विकासे सहयोगले असमानता र कतिपय अवस्थामा सामाजिक सद्भाव बिथोल्ने भएकाले दातृ निकायहरू यसप्रति सचेत रहनुपर्छ । राष्ट्रिय आवश्यकता, प्राथमिकता वा स्वार्थलाई सम्झौता गर्नुपर्ने गरी शर्तसहित दिइने सहयोग पनि पापकर्म नै हो । राष्ट्रिय नीतिमा हस्तक्षेप गर्नु पनि सदाचारभित्र पर्दैन ।

आम नागरिक देशभक्तिको भावनाविनाका क्रियाकलापमा संलग्न रहेर राष्ट्रिय पापको भारी बोकेका छन् । भड्किलो जीवनयापन गर्नु, विदेशी वस्तुहरूको बढी उपयोग गर्नु, राष्ट्रिय स्वार्थलाई बेवास्ता गरी व्यक्तिगत हितका लागि विदेशी राष्ट्र, निकायहरू र व्यक्तिहरूसँग अनुचित हेलमेल गरी लाभ प्राप्त गर्नु पापकर्म नै हो । समाजमा भड्किलो व्यवहार गरी अरूलाई असजिलो अवस्था सृजना गरिदिनु पनि सदाचारी काम होइन । संविधानमा उल्लिखित कानूनको पालना नगर्नेलगायत नागरिक कर्तव्यहरूको पालना नगर्नु पनि राष्ट्रिय पाप नै हो । यसबाट देशमा सुशासन कायम हुन सक्दैन ।

पेशाकर्मीहरूले पेशागत बेइमानी गरेर पाप कमाएका छन् । अनुचित आय आर्जन गर्ने गरी पेशा व्यवसाय गर्नु, स्वार्थको टकराव हुने कामकारबाहीमा संलग्न रहनु, पेशागत अनुशासन र मर्यादा उल्लंघन गर्नु आदिलाई पेशाकर्मीहरूबाट हुनसक्ने पापका रूपमा लिइनुपर्छ । कतिपय शिक्षकले स्कूल समयमा पनि राजनीति गर्ने, स्वास्थ्यकर्मीहरूले नाफाका लागि अनैतिक काम गर्ने गरेका छन् । यस्तो काम न्यायाधीश, वकील, सञ्चारकर्मीबाट पनि लुकेको छैन । यस प्रकारका पेशागत बेइमानीले आमनागरिकले पाउने गरेका सास्ती राष्ट्रिय पाप नै हुन् ।

हाम्रो समाजको अधिकांश अंश सदाचारहीनताले आक्रान्त बनिरहेको छ । हाम्रा महान् पुर्खाहरूले निर्माण गरेका नैतिकता र सदाचारका पर्खालहरू ढल्दै गएका छन् । यसमा सरकार र नागरिक उत्तिकै जिम्मेवार छन् । विगतको लामो राजनीतिक संक्रमणकाललाई यसको प्रमुख कारण मान्न सकिन्छ । तर, अन्य कारण पनि उत्तिकै जिम्मेवार छन् । नैतिक शिक्षाप्रतिको उदासीनता, विश्वव्यापीकरणको प्रतिकूल प्रभाव, ऐन कानूनहरूको अपर्याप्तता र दण्डहीनताको कारणले पनि पापकर्महरूले प्रोत्साहन प्राप्त गरेको देखिन्छ । पारिवारिक संस्कार र मूल्यहीन शिक्षा प्रणालीले पनि सदाचारहीनतालाई बढावा दिएको छ ।

मुलुकमा संघीय शासन व्यवस्थाको कार्यान्वयनले मूर्तरूप लिन लागेको वर्तमान सन्दर्भमा सबै तहका सरकार, पेशाकर्मी र आमनागरिकले राष्ट्रिय पापका माथि उल्लिखित स्वरूपहरूलाई उन्मूलन गर्न सटिक प्रयास गरेमा मात्र मुलुक सुशासन, सदाचार, दिगो विकास, प्रगति र समृद्धिको बाटोमा लम्कन सक्ने देखिन्छ । सभ्य समाजका लागि सबै सरोकारवालाका सबै काम सदाचारिताको मापदण्डमा खरो उत्रिनु जरुरी छ । राष्ट्रिय योजनामा कार्यरत डा. भुसालका यी विचार निजी हुन् ।

  • २३ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech