बाँके\यसपटकको निर्वाचनमा सात दलभन्दा बढी राजनीतिक पार्टी राष्ट्रिय दल बन्ने सम्भावना लगभग सकिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फका मतगणना अन्तिम चरणमा पुग्दा अहिलेसम्म प्रत्यक्षतर्फ सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी मात्र राष्ट्रिय दल बन्ने पक्का भएको हो।
यसबाहेक अन्य दलले अब थ्रेसहोल्ड कटाउने सम्भावना कम छ। निर्वाचन आयोगका अनुसार अब करिब डेढ लाखजति मत गन्न बाँकी छ। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ।
निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार मंसिर ४ को निर्वाचनमा मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० जनामध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएका छन्। यस हिसाबले चुनावमा १ करोड ९ लाख ७० हजारभन्दा बढी मतदान भएको देखिन्छ। यसमध्ये ३ लाख हाराहारी मत बदर भएको अनुमान आयोगको छ।
खसेको मत १ करोड ९ लाख ७० हजारबाट बदर मत ३ लाख घटाउँदा सदर मत १ करोड ६ लाख ७० हजार आसपास हुन्छ। यसको ३ प्रतिशत (थ्रेसहोल्ड) कटाउन ३ लाख २० हजारभन्दा बढी मत प्राप्त गर्नुपर्ने देखिन्छ।
सात दलबाहेक थ्रेसहोल्ड कटाउने सम्भावनाको नजिक सत्तारुढ नेकपा एकीकृत समाजवादी छ। उसले प्रतिनिधिसभा समानुपातिकतर्फ २ लाख ९४ हजार ६३ मत प्राप्त गरेको छ। ३ लाख पुग्न पनि उसले अझै लगभग ६ हजार मत प्राप्त गर्नुपर्ने अवस्था छ।