८ श्रावण २०८१, मंगलवार

बाँकेका जैविक र धार्मिक पर्यटनको प्रचूर सम्भावना, गर्नुपर्ने काम भने धेरै
  • रासस

बाँके\पर्यटकीयस्थलको संरक्षण र संवर्द्धन गर्न सके बाँकेका जैविक र धार्मिक पर्यटनको प्रचूर सम्भावना छ । यहाँका पर्यटकीय क्षेत्रको महत्त्व स्थानीयले नबुझ्दा ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन् ।

‘पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि बृहत् परियोजना निर्माण गर्नुपर्छ,’ नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने । उनले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति बनाएर पर्यटकीय गन्तव्यको पहिचान गर्नुपर्ने बताए । यहाँका राप्तीसोनारी, बैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रको रूपमा मानिन्छ ।

अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना प्रचूर भए पनि त्यस्तो सोचको विकास हुन सकेको नसकेको बताए । केही होमस्टे र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिएको उनको भनाइ थियो ।

राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रूपमा विकास र बैजनाथमा रहेको ‘बोटानिकल पार्क’ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइएको छ । त्यस्तै, बाँके राष्टिय निकुञ्जलाई हात्ती सफारी, चारसिंगे मृगको बासस्थान रहेको क्षेत्र र पदयात्रा रूपमा विकास गर्न सकिने, यहाँ रहेका विभिन्न तालतलैयालाई ‘फिसिङ’ क्षेत्रका रूपमा विकास गरेर पर्यटकीय आकर्षण बढाउन सकिने प्रचूर सम्भावना देखिएको छ ।

यसबाहेक नेपालगञ्जमा रहेको महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, मिनी जू, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारालगायत क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात मानिन्छन् । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष सिग्देलले पर्यटनलाई राज्यले कम प्राथमिकतामा राखेको गुनासो गरे । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि छुट्याउने बजेट न्यून भएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘यहाँ गोहीको पनि बासस्थान छ, त्यसलाई खास पकेट क्षेत्र बनाएर त्यसमा पर्यटक बढाउन
सकिन्छ ।’ पर्यटनको विकासका लागि लगानी भित्रिनुपर्छ । पर्यटनमैत्री वातावरण निर्माण हुनुपर्छ ।

‘यसले पर्यटनको क्षेत्रमा कायापलट गर्न सकिन्छ,’ उनले भने । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके धार्मिक पर्यटनका रूपमा बढी परिचित भएको उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिन्छन् । उनले निकुञ्जलाई हात्तीसफारी, चारसिंगे मृग, बाघलगायत अन्य जन्तुको समेत बास्स्थान भएको क्षेत्रका रूपमा प्रचार गर्न सके यसले पर्यटकीय आकर्षण बढ्न सक्ने बताए ।

नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्त्वपूर्णस्थलका रूपमा समेत विकास गर्न सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘यस क्षेत्रमा रहेका करीब आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटलले यहाँको पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्न सक्छन् ।’ यहाँ होटलमा आउने अधिकांश भारतीय पर्यटक हुन् । भारतको उत्तराखण्ड, उत्तरप्रदेश र विहारबाट धेरै पर्यटक नेपाल आउँछन् । तीबाहेक यहाँ आन्तरिक पर्यटकको समेत चहलपहल हुन्छ ।

बाँकेको निर्वाचन क्षेत्र नं ३ को ९१० बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले भने, ‘बैजनाथ गाउँपालिकाको मानसरोवर प्रतीकात्मक बोटानिकल गार्डेनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नीति र योजना अघि ल्याउन गृहकार्य भइरहेको छ, उनले भने, ‘त्यस क्षेत्रमा जैविक पर्यटनको प्रचूर सम्भावना भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकिन्छ ।’

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech