६ बैशाख २०८१, बिहीबार

एम्सको क्यालेन्डरमा नेपालगञ्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचीमा
  • न्युज मानसराेवर

बाँके\बिगत आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथन बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ ।

एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिनहुने म्याराथनको सुचिमा नेपालगञ्ज म्याराथनलाई एम्सको वेभसाइटमा सम्बोधन गरेको हो । यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए ।

‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगञ्ज, लुम्बिनी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदाय माझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’

एम्सले आफ्नो क्यालेन्डरमा नेपालगञ्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट  सहित जानकारी उपलब्ध गराइदिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो ।

एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदाय माझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्थाहो । गत सातामात्र नेपालगञ्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो ।

त्यसअघि नेपालगञ्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणिकरण गराएको थियो ।

केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं नेपालगञ्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । दशबर्षे द्वन्द्वलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगञ्ज म्याराथले २०७२ सालदेखि यात्रा आरम्भ गरेको थियो ।

हरेक मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष आमनिर्वाचनका कारण मंसिर २४ गते सारिएको हो । आठौं नेपालगञ्ज म्याराथनमा धारा तेलसँगै होटल सोल्टी वेष्टेन्ड प्रिमियर, शिखर प्लाई, दराज, बडवाइजर बियरलगायतसले सहकार्य गर्दैछन् ।

धेरैभन्दा धेरै कर्पोरेट हाउसलगायत संघसंस्थालाई आयोजक क्रियटिभ ह्याण्ड्सले सहकार्यका लागि आह्वान गरेको छ । म्याराथनलाई ठाउँको पहिचानसँग स्थापितगर्न र साझा कार्यक्रमका रुपमा विकास गर्न आयोजकले कुनै कसर बाँकी नराखेको जनाएको छ ।

 

 

  • १८ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech