८ बैशाख २०८१, शनिबार

आकर्षक सुविधा ल्याउँदै सामाजिक सुरक्षा कोष
  • रासस

बाँके\श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्र, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनालाई योगदानकर्ता मैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कोषले सञ्चालनमा ल्याएका योजना आवश्यकताका आधारमा परिमार्जन हुँदै आएका र यसबाट सामाजिक सुरक्षाको दायरा फराकिलो भएको उनको भनाइ छ ।

कोषको दायरा बढाउँदै श्रमिकका परिवारलाई उद्यमशीलतासँग जोड्ने सरकारको योजना रहेको पनि उनले बताए ।

श्रम मन्त्रालयका सचिव एवं कोषका अध्यक्ष एकनारायण अर्यालले कोषमा आबद्ध हुन रोजगारदाता र श्रमिकले कुनै अप्ठ्यारो मान्न नहुने भन्दै कोषले योगदानकर्तालाई आकर्षक सेवासुविधा प्रदान गर्दै आएको बताए ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा संशोधन गरी सुविधालाई योगादनमैत्री बनाउँदै लगिएको बताए । योगदानकर्ताका पति वा पत्नीको औषधि उपचार खर्च र योगादनकर्ताको घातक रोग उपचारको खर्च कोषले व्यहोर्ने गरी कार्यविधि संशोधन गरिएको उनको भनाइ छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा सरकारले क्रियाशिलता देखाउनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई तत्काल सामाजिक सुरक्षाको योजनामा ल्याउन माग गरे ।

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा कोषमा श्रमिकलाई सूचीकृत गरी नियमित योगदान गर्ने उत्कृष्ठ १० रोजगारदातालाई सम्मान गरिएको थियो । सम्मानित रोजगारदाता किरण शुज म्यानुफ्याक्चरका निर्देशन गौरव बस्नेतले सामाजिक सुरक्षा कोषमा योगदान गर्न थालेसँगै आफ्नो उद्योगमा श्रमिक र रोजगारदाताबीच सौहार्द सम्बन्ध कायम गर्न सहयोग मिलेको बताए ।

विसं २०६७ मा सामाजिक सुरक्षा कर सङ्कलनका लागि भन्दै कोषको स्थापना गरिएको थियो । योगदानमा आधारित समाजिक सुरक्षा योजना सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा सञ्चालनमा ल्याएको थियो ।
बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय  

कोषले आजदेखि बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कोषले यसअघि विराटनगर र सिमरामा पनि सम्पर्क कार्यालय खोलिसकेको छ । गण्डकी प्रदेशको पोखरामा छिट्टै सम्पर्क कार्यालय खोलिने कोषले जनाएको छ । सम्पर्क कार्यालयबाट श्रमिक तथा रोजगारदाता सूचीकरणलगायतका काम हुनेछन् ।

कोषमा १७ हजार पाँच सय सात रोजगारदाता र ३ लाख ७५ हजार नौ सय चार योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा २६ अर्ब योगदान रकम सङ्कलन भएको छ । कोषले हालसम्म दुई अर्ब ७० करोड दाबी भुक्तानी गरेको छ ।

 

  • १२ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech