१४ बैशाख २०८१, शुक्रबार

११ महीनामा भित्रिए साढे ५ लाख
  • न्युज मानसराेवर

बाँके\अघिल्ला २ वर्ष स्वात्तै घटेको पर्यटक आगमन अहिले ७ वर्षअघिको अवस्थामा फर्किएको छ । सन् २०२२ को ११ महीनामा साढे ५ लाख पर्यटक नेपालमा आएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ । यस वर्षको नोभेम्बरसम्मको पर्यटक आगमन सन् २०१५ को भन्दा केही बढी हो ।

सन् २०१९ मा सर्वाधिक पर्यटकको स्वागत गरेको नेपालले त्यसयताका वर्षमा कोरोनाका कारण पर्यटक आगमनमा प्रतिकूल असर भोगेको छ । सन् २०२२ मा भने यसमा उल्लेख्य सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको ११ महीनामा ५ लाख ४६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१५ मा ५ लाख ३८ हजार ९७० पर्यटक आएका थिए ।

सन् २०१५ मा भूकम्पका कारण पर्यटक आगमनमा कमी आएको थियो । यस वर्षबाहेक अन्य वर्षको तथ्यांक हेर्दा नेपालमा सन् २००८ देखि पर्यटक आगमनको तथ्यांक ५ लाखभन्दा माथि रहेको देखिन्छ । सन् २००८ देखि हरेक वर्ष बढेको पर्यटक आगमन सन् २०२० मा खुम्चिएर २ लाख ३० हजार ८५ मा सीमित भएको थियो । त्यसयता पहिलोपटक यो वर्ष धेरै पर्यटक नेपाल आएका हुन् ।

बोर्डले बिहीवार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल आएका छन् । पर्यटकीय सिजन मानिने महीना अक्टोबर, नोभेम्बर र डिसेम्बरमा अन्य महीनाको तुलनामा धेरै पर्यटक नेपाल आउने गरेका
छन् ।

यसको अघिल्लो महीना अक्टोबरमा ८८ हजार ५८२ पर्यटक नेपाल आएका थिए । यो महीना सार्क मुलुक भारत, श्रीलंका, भुटानलगायतबाट २४ हजार ५९९, एशियाका अन्य देश चीन, जापान, मलेशिया, थाइल्यान्ड लगायतबाट ९ हजार ४१५ पर्यटक आएका छन् ।

यस्तै बोर्डका अनुसार यूरोपेली मुलुक बेल्जियम, फ्रान्स, जर्मनी, रसियाजस्ता देशबाट १७ हजार २२९ पर्यटक नेपाल आएका छन् । अमेरिका, क्यानडाबाट ९ हजार १५ जना आएको तथ्यांक छ । ओसनिया क्षेत्रका अस्ट्रेलिया, न्यूजील्यान्डबाट ३ हजार ६७७, मध्यएशियाका इजरायल, टर्की, यूएईबाट ८७६ र अन्य देशबाट ७ हजार ८४२ पर्यटक आएका छन् । नोभेम्बरमा सार्क क्षेत्रपछि यूरोपेली महादेशका पर्यटक बढी आएका छन् ।

बोर्डको तथ्यांकअनुसार उक्त महीनामा चिनियाँ पर्यटकको संख्यामा पनि सुधार देखिएको छ । नोभेम्बरमा चीनबाट आउने पर्यटकको संख्या १ हजार ३८ पुगेको छ । यस वर्षका अघिल्ला महीनाहरूमा चिनियाँ आगमन ९०० भन्दा तल थियो । भारतबाट साढे २० हजार पर्यटक आउँदा चीनबाट उक्त संख्यामा पर्यटक आएका हुन् । नेपालमा बढी पर्यटक आउने देशमा भारतपछि चीन हुने गर्थ्यो ।

अहिले भारतपछि बेलायत, अमेरिका जस्ता देश छन् । नोभेम्बरमा अमेरिकाबाट ७ हजार ८३१ र बेलायतबाट ५ हजार १६५ पर्यटक आएका छन् ।

कुन महीना कति भित्रिए ?

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech