१४ बैशाख २०८१, शुक्रबार

कृत्रिम जलाशयले हराभरा
  • न्युज मानसराेवर

घोराही\कुनै समय हिउँद नलाग्दै सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्ती पछिल्लो समय हराभरा हुन थालेका छन् ।स्थानीय सरकारको प्रयासमा निर्माण गरिएका कृत्रिम जलाशयका माध्यमबाट पानीको संरक्षणसँगै सिँचाइको व्यवस्था हुन थालेपछि किसानहरू पनि कृषि व्यवसायमा जोडिएका छन् ।

करिब सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ वटा जलाशय निर्माण गरिएको छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब २० करोड २१ लाखभन्दा बढीको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् ।

बढ्दो सहरीकरण र जनघनत्वसँगै पानीको मुहान सुक्दै जान थालेको समयमा कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई स्थानीयले सकारात्मक प्रयासका रूपमा लिएका छन् ।

घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ वटा जलाशय निर्माण भएका छन् । वडागत रूपमा हेर्दा सबैभन्दा धेरै जलाशय वडा नं. १७ मा निर्माण गरिएको छ । उक्त वडामा आठवटा जलाशय बनेका छन् । वडागत रूपमा बनेका जलाशयअन्तर्गत वडा नं. १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशय गरेर पाँचवटा जलाशय रहेका छन् । त्यसैगरी वडा नं. २ मा  चेपे, बलरामपुर, सहरे जलाशय रहेका छन् ।

चेपे जलाशय सुर्केडाँगी, बाहुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जलविहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउनुहुन्छ । वडा नं. ४ मा अमारे, चरिखुट्टे, छरछरे, रोहिणी, सुकी दह,वडा नं. ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं. ६ मा लख्वारे, पीपल–छहारी, फचकपुर तल्लो र फचकपुर माथिल्लो जलाशय, वडा नं. ८ मा लरैना जलाशय, वडा नं. १० मा ठाँटी गाउँ जलाशय र वडा नं. ११ मा एउटा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी, वडा नं. १२ मा जङ्गखोली, वनवाटिका र साततले गरी तीनवटा जलाशय, वडा नं. १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं. १६ मा गङ्गटिया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं. १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठवटा  र वडा नं. १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय रहेका छन् ।

जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेको छ । यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रूपमा रहेका जलाशयलाई विस्तार गरिएको हो ।

निर्माण गरिएका जलाशयको बहुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो । हाल बनिसकेका जलाशयको स्तरवृद्धि गर्न पालिकास्तर, वडास्तर तथा प्रदेश र सङ्घबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, प्रमुख इन्जिनियर पौडेलले  बताए ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech