२२ माघ २०७९, आईतवार

महिला हिंसाविरुद्ध अभियान
  • न्युज मानसराेवर

मुलुकमा महिला हिंसाको फेहरिस्त लामै हुन्छ । कतिपय सार्वजनिक हुन्छन्, कति बाहिर नै आउँदैनन् । महिलाविरुद्ध अनेक खालका हिंसा हुने गरेका छन् र सबै हिंसालाई अपराधका रूपमा लिन नचाहने सामाजिक परम्परा झनै विकराल छ । राज्यका दृष्टिमा परिसकेका घटनामा समेत न्याय पाउन कठिन भएको देखिएको छ ।

केही वर्षअघि निर्मला पन्तको बलात्कार तथा हत्याबाट समग्रमा मुलुक नै शोकमा डुबेको थियो ।  सो घटनामा न्याय मिलेको छैन । अपराधी पत्ता लागेको छैन । त्यसैले उनको हत्यारा अझै पक्राउ पर्न सकेको छैन । यसैगरी मुलुकका विभिन्न भागमा अन्य थुप्रै बालिका, किशोरी एवं महिलाविरुद्ध हिंसाका घटना सार्वजनिक भइरहेका छन् । यी सबै घटनाले नेपालमा महिला यौनजन्य हिंसामा भइरहेको बढोत्तरीतर्फ सङ्केत गरिरहेको विषयलाई बेवास्ता गर्न सकिँदैन ।

मुलुकको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा कार्यरत महिला पत्रकार पनि अनलाइन हिंसाको चपेटामा परेको एक सर्वेक्षणले देखाएको छ । यस सर्वेक्षणले पत्रकारिता क्षेत्रमा कार्यरत लगभग सबैजसो महिला पत्रकार अर्थात् सहभागीमध्ये ८८.६ प्रतिशतले अनलाइन हिंसाको सिकार भएको औंँल्याएका छन् ।

यो तथ्याङ्क हेर्दा आफैँमा कहालीलाग्दो मान्न सकिन्छ । यसबाट पत्रकारिताजस्तो पेसामा पनि महिला पत्रकार सुरक्षित नरहेको देखिएको छ । लगभग सबैजसो महिला पत्रकार अनलाइन हिंसाको सिकार हुनुले नेपाली समाजको सामाजिक, नैतिकमूल्य मान्यतामाथि नै प्रश्नचिह्न उठाएको छ । पत्रकारिता पेसासँगै सम्बन्धित हिंसा, पेसासँग असम्बन्धितबाट हिंसा तथा अफलाइनमा भौतिक आक्रमण र धम्कीलगायतले महिला पत्रकारमाथि हिंसा हुने गरेको आफँैमा चिन्ता र चासोको विषय मान्न सकिन्छ ।

नेपाली पत्रकारिता क्षेत्रमा महिला सहभागिता विगत केही समययतादेखि क्रमिक रूपमा वृद्धि हुँदै आए पनि खासै उल्लेखनीय मान्न सकिने अवस्था छैन । महिला जनसङ्ख्या हेर्दा पनि पत्रकारितामा उनीहरूको सहभागिता अझै वृद्धि हुनुपर्ने विषयमा कुनै विवाद नै छैन । यस सर्वेक्षणबाट जे जसरी तथ्याङ्क सार्वजनिक भएको छ, यसका आधारमा पत्रकारितालाई मूल पेसा बनाउने सोच बनाइरहेका महिला पक्कै पनि हतोत्साहित हुन सक्छन् । पत्रकारिता पेसामा महिला सहभागितामा वृद्धि गर्न तथा यो पेसा महिलाका निम्ति सुरक्षित एवं मर्यादित छ भन्ने सन्देश प्रवाहित गर्न महत्त्वपूर्ण छ ।

महिलाका निम्ति सुरक्षित तथा मर्यादित पेसाका रूपमा पत्रकारिता क्षेत्रलाई प्रमाणित गर्न महिला पत्रकारमाथि हुने कुनै पनि किसिमका हिंसाका सम्बन्धमा तत्कालै सम्बोधन गरिनु अति आवश्यक देखिन्छ । यसमा महिला कार्यरत सञ्चारमाध्यम तथा सहकर्मीहरूको सल्लाह एवं सहयोग निकै प्रभावकारी हुन्छ । स्वयं महिला पत्रकारले पनि कुनै पनि किसिमको हिंसाको प्रतिकार सुरुमै आफैँले पनि गर्नु समस्या समाधानतर्फ पहिलो र महत्त्वपूर्ण कदम हुने देख्न सकिन्छ । त्यसमा के कस्ता कठिनाइ छन् भन्ने विषय बाहिर ल्याई समाधानको उपाय पहिल्याउनु पर्छ ।

कुनै पनि किसिमका प्रताडना, हिंसा आदिका कारण महिला पुरुष सबैका कार्यशैली तथा गुणस्तरमा नकारात्मक प्रभाव पर्नु स्वाभाविकै हो । अनलाइन हिंसाका कारण महिला पत्रकारको पनि कार्यशैली, गुणस्तर तथा व्यावसायिकता प्रभावित भइरहेको हुन्छ र त्यसको प्रत्यक्ष असर उनीहरूको पेसाप्रति परिरहेको हुन्छ ।

घरपरिवारलगायत अन्य तरहका दैनिक व्यवहार सम्हाल्नुपर्ने महिलाका निम्ति यस्तो स्थिति सिर्जना हुनु आफँैमा कठिन अवस्था मान्न सकिन्छ । महिला पत्रकारिमाथि भइरहेको यस प्रकारको हिंसा नियन्त्रण तथा निर्मूलै गर्नुपर्ने आजको आवश्यकता हो । यसका निम्ति सरकारले आवश्यक नियम, कानुन संशोधन, निर्माण, तर्जुमा तथा कार्यान्वयनका दिशामा तत्कालै पहल गर्नु उपयुक्त हुन्छ ।

महिला पत्रकारका निम्ति सहज तथा सुरक्षित कार्यस्थल निर्माणमा महिला कार्यरत सञ्चार माध्यम तथा सहकर्मीहरूको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुने देखिन्छ । महिला पुरुष सबैका निम्ति सुरक्षित तथा सहज वातावरण निर्माणबाटै समग्रमा सञ्चार जगत्को भलाइ हुन्छ । महिला पत्रकारलाई आवश्यक प्रशिक्षणसमेत जरुरी छ ।

पत्रकारिताको पेसागत प्रशिक्षणका साथै सुरक्षाका उपायहरूप्रति सार्वजनिक बहस जरुरी छ । नीगित, संस्थागत र संरचनागत सुधारबिना कुनै समाजले चाहेको परिवर्तन गर्न सक्दैन । पत्रकारिताका साथै सबै पेसा र व्यवसायका महिलाका निम्ति सुरक्षित कार्यस्थल अनिवार्य सर्त भएकोले पनि सुधार वाञ्छनीय छ । सञ्चारकर्मीले भोगेको हिंसासँगै समग्र महिला हिंसालाई गम्भीर अपराध मानेर त्यसविरुद्ध समग्र समाज अभियानकै रूपमा अगाडि बढ्दा मात्र सफलता हात लाग्नेछ ।

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech