बुटवल\स्थानीय तहको आर्थिक विकासमा योगदान दिन पालिकाहरूलाई आर्थिक रूपमा बलियो बनाउनुपर्ने सुझाव सरोकारवालाहरूले बताएका छन। स्थानीय तहको विकासमा सहयोग गर्ने उद्देश्यले रुपन्देहीको लुम्बिनीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी दुई दिवसीय संवाद कार्यक्रममा सो सुझाव आएको हो ।
स्थानीय आवश्यकता, पहिचान, व्यवस्थापन र कार्यान्वयन गरी दिगो आर्थिक विकासमा टेवा दिन र आर्थिक रूपमा पालिकालाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना, जीआईजेट तथा एलपीआइडी नेपालको प्राविधिक सहयोगमा आयोजित आर्थिक विकाससम्बन्धी संवादमा स्थानीय तहको आवश्यकता, दीर्घकालीन योजना निर्माण र कार्यान्वयनका पक्षमा कार्यक्रममा जोड दिइएको छ ।कार्यक्रममा लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो ।
पहिलो दिनको सत्रमा रुपन्देहीका उद्योगी ब्यसायीसँग पनि आर्थिक विकाससँग सम्बन्धित विषयमा अनुभव आदानप्रदान गरिएको मन्त्रालयका उपसचिव एवं कार्यक्रम संयोजक राजेश गौतमले बताएका छन।
गौतमले पालिकाहरू बलियो भएमा स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, उद्यमशीलता विकास हुने साथै आर्थिकरुपमा सबल र सक्षम हुन सकिने औल्याएका हुन।“पालिकाहरूले सबैभन्दा पहिले कहाँ के आवश्यक छ, त्यसको निक्र्यौल गरी योजना बनाएर अघि बढ्नुपर्छ”, गौतमले भने , “यसमा स्थानीयलाई र पालिकालाई लाभ हुनेगरी योजना तर्जुमा गर्नुपर्छ, ताकि पालिका आर्थिकरुपमा बलियो बनोस् र स्थानीयले रोजगारी पाउन् ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले हरेक पालिकाले आफ्नो क्षेत्रमा रहेका स्थानीय उत्पादन र पर्यटकीयस्थललाई प्रवर्द्धन गरेर त्यसबाट लाभ लिनुपर्नेमा जोड समेत दिएका छन।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले एकअर्का पालिकाले आर्थिक विकासमा गरेको अभ्यासलाई आदानप्रदान गरी स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै आर्थिक वृद्धितर्फ लाग्नु पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पालिकाहरूले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक विकासका क्षेत्रमा फड्को मार्न सकिने उल्लेख गरेका छन। उनले फोहोरलाई पनि मोहर बनाउन सकिने जनाउँदै यसका लागि पालिकाहरूले योजना ल्याउन जरुरी रहेको समेत बताए ।