१९ आश्विन २०७९, बुधबार

६० मा झरिसकेको गैँडाको संख्या कसरी पुग्यो ७५२?
  • न्युज मानसराेवर

बाँके\ विश्वमा गैँडाका पाँच वटा प्रजाति बाँकी छन्  । तीन वटा एसिया र दुई वटा अफ्रिकामा। एसियामा एकसिङे गैँडा, जाभान र सुमात्रान गैँडा पाइन्छन्। अफ्रिकामा कालो र सेतो गरी दुई वटा गैँडाका प्रजाति पाइन्छन्। नेपालमा भने एकसिङे गैँडा पाइन्छ।

एकसिङे गैँडा लोपोन्मुखमध्येको एक हो। नेपालमा नेपालमा सन् १९५० (वि.स. २००७)  दशकसम्म चितवन उपत्यकामा ८०० भन्दा बढी गैँडा थिए। चितवन उपत्यका र यसको समृद्ध जैविक विविधतालाई तत्कालीन राणा सरकारले सिकारको उद्देश्यले संरक्षण गरेको थियो।

यहाँ आदिवासी थारूहरूको बसोबास थियो। तराईमा औलोको प्रकोप रहेका बेला सो उपत्यकामा अन्यत्र ठाउँबाट आवजावतमा पनि रोक लगाइएको थियो।

बर्दियामा रमाएनन् गैँडा

औलो उन्मूलनसँगै पहाडी क्षेत्रका मानिस तराईमा बसाइँ सर्ने क्रम सुरु भयो। सोही समयमा नै राणा शासनसमेत अन्त्य भएकोले यहाँको जंगल अतिक्रमणमा तीव्रता आएको पाइन्छ।

यसरी जंगल फँडानी गरेर घर बनाउने तथा कृषियोग्य जमिनमा रूपान्तरण गर्ने क्रियाकलापले वन्यजन्तुहरूको बासस्थान संकुचित हुँदै गयो। साथै चोरी सिकारको समेत कारणबाट एकसिङे गैंडालगायतका वन्यजन्तुको संख्या घट्दै गए।

सन् १९६६ मा गैँडाको संख्या १०० भन्दा पनि कममा झर्‍यो। १९७० सम्म आउँदा ६० मा झरिसकेको तथ्यांक भेटिने ‘गैँडालाई ४ वर्ष’का लेखक तथा पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले बताए।

सन् १९५० देखि १९७० सम्म यो २० वर्ष गैँडाका लागि निकै चुनौतीपूर्ण रह्यो। गैँडाको संख्या ह्वात्तै घटेपछि सरकारलाई पनि दबाब पर्‍यो। वन्यजन्तुको घट्दो संख्या, विशेष गरी गैँडा र यसको बासस्थान जोगाउन चुनौती भएपछि तत्कालीन सरकारले सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो।

त्यसपछि भने गैँडाको संख्या बढेको देखिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अहिले नेपालमा गैँडाको संख्या ७५२ वटा पुगेको छ। चितवनमा ६९४, पर्सामा ३, बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा छन्।

कुनै बेला ६० मा झरिसकेको गैँडाको संख्याको संख्या ७५२ पुर्‍याउन कसरी सम्भव भयो त ? जबाफमा कुँवर भन्छन्, ‘चोरी सिकार नियन्त्रण र स्थानीयवासीमा सचेतना नै हो।’

उनले अझै पनि सचेतना फैलाउन आवश्यक रहेको बताए। ‘चोरी सिकार नियन्त्रण, बासस्थान व्यवस्थापन सुधारलगायतका कारण गैँडा बढाउन सम्भव भएको हो,’ उनले भने, ‘मलाई लाग्छ- गैँडाको संख्या ८०० देखि एक हजारको संख्यामा पुग्छ।’

यद्यपि यसबीच चोरी सिकार नबढेका पनि होइनन्। सशस्त्र द्वन्द्वका बेला पनि धेरै गैँडा मारिएका थिए। तर त्यसबेला तस्करहरूलाई पक्राउ गरेर मुद्दा चलाएपछि भने चितवनमा शून्य चोरी सिकार वर्ष मनाएको थियो। अहिले फेरि चोरी सिकारबाट गैँडा मारिने घटना बढ्दै गएका छन्। यसलाई चाँडै नियन्त्रण गर्न नसके भयावह हुन सक्ने संरक्षणकर्मी बताउँछन्।

जसरी गैँडाको संख्या बढ्दै गएको छ, त्यसरी नै गैँडा मर्ने पनि क्रम जारी छ। प्राकृतिक कारणले गैँडा बढी मरिरहेका छन्। बाढी, जुधेर, वासस्थान व्यवस्थापनको कमीलगायतका कारणले गैँडाहरू मरिरहेका छन्। सरकारले बासस्थान व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने संरक्षणकर्मीको भनाइ छ।

गैँडाविज्ञ नरेश सुवेदीले गैँडा संरक्षणका लागि उचित बासस्थानका लागि पानीको व्यवस्थापन, घोल बनाउने, घाँसेमैदान बढाउनेजस्ता कुरामा ध्यान दिनुपर्ने बताए।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech