२६ आश्विन २०८१, शनिबार

जाने होइन सुदूरपश्चिम घुम्न ?
  • न्युज मानसराेवर

सुदुरपश्चिम डेक्स \घुमफिर गर्न जोकोहीलाई मन पर्छ। प्रकृतिका सुन्दर र अनुपम दृश्यले सबैको मन तान्छ। पछिल्लो समय त नेपालीहरूमा बिदाका दिन घुम्न जाने संस्कृतिको विकास नै भइरहेको छ।

नेपालीहरूका महान पर्व दसैं-तिहारमा लामो बिदा हुने भएकाले त्यो समय घुमफिरका लागि झनै उपयुक्त हुनसक्छ। निरन्तरको काम र थकानबाट दिक्क हुँदा भएका मानिसहरूले कतै घुम्न जाने सोच बनाइरहेका हुन्छ। साथिभाइ र पारीवारिक रुपमा पनि दसैं बिदा घुमफिरका लागि उपयुक्त हुनसक्छ। न त चिसो न त गर्मी। यो मौसम घुम्नका लागि पनि अत्यन्तै राम्रो  ।

दसैंमा भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ? त्यसकालागि घुम्न जाने गन्तव्य तय गर्नुस्। स्वदेशमै यस्ता रमणीय स्थान पनि छन् जहाँ पुग्दा आनन्दको अनुभुति मिल्नेछ। त्यसमध्ये सुदूरपश्चिमका केही गन्तव्य बारे यहाँ चर्चा गर्द छौं।

                                                             भूश्वर्ग खप्तड 

खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। पश्चिम नेपालको चार पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी अछामको संगम स्थलका रूपमा पनि चिनिन्छ खप्तड राष्ट्रिय निकुञ्ज। फराकिला फाँट हेर्नकै लागि पनि आन्त्ररिक र बाह्य पर्यटक खप्तड पुग्ने गर्छन्।

समुन्द्री सतहबाट ३ हजार ५ सय मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५ सय ६७ थरिका वनस्पती र नेपालमा पाईने ८ सय ५० किसिमका चराचुरुंगीमध्ये साढे दुई सयभन्दा बढी चराचुरुङ्गी पाइन्छन्।

                                                   खप्तड क्षेत्र

बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको डेढ सय मिटर लम्बाई र ५० मिटर चौडाई रहेको खप्तडमा खप्तड दह रहेका छन् भने ५२ वटा ताल दह रहेका छन्। साथै यस निकुञ्जमा रमणीय नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम समेत रहेका छन्। खप्तड पुग्नका लागि काठमाडौंबाट धनगढीको बसमा यात्रा गर्नुपर्छ भने त्यहाँबाट डोटीको सिलगढीसम्म बसमै यात्रा गर्न सकिन्छ। त्यससँगै पैदल यात्रा गर्नुपर्नेछ। साथै निजी सवारी साधनमा पनि खप्तड पुग्न सकिन्छ।

चिसापानीको एक खम्बे पुलदेखि जाखोर तालसम्म

कैलाली जिल्लामा मात्रै थुप्रै पर्यटकीय स्थल रहेका छन्। नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुलले सबैको ध्यान तान्ने गर्छ। त्यो पश्चिम नेपालसँग जोड्ने सुदूरपश्चिमको प्रवेशद्वार पनि हो। पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ। सुन्दर कर्णाली नदीको अवलोकन गर्दै र कर्णाली नदीको स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्द लिनका लागि यो स्थान निकै लोकप्रिय छ।

त्यहाँबाट र्‍याफ्टिङ गर्दै टिकापुर पार्क पुग्न सकिन्छ। स्वीट्जरल्याण्डको लक्साल सहरको नक्साअनुरुप रेखाङ्कन गरिएको टीकापुर पार्क करिब ५ विगाहमा फैलिएको छ। यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू पाइन्छन्। यो पार्क विशेष गरी पिकनिक खान आउने पर्यटकका लागि प्रमुख रोजाइमा पर्ने गरेको छ।

वि.सं २०२८ सालमा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना बिताएका थिए। त्यहाँ महेन्द्र बस्दा निर्माण गरिएका संरचना पनि छन्। जसले गर्दा त्यसको प्राचिन महत्वसमेत रहेको छ। काठमाडौं–टीकापुरको दूरी ६९० किलोमिटर छ।

अर्को कैलालीको आकर्षणको केन्द्र घोडाघोडी ताल हो। यो कैलालीको मध्यवर्ती क्षेत्रमा पर्दछ। घोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्त्वपूर्ण ताल हो। यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ। हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन्। करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ। यो ताल पुग्नका लागि धनगढीबाट ६० किमी पूर्व यात्रा तय गर्नु पर्दछ। 

                                                              कर्णाली पुल

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालास्थित गर्वा दरबार सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो। यसले पनि सबैको ध्यान तान्ने गर्छ। यो जीर्ण अवस्थामा छ। तर, विक्रम सम्बत १९८२ सालमा निर्माण गरिएको उक्त दरबारको ऐतिहासिक महत्त्व भने कम छैन। प्राकृतिक रूपले तराई र लेकको विशेषता एउटै ठाउँमा पाइने खैरालामा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू लोभिने गरेका छन्।

पूर्वपश्चिम राजमार्गको राजीपुर बजारदेखि ६ किलोमिटर दक्षिणतर्फ पर्ने कोइलाही कोइलहुवा ताल, पूर्वपश्चिम महेन्द्र राजमार्गको चौमाला बजारदेखि ७ किलोमिटर दक्षिणतर्फ पर्ने जोगनिया ताल, धनगढी बजारदेखि १२ किलोमिटर पूर्वतर्फ रहेको धनगढी उपमहानगरपालिका– १ मा रहेको मनमोहक महादेवा ताल, धनगढी बजार क्षेत्रदेखि ५ किलोमिटर पूर्वतर्फको धनगढी उपमहानगरपालिका ७ स्थित जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकका आकर्षकका केन्द्र हुन्।

भादा होमस्टेको थारू जीवनशैली र संस्कृतिले पनि मानिसको ध्यान तान्ने गरेको छ। धनगढी उपमहानगरपालिका-१६ मा रहेको भादा होमस्टे गाउँ तथा थारू समुदायका जनजीवनलगायत विशेष खानेकुराका परिकारहरूले पर्यटकको मन लोभ्याउने गर्छ। धनगढीबाट बेली हुँदै भादागाउँ १७ किलोमिटर पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट ७ किलोमिटर र झिलबाट १२ किलोमिटरमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ ।

गोदावरी पनि नेपालकै ठूलो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ। अत्तरियाभन्दा ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा हनुमानको मूर्ति छ। हनुमान मन्दिर सेवा समिति कैलालीको पहलमा मूर्तिकार प्रभुराम महराले निर्माण गरेको ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति हो। धनगढीबाट २० किलोमिटर उत्तरतर्फ गोदावरीस्थित हनुमान मूर्ति पुग्न सकिन्छ।

गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो। चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ। यहाँ प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटकहरू आउने गर्छन्। चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट कात्तिक महिनामा सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ।

यसका साथै कैलाली जिल्लामा रहेको बेहडा बाबा मन्दिर, नवदुर्गा मन्दिर, नैनादेवी भगवती मन्दिर, वनदेवी भगवती मन्दिर, रामजानकी मन्दिर, नेपालको सबैभन्दा अग्लो १ सय ८ फिट उचाइको शिवलिंग भएको शिवपुरी धाम, कम्पासेधुरा डाँडा  पनि पर्यटकको रोजाइमा पर्ने स्थानहरू हुन्।

डोटीको सेतीमा र्‍याफ्टिङ, शैलेश्वरीको दर्शन

डोटी पनि एतिहासिक जिल्ला हो। डोटीमा घुम्न लायक ठाउँहरूमध्ये प्रसिद्ध तीर्थस्थलहरू हुन्। जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ ती पर्यटकीय आकर्षणका केन्द्र हुन्।

                                                               शैलेश्वरी मन्दिर

यसका साथै सेती नदीमा हुने र्‍याफ्टिङले धेरै आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गर्छ। सेतीमा र्‍याफ्टिङको आन्द लिएर शैलेश्वरी पाताको दर्शन गर्न जान सकिन्छ। शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ। यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकालदेखि हुँदै आएको छ। यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।

डडेल्धुरामा केछ?

धनगढीबाट डडेल्धुरा १ सय २८ किलोमिटर पर्छ। सबै पर्यटकले रुचाउने जिल्लामा पर्छ डडेलधुरा। जहाँ प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्त्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ। डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर हुन्।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ। यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरादेखि ४ किलोमिटर पश्चिमपट्टि छ। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रसिद्ध मन्दिर बागबजारबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो तथा रमणीय फाँटमा छ।

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो। यो किल्ला रहेको उचाई अन्दाज ६५०० फिट छ। यसलाई हेर्नका लागि पर्यटकहरूको घुइचो नै लाग्ने गर्छ। यस्तै डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ। यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ। पर्यटकलाई आकर्षित गर्न र उनीहरूको सेवा सुविधा ध्यानमा राखेर स्थानीय हाटगाउँमा नै घरबास पनि सञ्चालनमा ल्याइएको छ।

                                       उग्रतारा मन्दिर

रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षण हो। डडेल्धुरा बजारबाट करिब १० किलोमिटर दक्षिण पश्चिमतर्फ यो ठाउँ पर्छ। डडेल्धुराबाट ४ किमि दक्षिणमा अमरगढी नगरपालिकामा पर्ने घटाल स्थानमा रहेको घटाल बाबाको मन्दिरको दर्शनबाट मनोकांक्षा पूरा हुने विश्वास छ। यहाँ असोज कात्तिक, दसैँ र वैशाख बिसुका बेला ठूलो मेला लाग्ने गर्छ।

आलीताल गाउँपालिकामा पर्ने आली ताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन्। जहाँ धार्मिक महत्त्वका साथसाथै प्रकृतिको सुन्दर, रमणीय रूप पनि देख्न सकिन्छ। डोटीले खप्तडको केही भागलाई समेत छोएको छ।

बैतडीको धार्मिक पर्यटन

बैतडी धार्मिक पर्यटकहरूका लागि महत्वपूर्ण जिल्ला हो। यहाँ रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन्। यसमा पनि जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ। 

                                 निङ्गलासैनी मन्दिर

यो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय छ। मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दूरीमा पर्छ। यो मन्दिर समुद्री सतहबाट लगभग १७ सय मिटरको उचाइमा अवस्थित छ। यहाँको हावापानी बाह्रै महिना समशितोष्ण रहन्छ। यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।

यसका साथै निङ्गलासैनी मन्दिर बैतडी जिल्लाको देहीमाडौंमा अवस्थित छ। निङ्गलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ। यस मन्दिरमा हरेक वर्षको बडा दसैं र चैते दसैंमा राँगा र बोकाको बलि दिने चलन छ। यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटकहरू आउने गर्छन्। पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन्। यो जिल्लाले पनि खप्तडको केही भागलाई छोएको छ।

अछामका बाह्र बण्ड, अठार खण्ड

अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित बाह्र बण्ड, अठार खण्ड निकै मनमोहक छन्।  क्षेत्रमा रहेका बाह्रवटा ताल र अठारवटा ठूलाठूला चौरले सबै पर्यटकहरूको मन लोभ्याउँछ। प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ।

                                                        बाह्रबन्ड क्षेत्र

रामारोशनमा गुफा र झरना छन्। यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन्। रामारोशनमा घुम्ने सिजन असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म बढि उपयुक्त मानिन्छ। बैजनाथ धाम यहाँको प्रमुख धार्मिक आस्थाको केन्द्र हो।

बाजुरा किन जाने?

बाजुराको बडिमालिका सुदूरपश्मिको प्रसिद्ध धार्मिक स्थल हो। बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन्। भूस्वर्गको उपमा पाएको बडिमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो। भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन्।

                                                       बुढीनन्दा क्षेत्र

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ। यो ठाउँ समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ।

दार्चुलामा हिउँचुलीको लहर

दार्चुलाको अपि हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ। जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै रहेका छन्।

चमेलिया नदी अपि र नम्पा चुलीको फेदबाट बहन्छ। चमेलिया जलविद्युत परियोजनाको बाँध बिटलेबाट नदी किनारैकिनार उकालो चढ्नुपर्छ  असार–साउनमा बेस क्याम्पतिर यार्सागुम्बा टिप्नेको मेला लाग्छ। त्यहाँ हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन्। डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ।

                                                              अपि हिमाल

पश्चिममा डोटी राज्यको दबदबा रहेको बेला दार्चुलाको महाकाली किनारमा रहेको सुरम्य फाँटबाट महाकालीपारिको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरूको दरबार हो। प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक कृयाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्र हो– तपोवन। राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुन शिव भगवानको बासस्थान हो भने शैल्यशिखर व्रतालुहरूका लागि तपोभूमिका रूपमा वर्णित छ। यहाँ कात्तिक र असार शुक्ल चतुदर्शी गरी वर्षमा दुईपल्ट ठूलो मेला लाग्दछ। जहाँ नेपालका मात्र होइन, भारतीय तीर्थालुसमेत ठूलो संख्यामा आउँछन्।

दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वरको अर्को परिचय हो– धार्मिक तथा पर्यटकीय महत्त्व। यहाँ विभिन्न देवीदेवताका मन्दिरका साथै रमणीय प्राकृतिक स्थलहरू छन्। नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ। कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो। उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्को आकर्षण हो।

कञ्चनपुरको शुक्लाफाँटामा बाह्रसिंगे 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रसस्त देख्न पाइन्छ। दिउँसो तीन बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्छ। भित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाक गरिन्छ। निकुञ्जभित्र साना–ठूला धेरै फाँटा छन्।

हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ। आरक्षको एकछेउ हात्तीसार रहेको छ। जहाँ हात्ती चढ्न पाइन्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ। जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जन बढी तालहरू छन्। यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, सिकारीताल, सलगौडी ताल र बाबाताल हुन्। तीनसय पाँच वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भू–भागको १० प्रतिशत सीमसारक्षेत्र रहेको छ। जुन विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थानको रुपमा रहेको छ। 

                                                        शुक्लाफाटा क्षेत्रमा बाह्रसिंगे

१०  हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान पनि हो। शुक्लाफाँटा वन्यजन्तु आरक्ष जंगल सफारीका लागि उत्कृष्ट गन्तव्यस्थल हो। काठमाडौं–महेन्द्रनगर सातसय किमि १८ घन्टाको बस यात्रा तथा काठमाडौं–धनगढी एक घन्टा हवाई यात्रा पश्चात धनगढी–महेन्द्रनगर ५७ किलोमिटरको दुरी तय गर्नुपर्छ।

यस्तै कञ्चनपुरको बेतकोट नगरपालिकामा रहेको लिंगा पुग्न दैजिबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ। शिवलिंगको स्वरुप जस्तै पहाडका डाँडा भएकोले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरु यहाँ जाने गरेका छन्। बाह्रै महिना पर्यटक आउने लिङ्गामा फागुनमा शिवरात्री र असोजमा नवरात्री मेला लाग्ने बेला झनै भिड लाग्ने गर्छ। लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ गयौंभने बेतकोट तालको अवलोकन गर्न सकिन्छ। यो ताल ठूलो क्षेत्रमा फैलिएर रहेको छ।

साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको बेतकोटमा पिकनिक खान आउनेहरुको पनि भिड रहेको हुन्छ। कञ्चनपुरको दैजिबाट उत्तरतर्फ पर्ने बेतकोट र लिंगाको अवलोकन गर्न जाँदा अटो रिजर्भ गरेर पर्यटकहरु जाने गर्छन्। दोधारा चाँदनीको पुल पनि कञ्चनपुरको प्रशिद्ध क्षेत्र हो। यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो। जसले नेपाल पारिका दुई ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ। यहाँ बर्सेनि हजारौं स्थानीय र बाह्य पर्यटकहरु दोधारा चाँदनी पुलको अवलोकन गर्न आउने गरेका छन्। यहाँ पुलको अवलोकन गर्ने र पिकनिक मनाउन आउने पर्यटकहरुको भिड हुन्छ। गर्मी मौसममा महाकाली छेउको चिसो हावाको आनन्द लिन पनि आन्तरिक पर्यटकहरु त्यहाँ जाने गर्छन्

यस बाहेक कञ्चनपुरमा रहेको सिद्धबाबाको मन्दिरमा पूर्णागिरीको दर्शनगरी आउने भारतीय धार्मिक पर्यटकको पनि घुईंचो लाग्छ। विष्णु मन्दिर, बैजनाथ मन्दिर, कलपटे मन्दिर, ब्रह्मदेव मन्दिर र पुल, झिलमिलिया ताल, महाराज गुरु आउनु भएको ठाउँ भम्केनी धाम लगायतका पर्यटकको मनै लोभ्याउने ठाउँहरु कञ्चनपुरमा रहेका छन्।

बझाङ र शैपालको काख

पर्यटक लोभ्याउने सुन्दर हिमाल र हिमतालहरूले बाझङमा जोकोहीको मन लोभ्याउँछ। जिल्लाको सदरमुकाम बाहुलीगाड र सेती नदीको दोभानमा अवस्थित छ। जुन अति रमणीय तथा हिमाली हावापानीले भरिपूर्ण रहेको छ। यस जिल्लाको पूर्वमा बाजुरा, पश्चिममा वैतडी र दार्चुला, दक्षिणमा अछाम र डोटी तथा उत्तरमा हुम्ला र चिनको स्वशासित प्रदेश तिब्बत पर्दछ।

                                                                                     शैपाल हिमाल

यो जिल्ला २९ डिग्री २२ मिनेट देखि ३० डिग्री ९ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४६ मिनेट  देखि ८१ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ। यस जिल्लाको क्षेत्रफल ३४२२ वर्ग किलो मिटर रहेको छ। झाङ्गको शिर सैपाल हिमाल ७०३७ मिटर उचाईसम्म फैलिएको छ। यस जिल्लामा जम्मा दुई नगरपालिका १० गाउँपालिका गरेर जम्मा १२ वटा स्थानीय तह छन्। शैपाल यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो। सेतीमा र्‍याफ्टिङ गरेर पनि यहाँ भरपूर आनन्द लिन सकिन्छ।

  • १९ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech