२८ आश्विन २०८१, सोमबार

बढ्यो महँगी, खाद्यभन्दा सेवा क्षेत्रमा झन धेरै, ‘२३ % सम्म बढ्यो !’
  • न्युज मानसराेवर

बाँके\नेपाल राष्ट्र बैंकले तराईमा महँगी झन बढेको बताएको छ । बैंकले शक्रवार सार्वजनिक गरेको एक तथ्याङ्कमा तराई–मधेशमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ ।बैंकले आज सार्वजनिक गरेको चालू आवको दोस्रो महीनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति ९ दशमलव ३३ प्रतिशत रहेको उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौमा काठमाडौँ उपत्यकामा ७ दशमलव ६२ प्रतिशत, पहाडमा ८ दशमलव ८२ प्रतिशत र हिमालमा ६ दशमलव ६८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

बैंकका अनुसार २०७८ भदौ महीनामा काठमाडौँ उपत्यकामा ३ दशमलव २३ प्रतिशत, पहाडमा ३ दशमलव ९६ प्रतिशत र हिमाली क्षेत्रमा ३ दशमलव ५१ प्रतिशत मात्रै मुद्रास्फीति रहेको थियो ।

यस्तै भदौ महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत थियो । समीक्षा महीनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ८ दशमलव १७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९ दशमलव ०२ प्रतिशत रहेको छ ।

विसं २०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूलमा १७ दशमलव २९ प्रतिशत, घ्यू तथा तेल १४ दशमलव ५३ प्रतिशत, रेष्टुरेन्ट तथा होटल १२ दशमलव ३० प्रतिशत, मदिराजन्य पेयपदार्थ १० दशमलव २४ प्रतिशत र तरकारी उपसमूहको मूल्यवृद्धि ९ दशमलव ९४ प्रतिशत रहेको छ ।

समीक्षा महीनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात २३ दशमलव ४१ प्रतिशत, स्वास्थ्य १० दशमलव ५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ९ दशमलव २५ प्रतिशत, शिक्षा ८ दशमलव ११ प्रतिशत र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति ७ दशमलव ६९ प्रतिशत रहेको छ ।

  • ४ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech