८ श्रावण २०८१, मंगलवार

तेस्रो मुलुकमा बनेका पार्टपुर्जा भारतबाट आयात गर्न पाउनुपर्ने उद्याेगीकाे माग
  • न्युज मानसराेवर

वीरगञ्ज\तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक उपकरणका पार्टपुर्जा भारतबाट आयात गर्न नपाउँदा त्यस्ता वस्तुको आपूर्तिमा कठिनाइ भएको उद्योगीहरूले गुनासो गरेका छन् ।

उद्योगीले तेस्रो मुलुकबाट उपकरण भित्र्याएका हुन्छन् । ती उपकरणका पार्टपुर्जा बिग्रिएपछि तेस्रो मुलुकबाटै आयात गर्नुपर्ने वैधानिक बाध्यता छ । भारतमा त्यस्ता पार्टपुर्जा सहजै उपलब्ध हुने भए पनि आयात गर्न नपाउँदा समस्या भएको उद्योगीहरूले गुनासो गरेका छन् ।

भन्सार कार्यालयहरूले तेस्रो मुलुकमा बनेका उपकरणका पार्टपुर्जा भारतबाट आयात गर्न दिँदैनन् । नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार तेस्रो मुलुकको कुनै पनि उत्पादन ३० प्रतिशत मूल्य अभिवृद्धि नभई एकअर्को मुलुकमा निर्यात गर्न मिल्दैन । सन्धिको यही प्रावधानका कारण अन्य देशमा बनेका पार्टपुर्जा भारतबाट आयात गर्न रोक लगाएको भन्सार अधिकारी बताउँछन् ।

यस्ता पार्टपुर्जा भारतीय आयातकर्ताले ती देशबाट आयात गरेका हुन्छन् । नेपालका उद्योगीले भारतबाट ती वस्तु ल्याउँदा सस्तो पर्ने भए पनि आयात गर्न पाएका छैनन् । तेस्रो मुलुकबाटै त्यस्ता पार्टपुर्जा आयात गर्नुपर्दा लागत बढी परेको र कतिपय उत्पादकले एकाध पार्टपुर्जा दिन नमान्दा थप समस्या हुने गरेको उद्योगी राजेश क्यालले बताए ।

‘अन्य देशमा बनेका औद्योगिक उपकरणका पार्टपुर्जा भारतबाट ल्याउन सहजीकरण गर्न आवश्यक छ । आयात असहज हुँदा आपूर्तिमा समस्यामात्र भएको छैन, लागतसमेत बढी परेको छ,’ उद्योगी क्यालको भनाइ छ ।

उद्योगले तेस्रो मुलुकबाट ल्याएका उपकरणका पार्टपुर्जा बिग्रिएपछि फेर्नुपर्छ । त्यस्ता पार्टपुर्जाको आयात भारतबाट गर्न नपाउँदा समय र लगात दुवै बढी परिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘देशको औद्योगिक विकासका लागि उपकरण आयात आवश्यक छ तर पार्टपुर्जा तेस्रो मुलुकबाट आयात गर्दा बढी खर्च लाग्ने गर्छ,’ गुप्ताले आर्थिक अभियानसित भने ।

त्यस्ता पार्टपुर्जा भारतीय बजारमा सहजै उपलब्ध हुने भएकाले त्यहाँबाट आयात गर्न दिनुपर्ने माग उद्योगीले राख्दै आएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले पनि वर्षौंदेखि यो मागलाई संस्थागत रूपमा उठाउँदै आएको छ ।

सरकारले आफूहरूको जायज माग सम्बोधन नगरेको उद्योगी व्यवसायीको गुनासो छ । नेपाल र भारतले स्वदेशी उत्पादनको संरक्षणका लागि वाणिज्य सन्धिमा यो प्रावधान राखेका हुन् । तर, नेपालमा उत्पादन नहुने वस्तु भारतबाट आयात गर्दा कुनै समस्या नहुने जानकार बताउँछन् ।

उद्यमी क्यालले यस्ता पार्टपुर्जा नेपालमा उत्पादन नहुने भएकाले भारतबाट आयात गर्दा कुनै अप्ठ्यारो नहुने र मापदण्ड बनाएर औद्योगिक प्रयोजनका लागि आयात खुला गर्नुपर्ने बताए ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech