११ बैशाख २०८१, मंगलवार

बुटवलका व्यवसायी विस्थापित
  • न्युज मानसराेवर

बुटवल\बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलका मुख्य बजार क्षेत्रकै व्यवसायी विस्थापित हुँदै गएकामा चिन्ता व्यक्त गरेको छ । सङ्घले मुख्य बजार क्षेत्रकै आउटलेट (पसल)व्यवसायीको विस्थापनका कारण खालि भएको भन्दै सरकारको समेत ध्यानाकर्षण गरेको छ ।

विगतको कोरोना महामारीको प्रभाव, आर्थिक मन्दी र बैङ्कको ब्याज वृद्धिलगायतका कारण व्यवसायी विस्थापित हुँदै गएको बुटवल उद्योग वाणिज्य सङ्घको भनाइ छ । सङ्घका पूर्वअध्यक्ष शङ्करप्रसाद श्रेष्ठले बुटवलको खस्किँदो व्यापार, कोरोना महामारी, तरलता अभाव र चर्को ब्याज तथा खुला सीमालगायतका कारण बुटवलका ३५० भन्दा बढी आउटलेट खाली भएको  जानकारी गराएका छन।

उनले व्यापारिक सटर बन्द हुँदा बुटवलको बजारमा प्रत्यक्ष असर पर्ने भन्दै उद्योगी व्यवसायीप्रति सहयोगी बनिदिन रुपन्देहीका सरकारी कार्यालयका प्रमुखलाई आग्रह समेत गरेका छन। बुटवलका उद्योगी व्यवसायीले बुटवलको अमरपथदेखि राजमार्ग चौराहासम्मको बजार क्षेत्रमा पाँच सयभन्दा बढी व्यवसायी विस्थापित भएको जनाएका छन् ।

रुपन्देही जिल्लामा आएका सरकारी कर्मचारीलाई स्वागत गर्न सङ्घले हालै आयोजना गरेको एक कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूले कोरोना महामारी, बैङ्कमा लगानीयोग्य पुँजी (तरलता) अभाव र बैङ्कको चर्को ब्याजका कारण मारमा परेका उद्योगी व्यवसायीलाई संरक्षण गर्ने दायित्व सरकारी निकायको पनि भएको बताउँदै व्यावहारिक बनिदिन आग्रह गरे ।

बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा पार्किङको अभावका कारण व्यवसायी विस्थापित हुनु परेको बताउँदै अन्य क्षेत्रका व्यवसायी समेत विस्थापित भइरहेकाले सरकार र मातहतका निकायको ध्यानाकर्षण गराए । बुटवलमा पार्किङको समस्या रहेको अवगत गराउँदै पार्किङलाई समेत सहज हुने गरी ट्राफिक व्यवस्थापनका लागि आग्रह गरे ।

सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ र महासचिव विमलराज भट्टराईले मुलुकमा देखा परेको आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी समस्यामा परेको बताउँदै उद्योगी व्यवसायीलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा सरकार र मातहतका कार्यालयको ध्यानाकर्षण हुनुपर्ने बताए ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख प्रेमप्रसाद देवकोटाले सीमामा हुने तस्करी नियन्त्रण र राजस्व चुहावटलाई मिसनका रूपमा अगाडि  बढाएको बताउँदै त्यसमा सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गरेका छन।

त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख श्यामकृष्ण अधिकारी र इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले नागरिकको शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा प्रहरीको जिम्मेवारी भएको बताउँदै नीति नियम र कानुनले निर्दिष्ट गरेअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech