१३ बैशाख २०८१, बिहीबार

कफी खेती बढ्यो उत्पादन घट्यो
  • न्युज मानसराेवर

काठमाडौँ\नेपालमा कफी उत्पादन हुने जमीनको क्षेत्रफल प्रत्येक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमीनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा आव २०७८/७९ मा  आइपुग्दा उक्त क्षेत्रफल ९ सय ६२ हेक्टरले बढेर ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । खेती हुने क्षेत्रफल बढेपछि उत्पादन पनि बढ्नुपर्ने हो, तर यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्यांक छ । आव २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।

पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा आव २०७५/७६ मा सबैभन्दा बढी ५ सय ३० मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । त्यसवेला २ हजार ७ सय ६१ हेक्टर जमीनमा कफीखेती थियो ।

बोर्डका सूचना अधिकारी दीपक खनालले माटोको कमजोर उर्वराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमीनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको बताए । नेपालमा अर्ग्यानिक कफी उत्पादन गरिने भएकाले रासायनिक मल प्रयोग नहुने त्यसको सट्टा अर्ग्यानिक मल प्रयोग हुने बताए । उनले भने, ‘तर, त्यो पनि पर्याप्त मात्रामा उपलब्ध छैन । नेपाली कफी किसानले तीन भागको एक भागमात्रै मल प्रयोग गर्न पाएका छन् ।’

उनका अनुसार उत्पादन बढ्न नसक्नुको अर्को मुख्य कारण गुणस्तरीय बीउको अभाव पनि हो । नेपालमा १९९५ सालमा गुल्मीबाट अरबिका प्रजातिको कफीखेती शुरू भएको थियो । ‘त्यसपछि नेपालमा कफीको प्रजातिको विविधीकरण गर्ने काम भएको छैन ।

लामो समयदेखि एउटै प्रजातिको बीउ प्रयोग भइरहेकाले पनि उत्पादन राम्रो हुन सकेको छैन,’ उनले आर्थिक अभियानसँग भने ।

एक दशक अघिसम्म कुलीन वर्गको मात्रै पेय पदार्थका रूपमा चिनिने कफीको उत्पादन क्षेत्रसँगै पछिल्लो समय प्रयोग गर्ने उपभोक्तासमेत बढेका छन् । तर, जसरी उपभोग बढिरहेको छ त्यसरी उत्पादन हुन सकेको छैन जसले गर्दा वर्षेनि ठूलो परिमाणमा विदेशबाट अयात भइरहेको छ । आव २०७८/७९ मा मात्रै १२ करोड ७५ लाख ९० हजार रुपैयाँ बराबरको २ सय ७९ मेट्रिक टन आयात एको बोर्डले जानकारी दिएको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech