८ श्रावण २०८१, मंगलवार

चुरे विनाशले बस्ती सखाप
  • न्युज मानसराेवर

रासस\झट्ट हेर्दा, सुन्दा विश्वास लाग्दैन, कुनै समय यहाँ बस्ती थियो। धनुषामा रहेको एउटा गुल्जार बस्तीको अहिले नामोनिसान छैन।

तत्कालीन धनुषाको दिगम्बरपुर गाविस-४ छेडीपोखरी उजाड बनेको छ। यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सरेका छन्। उनीहरू गाउँभन्दा करिब दुई किलोमिटर पर पुगेर बसोबास गरिरहेका छन्। त्यस ठाउँलाई अहिले नयाँ टोल भनेर चिनिन्छ।

‘केही वर्ष अघिसम्म यहाँ मानिस बस्थे,’ सामुदायिक वन उपभोक्ता समिति महासंघ मधेश प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले भने ‘तर, एकै दिनको बाढीले बस्ती सखाप बनायो।’

६५ घरपरिवार रहेको त्यो बस्तीमा अहिले सुख्खा जमिन मात्रै छ। ठूलो क्षेत्र बगरमा परिणत भएको छ। कुनै बेला यहाँ बस्ती थियो भन्ने एउटा पनि प्रमाण भेटिँदैन। अध्यक्ष शर्माले भने, ‘यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ।’ उनका अनुसार बस्तीको यो कुरुप दृश्यकै एउटा कारण हो- चुरे विनाश।

यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन्। तराई–मधेशमा चुरे दोहनको टिठलाग्दो दृश्य छन्। अनियन्त्रित उत्खनन् र चुरे दोहनले केही वर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी सुकेर गएको छ। पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन्। खोलामा पानी बग्न छाडेको छ।

खानेपानीका मुहान, पोखरी, इनार, ससाना खोल्सा र डिप बोरिङ बन्द भएपछि तराई-मधेशका अधिकांश क्षेत्र मानव बसोबास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन्।

तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका-८ मा पर्ने यस गाउँको इतिहास २०० वर्ष पुरानो मानिएको छ।

पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ ४०० मिटर मात्र रहेकोमा अहिले १ किलोमिटरभन्दा बढी भएको छ। बर्सेनि जलाद खोलाले ५-६ बिघा जग्गा कटान गर्ने गर्दछ।

विसं २०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो। ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि करिब एक घण्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्छन्। ‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ बुढाथोकीले भने।

पहिले जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउँथ्यो। गज्जबको खेतीपाती हुन्थ्यो। गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरकोसमेत १५० बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो।

गाउँमा बाढी पसेपछि विस्थापित भएपछिको समस्या बुढाथोकीलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ। जग्गाजमिन सबै बाढीले सखाप बनाएपछि गाउँ नै ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको छ।

छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि नदीले फेरि बाटो फेरेको छ। इच्छापुरका लक्ष्मीकुमार यादव भन्छन्, ‘हामी ठूलो हुँदासमेत जलाद नदी एकतिरबाट मात्र बगेको थियो। त्यतिबेला बढीमा सय मिटर चौडा थियो होला। अहिले त तीन ठाउँमा ५०० मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’

पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउँछन्। राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यक्रमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन्। तर, उपलब्धि शून्य छ।

चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरूले औँल्याएका छन्। वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा. विजयकुमार सिंह भन्छन्, ‘जुन मात्रामा चुरेको विनाश भइरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ।’

तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ। काठको चोरी निकासी र जथाभाबी सडक निर्माणलाई नियन्त्रण गर्न नसक्दा चुरे तथा त्यसभन्दा मुनिको भावर नांगो भइसकेको छ। वन फँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ।

जसले गर्दा वर्षामा आउने भेलले ढुंगा, माटो र बालुवा बगाउँदै मधेशका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ। चुरेभन्दा माथिको महाभारत पर्वत शृंखलामा हुने अनियन्त्रित गतिविधि पनि चुरे र तराई–मधेशको विनाशको कारण बनेको सिंह बताउँछन्।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech