६ बैशाख २०८१, बिहीबार

बाँकेमा दादुरा प्रकोप नियन्त्रण हुदैँ
  • न्युज मानसराेवर

बाँके\बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदै गएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उक्त कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।

नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले जानकारी गराएका छन।

दादुरा सङ्क्रमण प्रभावित पाँचवटा पालिकाका एक लाख १५ हजार ५९९ बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ अभियान सुरु गरिएकोमा हालसम्म ९३ हजार १६१ जनालाई खोप लगाइ सकिएको छ श्रेष्ठले भनेका छन।

प्रभावित पालिकाका अधिकांश बालबालिकाले खोप पाएपछि सङ्क्रमण नियन्त्रणमा आएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार २८ हजार ४५६ जना बालबालिका मात्र खोप लगाउन बाँकी रहेकाले उनीहरूलाई खोप लगाउने काम भइरहेको छ ।

खोप अभियान अन्तर्गत सबैभन्दा बढी नेपालगञ्जका विभिन्न वडामा ४७ हजार ९२५, खजुरा गाउँपालिकामा १८ हजार ४१२, नरैनापुरमा १३ हजार १४० र डुडुवा गाउँपालिकामा ११ हजार २९६ र कोहलपुर नगरपालिकामा दुई हजार ३८८ जना ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई  खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा २९२ जना दादुराका बिरामी फेला परेकोमा २४० जना निको भैसकेका
छन् । ५१ जनाको घरमै राखेर उपचार भइरहेको छ । एक जना बालकको भने मृत्यु भएको थियो ।

समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको सङ्ख्या बढ्दै गएपछि रोक्न सुरु गरिएको खोप अभियानले गर्दा हाल आएर दादुराका सङ्क्रमित भेटिनेक्रम रोकिएको जनाइएको छ ।  दादुरा महामारी नियन्त्रणका लागि खोप अभियानसँगै बिरामीको खोजी र सचेतना अभियान पनि स्वास्थ्य कार्यालयले तीव्र रूपमा सञ्चालन गरेको थियो ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech