८ बैशाख २०८१, शनिबार

चोलेन्द्रलाई अवरोध नगर्न मानव अधिकार आयोगको निर्देशन
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले  वैयक्तिक, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न सरकारलाई निर्देशन दिएको
हो ।

आयोगले आइतवार चोलेन्द्रको सरकारी निवासमा पुगेर उनको अवस्थाबारेमा जानकारी लिएको थियो । उनले सरकारले आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगको टोलीले अनुगमन गरेको थियो ।

आयोगले व्यक्तिको संविधानप्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताका अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व भएको बताएको छ । आयोगले अनुगमनपछि विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यसप्रकारका अधिकारहरुमा कुनै पनि वहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः संविधान र कानुनमै टेकेर यसप्रकारको गतिरोधको अन्त्य गर्न आयोग संवद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’ आयोगले अनुगमनका क्रममा चोलेन्द्रलाई आवतजावतमा अवरोध गरिएको भेटिएको बताएको छ । ‘आयोगको टोलीले तहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीसँग बुझ्दा माथिको आदेशबाट बाहिर निस्कन रोकावट गरेको भन्ने जानकारी टोलीलाई प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

  • २ आश्विन २०७९, आईतवार प्रकाशित

  • Nabintech