२९ पुष २०८१, सोमबार

सुदूरपश्चिम महोत्सवमा आलु बेच्ने तयारी
  • रासस

बझाङ । सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनलाई पर्नु पीर परेको छ ।

साउनदेखि सडक अवरूद्ध भएपछि उनले उत्पादन गरेको आलु गाउँमै रोकियो । आलु निकालेको एक महीनापछि मात्रै आलु विक्रीका लागि पठाएका बोहोराको शुरूमा त राम्रैसँग तरकारी विक्री भयो । अहिले भने तराई पुर्‍याएको आलु पनि थन्किएको छ ।

सुर्मामा बोहराको जस्तै यहाँका अन्य किसानको पनि समस्या उस्तै छ । उनीहरूलाई पनि आफ्नो बारीमा उत्पादन भएको आलु विक्री नहुँदा पीर परेको छ । साठी क्विन्टल आलु रोपेका सुर्माका किसानले करीब १हजार दुई सय क्विन्टल आलु उत्पादन गरेको छन् । हालसम्म चाररपाँच सय क्विन्टल आलु मात्रै विक्री भएको छ । बाँकी आलु अलपत्र छ ।

गुड्खोरीका किसान गोरख धामीको समूहले पनि कृषि ज्ञान केन्द्रको अनुदानमा ८० क्विन्टल आलु लगाएको थियो । साउनदेखि बारीबाट निकाल्न शुरू गरेको आलु दुई महीना बजार नपाउँदै गाउँमै रोकिएको छ । असोजदेखि विक्री सुरू गरिएको आलु डेढ सय क्विन्टल मात्रै विक्री भएको छ । आलु विक्रीका लागि सुरूमा त दौडधुप गर्नु परेनु, धामीले भने, ुबजारको समस्या थिएन, सबै कृषि ज्ञान केन्द्रले नै बजार पठाइदिन्थ्यो । अहिले ज्ञान केन्द्रले पनि सकेन । आलु जस्ताको त्यस्तै थन्किएको छ ।

धामीका अनुसार हालसम्म गुड्खोरीको आलु एक सय ५० क्विन्टल विक्री भएको छ । दुई सय क्विन्टल आलु भने तराईमा बजार खोज्दै डुलाइरहेका छन् । पाँच सय क्विन्टलजति गाउँमै थन्किएको उनको भनाइ छ ।

तलकोट गाउँपालिका वडा नं ७ का अध्यक्ष लक्ष्मण विष्टका अनुसार जिल्ला सदरमुकाम तथा नजिकका बजारमा विक्री नभएपछि उत्पादित आलु गाउँमै रोकिएको छ ।

राज्यको ‘उत्पादनमुखी’ नीतिलाई समर्थन गर्दै व्यावसायिक भएका कृषक बजार नपाउँदा निरास हुँदै आएका छन् । उत्पादनलाई प्रत्येक वर्ष बढाउँदै आएका कृषकले बजार नपाएपछि हामीलाई पनि असह्य भएको छु, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले भने, किसानलाई उत्पादन बढाउन जोड दियौँ तर, अहिले बजार सबै भारतीय तरकारीले ओगटेपछि हाम्रो उत्पादन रोकिएको हो ।

गत हप्तासम्म तराईका बजारमा छ्याप्छ्याप्ती भएको बझाङी आलु अहिले गाडीमै थन्किएको छ । ताजा आलु भन्दै भारतीय आलुले कैलाली, कञ्चनपुर हुँदै डडेल्धुरासम्मै बजार ओगटेपछि बझाङको अर्गानिक आलु तराई पठाएकोसमेत गाडीमै रोकिएको छ बिष्टले बताए ।

कैलालीका पहाडी समुदायले पनि भारतबाट आउने तरकारीलाई प्रश्रय दिइ आफ्नै गाउँठाउँको उत्पादनलाई माया नगर्दा झन समस्या भएको उनको बुझाइ छ ।

अहिले कैलाली कञ्चनपुरमा भारतीय आलु ताजा भन्दै प्रतिकेजी ४० रुपैयाँमा विक्री भइरहेको छ । बिचौलियाले बझाङको आलु पुरानो भन्दै प्रचार गरेको हुँदा ३० रुपैयाँ केजी पनि विक्री नभएको किसानको गुनासो छ ।

किसानले दिनदिनै फोन गरेर बजार खोज्न आग्रह गरेपछि व्यावसायिक बन्न प्रोत्साहन गरेको ज्ञान केन्द्र नै निरास भएको छ ।

विष्टका अनुसार बझाङबाट यो पटक १ करोड रूपैयाँ बराबरको आलु निर्यात भइसकेको छ । बाँकी सोही मूल्य बराबरको आलुले बजार नपाएको उनको भनाइ छ ।

कैलाली कञ्चनपुरमा भारतबाट नयाँ आलु आएको हुँदा बझाङको अर्गानिक आलु थन्किएपछि व्यापारमा झट्का लागेको आलु जोन बझाङकी प्रमुख सविता जोशीले बताइन् ।

पकेट क्षेत्रमा उत्पादित आलु पनि विक्री नभएको र बजारै नपाएपछि कोल्डस्टोरमा राख्नुको पनि अर्थ नभएको उनले बताइन् ।

यता सुदूरपश्चिम प्रदेशकी कृषिमन्त्री विनितादेवी चौधरीले बझाङको आलुले बजार पाउने गरी छलफल गर्ने बताइन् । उनले अब सबै जिल्लाका कृषि प्रमुखसँग छलफल गरेर रोकिएको आलु कसरी विक्री गर्ने, कति मूल्यमा बेच्ने भन्ने कुरा छलफल गर्ने बताइन् ।

ुआफ्नै अर्गानिक उत्पादनलाई रोकेर बाहिरबाट ल्याउनु राम्रो होइन, बरू बाहिरकोलाई केही समय रोकेर पनि बझाङको आलु निर्यात गर्न सहयोग गर्नेछौँु, उनले भनिन् । कैलाली कञ्चनपुरमा पनि बढी भएको आलु लुम्बिनी प्रदेशमा समेत पठाउनुपर्ने उनको भनाइ छ ।

विसं २०६३ देखि नियमितरूपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’मा आलु बेच्नकै लागि कृषि ज्ञान केन्द्रले दुई कक्ष राख्ने भएको छ । मङ्सिर २२ देखि पुस २ गतेसम्म चल्ने महोत्सवमा बझाङको आलु विक्रीकै लागि कक्ष राख्न लागेका कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टले बताए । कक्षमा बझाङको उत्पादित राजमा, गान्टेमुला, भटमास, कालोसिमी, बन्दालगायत तरकारी पनि राखिन्छ । यसले बझाङको पहिचान र अर्थतन्त्रलाई झल्काउने विश्वास लिएको उनले बताए ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech