७ पुष २०८१, आईतवार

सीमापारीबाट हुँदै आएको तस्करी बाँकेमा रोकिएन
  • न्युज मानसराेवर

बाँके\सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न प्रहरी प्रशासन कडा रूपमा प्रस्तुत भएपनि तस्करी रोकिएको छैन । नाकामा खटिएको प्रहरी र बाँके जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर दैनिक सामान बरामद गर्दै आएको छ ।

प्रहरीको निगरानी बढ्दै गए पनि नेपालगञ्जको सीमा क्षेत्रबाट तस्करी रोकिएको छैन । केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ । नाकामा प्रहरीको उल्लेख्य सङ्ख्यामा उपस्थिति रहे पनि ठूलो परिमाणमा अवैध सामान नेपाल भित्रिने गरेको छ ।

प्रहरीले नेपालगञ्ज, कोहलपुर र हात्तीसारबाट अवैध सामान बरामद गर्दै आएको छ । जैसपुरका मोहम्मद रमजानले प्रहरीले तस्करी र अवैधरूपमा भित्रिएको धेरै सामान बरामद गरेपनि अधिकांश ठाउँमा तस्कर पक्राउ पर्न नसकेको जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले तस्कर र भरियाले प्रहरी देख्ने बित्तिकै सामान छोडेर भाग्ने गरेको बताए ।

केही दिन पहिले ६० लाख बराबर भन्सार छलीको सामान बोकेको ट्रकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । रत्न राजमार्गबाट सुर्खेत लैजान लागिएको अवस्थामा ट्रकलाई बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।

नाकामा दुवै प्रहरी फोर्सको उपस्थिति हुँदाहुँदै एकै पटक ठूलो परिणाममा अवैध सामान नेपाल आइरहेको भन्दै प्रहरीले चिन्ता व्यक्त गरेको छ । यो विषयमा सुरक्षा निकायको नेतृत्वसँग गम्भीर छलफल चलिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech