७ बैशाख २०८१, शुक्रबार

नेपालमा व्यावसायिक पशुपालन फार्मको संख्या ६ हजार ४८६
  • न्युज मानसराेवर

बाँके\कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा ६ हजार ४८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्यांक सार्वजनिक गरेको छ। मन्त्रालयले ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण, २०७८’ सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

विश्व खाद्य तथा कृषि संगठनको सहयोगमा कृषि मन्त्रालय र राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभर व्यावसायिक रूपमा सञ्चालनमा रहेका ठूला तथा मध्यम पशुपालन व्यवसायको एकीकृत सर्वेक्षण, २०७८ कार्यक्रम सञ्चालन गरेका थिए।

सर्वेक्षण प्रतिवेदनअनुसार १ हजार २३३ वटा गाईपालन फार्म र ९१४ भैंसीपालन फार्म रहेका छन् भने ४३ राँगापालन फार्म, २ हजार २९५ बाख्रा÷च्यांग्रापालन फार्म, ५७२ भेडापालन फार्म छन्।

त्यस्तै, मासु प्रयोजनका लागि ११८ र पाठापाठीका लागि ३६४ सुँगुरपालन फार्म सञ्चालनमा छन्। नेपालमा गाई/भैंसीपालन(मिश्रित) फार्म ४८३, बाख्रा-च्यांग्रा-भेडापालन (मिश्रित) फार्म १९८ र गाई/भैंसीपालन तथा बाख्रा/च्यांग्रा/भेडापालन (मिश्रित) फार्म २६५ रहेका छन्।

व्यावसायिक पशुपालन फार्ममध्ये प्रदेश १ मा सबैभन्दा धेरै १ हजार २७० र मधेस प्रदेशमा सबैभन्दा कम ४०४ फार्म रहेका छन्। नेपालमा ४४ हजार ८७३ गाई-गोरु व्यावसायिक रूपमा पालिएका छन्, जसमध्ये उन्नत जातका गाई/गोरु संख्या ३३ हजार ७५७ अर्थात् ७५ प्रतिशत छ भने दूध दिने र नदिने गाई संख्या क्रमशः १५ हजार ३८० अर्थात् ६३ प्रतिशत र ९ हजार १०४ अर्थात् ३७ प्रतिशत रहेको छ।

सबैभन्दा बढी ९ हजार ३६४ गाई-गोरु बागमती प्रदेशमा र सबैभन्दा कम २ हजार २७४ गाई-गोरु सुदूरपश्चिम प्रदेशमा रहेका छन्। सर्वेक्षणले नेपालमा ३४ हजार ६५३ वटा राँगा÷भैंसी व्यावसायिक रूपमा पालिएको देखाएको छ।

यीमध्ये उन्नत जातका राँगा÷भैंसीको संख्या २४ हजार ४४७ अर्थात् ७१ प्रतिशत रहेको छ। दूध दिने र नदिने भैंसी संख्या क्रमशः १० हजार ८४१ अर्थात् ६१ प्रतिशत र ६ हजार ९३१ अर्थात् ३९ प्रतिशत रहेको छ। सबैभन्दा ११ हजार ४६९ भैंसी गण्डकी प्रदेशमा र सबैभन्दा कम १ हजार ६३० भैंसी सुदूरपश्चिम प्रदेशमा रहेका छन्।

नेपालमा १ लाख ५० हजार ५६८ बाख्रा, ८८ हजार ४२१ भेडा र ३८ हजार ३६० सुँगुर व्यावसायिक रूपमा पालिएका छन् भने १५ हजार ३८० दूध दिने गाईबाट ४ करोड ५८ लाख ३ हजार ४५७ लिटर दूध उत्पादन भएको छ। व्यावसायिक फार्मबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दूध उत्पादन भएको छ। सर्वेक्षणका लागि मुलुकभर ७९८ पशुपालन व्यवसाय छनोट गरिएको मन्त्रालयले बताएको छ।

सर्वेक्षणको उद्देश्य मुलुकभरि व्यावसायिक रूपले सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन व्यवसायको आर्थिक, सामाजिक तथा वातावरणीय तथ्यांक संकलन गरी कृषि विकासका लागि राष्ट्रिय तथा प्रदेशस्तरका नीति निर्माण तथा योजना तर्जुमा, अनुगमन तथा मूल्यांकनका लागि उपयोगी हुने व्यावसायिक पशुपालनसम्बन्धी तथ्यांकको खाँचो पूर्ति गरी नीति निर्माता र योजनाविद्लगायत तथ्यांक प्रयोगकर्तालाई सघाउनु रहेको मन्त्रालयका सचिव डा. गाविन्द शर्माले बताए। सर्वेक्षणमा दर्ता गरी वा नगरी व्यावसायिक रूपले सञ्चालन गरिएका मध्यम तथा ठूला पशुपालन व्यवसाय मात्र समेटिएको मन्त्रालयले जनाएको छ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech